आज आमाको मुख हेर्ने दिन, अर्थात् मातातिर्थ औंशी । आफूलाई जन्म दिने आमा हरेक सन्तानका लागि जीन्दगीभर प्रिय र महान् रहिरहन्छिन् । कुनै पनि परिभाषाले ‘आमा’को गरिमा र महिमालाई छोट्याउन सक्दैन ।
यति महान्, पवित्र, देवीकी प्रतिरुप र ममताकी खानी आमालाई श्रद्धा, सम्मान र भक्तिभावसहित आज मातातिर्थ औंशी मनाइदैछ । सन्तानका लागि जीवनभर हाँसीहाँसी अनेकन् कष्टहरुसँग जुध्ने आमाको कुरा गरिरहँदा म पनि मेरी आमा सम्झिन्छु ।
आमा भन्ने शब्द सुन्नासाथ मानसपटलमा मेरी आमा आउनुहुन्छ । कति धेरै त्यागी अनि सहनशील ! उहाँले हामी छोराछोरीका लागि जे गर्नुभयो, जे गरिरहनुभएको छ, त्यो कसैले गरेनन् । गर्न पनि सक्थेनन् । आमाको स्थान अरु कसैले लिनै सक्दैनन् ।
एक दिन कुरैकुरामा आमाले भन्नुभएको थियो ‘नानी, तिम्रो यो उमेरमा मैले तीन सन्तानलाई जन्म दिइसकेकी थिएँ ।’ सम्झिदै अत्यास लाग्छ । आङ सिरिङ्ग हुन्छ । कलेज पढ्दै गरेकी म आमाका ति कथा सुन्दा आकाश पातलको फरक पाउँछु । मेरो पुस्ताले कल्पनै गर्नै सक्दैनन् ति ।
हुन पनि त्यो ‘जमाना’ नै त्यस्तै थियो । १६ वर्षको उमेरमा आमाको बिहे भयो । अझ १३÷१४ वर्षको उमेरमै छोरीचेलीको बिहे गरिदिने बेला थियो त्यो । तीन दाजु, एक भाई र चार छोरीमध्येकी कान्छी छोरी मेरी आमाको बिहेअघिको कथा पनि उत्तिक्े टिठ लाग्छ मलाई ।
मैले जस्तो कपुरी ‘क’ भनेर उहाँले कहिल्यै पढ्न पाउनु भएन । समाजले त्यस्तै थिति बसालेको थियो क्यार ! छोरीलाई पढाउनै हुन्न भन्ने सोच । यस्तो सोच राख्ने त्यो बेलाको समाज र अहिलेको समाज दाँज्न मन लाग्छ मलाई । कति संघर्षपुर्ण थिए होलान् ति दैनिकीहरु ।
मेरी आमालाई पनि आफ्ना दाइभाईसँगै स्कुल पढ्न जाने रहर हु्ँदो हो ! तर अन्य छोरीझैं मेरी आमालाई यी कुरामा ‘बन्देज’ लगाइयो । बरु चलिआको चलन, त्यो कलिलो उमेरमै विवाह बन्धनमा बाँधिनुपर्यो । अर्काको घर श्रंगार्न आउनुभयो ।
यो बिहे आखिर कस्तो संस्कार रहेछ, आफ्नालाई छोडेर पराईलाई अपनाउनु पर्ने । साँच्चि त्यो बेला मेरी आमालाई पनि यी सब कुरा एकैपटक आइपर्दा कति असह्य भयो होला ! वास्तवमा बिहेले मानिसको जीवन नै परिवर्तन गरिदिन्छ भन्छन् । त्यो बेला मेरी आमाले आफ्नो जीवन फेरिएको कति थाहा पाउनुभयो त्यो त म कसरी जानुँ र । तर, भोगाई र चोटले नै मानिसलाई मानिस बन्न सिकाउँछ रे।
आम आमाहरुझै उहाँले पनि परिस्थितिले जे गर् भन्यो त्यही गर्दै जानुभयो । छोरीको सट्टा बुहारी भएर घरबार गर्दा समाजको त्यही नियम जानीनजानी पालना गर्नुभयो । घरको इज्जतका लागि बाहिर मुख खोलेर बोल्नु भएन । दुःख कष्टहरु बारबार आए होलान् । कसलाई सुनाउने ? नारी किन र कति सहनशील हुन्छन् भन्ने प्रश्नको जवाफ पनि यतैकतै खोज्न मन लाग्छ मलाई ।
अठार वर्षको हुँदा आमाले पहिलो सन्तान अर्थात् मेरो जेठो दाइलाई जन्माउनुभयो । दाइ दुई वर्षको नपुग्दै दोस्रो सन्तानलाई जन्म दिनुभयो । गाउँले जीवन न हो, मेलापात, घाँसदाउरासँगै घरभरीका कामहरु सम्हाल्न पथ्र्यो । आम महिलाले आफ्नो घर जसरी सम्हाल्छिन्, त्यसरी नै आमाले हाम्रो परिवार सम्हाल्नुभयो । दोस्रो सन्तान अर्थात् मेरो सानो दाइको जन्म हुँदाको बखत आमाको साथमा घरका सदस्यसमेत कोही थिएनन् रे ।
शिशुलाई जन्माएर अलग्गै बस्नुपरेको त्यो पीडा । घरमा छाहीछुत गर्न नहुने त्यो परम्परा । घरमा खाना बनाएर खुवाउने मान्छेसम्म नहुँदा बच्चा र बच्चाकी आमाको हालत कस्तो भयो होला ? यी सब लेखिरहँदा मेरा आँखा रसाइरहेका छन् । कहिलेकाहीँ त आमाका ती भोगाइहरु सुनिरहदा म कुनै एकादेशको काल्पनिक कथा सुन्दै छु जस्तो लाग्छ । तर, यो त कथा थिएन । आमाले भोगेको यथार्थ थियो ।
आफन्तका नाता जोडिएका ती आफ्नै घरका सदस्यले मेरी आमालाई दिएका पीडा मेरा लागि कथा जस्ता लाग्छन् । म आफ्नै परिवारको त्यो व्यवहारलाई कुन शब्दले प्रस्ट पारुँ ? यी पीडा र व्यथाहरु म नजन्मदै भोग्नुभयो उहाँले । म त सिर्फ उहाँको अतितलाई महसुस गर्न सक्छु ।
दुःख, त्यो पनि आफ्नैले दिएको दुःख । भनिन्छ नि घरमा परिवार मिलेको छ भने खुसीमनले पानी पिउँदा पनि भोक मेटिन्छ । तर, मेरी आमाले त हरेक रात र दिन आफन्तका तिखा वचन सहनु प¥थ्र्यो । दुई गाँस निल्न पनि आमाले आशुको सहारा लिनुप¥थ्र्यो ।
आफ्नो सन्तान जसलाई आमाले दश महिनासम्म आफ्नो कोखमा राखेकी हुन्छिन, त्यो सन्तानको माया त्यो जन्म दिने आमालाई बाहेक अरुलाई कसरी थाहा हुन सक्छ ? एउटी आमालाई आफ्नो शरीरबाट छुटेको अङ्गबाट अलग्गेर बाँच्नुपर्दा कति पीडा हुन्छ भन्ने कुरा अरु कसले बुझ्न सक्छ र । आफ्नो सन्तानलाई जन्माएर टाढा राख्नुको पीडा मेरी आमाले पनि भोग्नुभएको थियो ।
साढे दुई वर्षको त्यो दुधे बालकलाई आफ्नो साथबाट छुटाएर टाढा लादा कुन आमालाई पीडा हुदैन र ? त्यस्तै मेरी आमाको पीडा पनि म उहाँले अन्तरमनबाट खोतलीरहेका भावबाट महसुस गर्न सक्छु । लामो सास फे¥दै भन्नुभयो, ‘ठूलो बाबु भर्खर तोते बोली बोल्दै आँगन वरिपरी छुनुमुनु ग¥दै डुल्थ्यो । जन्म मैले दिएकी थिएँ, तर अधिकार मेरो भन्दा अरुको बढी भयो ।
म बोल्न सक्दैनथे आजको जस्तो समय नि थिएन । तिमीहरुको जस्तो शिर ठाडो गरी खुलेर बोल्न सकेको भए अर्कै अवस्था हुन्थ्यो । ठूलो वा मान्य मान्छेले जे भन्यो त्यही हुन्थ्यो, चाहे गलत होस वा सही ।’ २ वर्षमै आफ्नो काखबाट छोरा टाढा भएको कुरा गर्दा आमाको आँशु भिज्न थाल्यो । ‘मेरो पहिलो सन्तान जो मेरो मुस्कुराहटको कारण थियो । मेरो दुःख भुलाइदिन्थ्यो । ऊ नै मेरा अाँखा वरिपरीबाट टाढा जाँदै थियो ।
ऊ टाढा हुदैछ भन्ने पीडा त छँदै थियो । उसको भविष्य उज्यालो हुन्छ भन्ने कुराले केही खुसी पनि थिएँ । हरेक दिन तोते बोलीको गुञ्जयानले मेरा कानलाई आवाज दिइरहेको महसुस हुन्थ्यो । यी आँखाले उसैलाई खोजी रहन्थ्यो र उसका कोमल स्पर्सले मलाइ नै छोइरहेको महशुस भइरहन्थ्यो । मेरो छोराले राम्रो पढ्छ र भविष्यमा यो दुःखी आमाको कथा अवश्य बुझ्ने छ भन्ने बिश्वास थियो मलाई,’ उनी यी सब भनिरहँदा कताकता आँटिलो र मुहारमा कान्ति आएको देखेँ ।
घरका सदस्यलाई खुशी पार्न मेरी आमा हरेक दिनरात दुःख गर्नुहुन्थ्यो । साथमा दुर्ई सन्तानको हेरचाह । सँगसँगै मेलापात, घाँसदाउरा सबै गर्न भ्याउनुहुन्थ्यो । दुई सन्तान अर्थात म र मेरो सानो दाजु आमाका साथमा गाउँमा बस्थ्यौ । र अरु घरका सदस्य मेरो बुबा, हजुरबुबा, हजुरआमा र साथमा मेरो ठूलो दाजु शहरमा बस्नुहुन्थ्यो ।
उहाँहरुको मन बुझाउन र साथमा आफ्नो सन्तानको राम्रो हेरचाह र शिक्षाका लागि आमा हरेक दुःख र कष्ट सहनुहुन्थ्यो । मलाई कति महान् लाग्छ एक आमा र उनले परिवारका लागि गर्ने त्यागहरु नियाल्दा । मेरी आमाले गाउँमै भएपनि हामीलाई कुनै अभाव भने हुन दिनुभएन । आफूले हरेक दुःख गरेर भएपनि मलाई र मेरो सानो दाजुलाई हुर्काउनु भयो । वर्ष दिनको चाँड दशै पर्वमा एकचोटी घर जाने मेरा घरका सदस्यलाई मेरी आमामा नभएका कमजोरीहरु औल्याउँदै ठिक्क हुन्थ्यो । तर पनि आमा आफ्नो सन्तानलाई आफ्नै वरिपरी देख्दा सारा पीडा भुलेको महसुस गर्नुहुन्थ्यो ।
मेरो ठूलो दाजु जसका ओठहरुबाट आमा भन्ने शब्द सुन्न उँहाका कानहरु जाँगै हुन्थे। तर त्यो अवोध बालक जसलाई आमाको बारेमा राम्रा कुरा कस्ले सिकाउने ? भाउजु भनेर बोलाउने ऊ आफ्नी आमाको नजिक पर्नै पनि मान्दैनथ्यो रे सानोमा । आमाले मुस्कुराउँदै भन्नुभयो, ‘सानैदेखि टाढा बसेर होला, तेरो दाजु टाढा टाढा हुन्छ । एकछिन बसेर मसँग कुरा गर्दैन ।
मलाई त लाग्छ हरेक पलपलमा उसले प्रश्न गरोस् । म उसका हरेक प्रश्नका जवाफहरु दिन पाइरहँु । उसका हजारौ प्रश्न सुन्दा पनि मेरा कानहरुले कहिल्यै झर्को मान्ने छैनन् उँंग बोलिरहदा यी मेरा ओठहरु कहिल्यै थाक्ने पनि छैनन् । साच्चै कति धेरै त्याग गर्न सक्छन आमाहरुले । तर यो कुरा के कहिले सन्तानले बुझ्न सक्लान ? म घोत्लिन थाल्छु ।
म बुझने बेलाकी थिएँ । कति दुःखहरु मेरै आँखाअघि देख्थँ । गाउँ (दोलखा)मा बिताएका त्यी धेरै पलहरु मेरा स्मरणमा ताजै छन् । आमा, गाउँ, ति दुःख र त्याग म झल्झली सम्झन सक्छु । आमा रोगी हुनुहुन्थ्यो ।
बेलाबेलामा बिरामी परिरहनुहुन्थ्यो । त्यो दिन अझै याद आउँछ मलाई, आमा पीडाले छटपटाएर ओछ्यानमा मुर्छित पर्नुभएको थियो । हिँड्नसमेत नसक्ने अवस्था भएपछि बोकेर उपचारका काठमाडौ ल्याइएको थियो । करिब एक महिना काठमाडौ बसेर मेरी आमा गाँउ फर्कदा म र मेरो सानो दाजु धेरै खुसी भएका थियौ । त्यो छोटो समय हाम्रा लागि कैयौँ जुग जस्तै बनेको थियो । त्यो बालापनमा आमाको वात्सल्य गुमाउन सकिदो रहेनछ ।
आमाको सिर्फ अनुहार अघि आउँदा त्यो एक महिना कति चाँडै बिर्सेछु । जब आमा हाम्रो आँखाको अगाडि हुनुभयो, उहाँलाई अङगालेर हामी हाम्रो कुरा सुनाउन आतुर थियौ । साच्चै आमाको जस्तो निःस्वार्थ प्रेम र त्याग त कसैले गर्न सक्दैन । यो हरसन्ताले पनि भोग्छन जस्तो लाग्छ । अरुको लाख र आमाको काखमा साँच्चै सन्तानलाई आमाको काख नै प्यारो हुन्छ । जसको महसुस म मेरी आमा केही समय मेरो साथमा नहुँदै महशुस गरिरहेकी हुन्छु ।
आमा हरेक दुःख कष्ट सहन्छिन् । आफू भोकभोकै बस्छिन् । आफन्तका खुसीका लागि लागि आफ्नो खुसी भन्दिनन् । सन्तान र परिवारका लागि बाच्ने एक ममताकी खानी हु्न् आमा । मेरी आमा पनि मेराका लागि खास बनेर रहिरहनु भएको छ ।
उहाँका अतित सुन्दा यस्तो पनि लाग्छ कि सबै महिलाहरुको यस्तै नियती होला र ? सबैको समान कथा होला र ? म पनि भोली कसैको घरकी बुहारी हुन्छु । के मेरी आमाले भोगेको जस्तै मैले नि भोग्नु पर्छ त ? सबै छोरीहरु एकदिन कसै न कसैका बुहारी त अवस्य हुन्छन् । तर, किन यतिधेरै दुःख दिए मेरा घरका आफन्तहरुले मेरी आमालाई ?अरुले अपनाएका गलत बाटोको दोषमा मेरी आमालाई किन दोषी बनाइयो ? ठूलाले गरेको गल्तीमा भर्खर जन्मेको त्यो अवोध बालक मेरो दाजु कसरी अलछिन् भयो ? कति सम्मको अन्याय यो ? सुन्दै त मलाई कहाली लाग्छ कसरी सहिन् होला मेरी आमाले ।
फेरी सोच्छु म पनि एउटी छोरी नै हुँ । भोली कसैको घरको बुहारी बन्नेछु । के मैले पनि मेरी आमाको जस्तै दुःख सहनुपर्ने हो त ? फेरि सम्झेँ, म त एक्काईसौ शताब्दीकी छोरी । म मेरी आमाको जस्तो अनन्यायलाई सहेर कसरी बस्न सकुँला ।
हुन त आमाको कुरा सुन्दासुन्दै मैले बीचमै प्रश्न गर्थेँ, ‘आफूले गर्दै नगरेको गल्ती किन सहेर बस्नु भयो ? किन तपाईले प्रतिकार गर्नु भएन ?’ मैले फेरि स्कुलमा पढाएको सम्झिँदै भनें, अन्याय गर्ने भन्दा अन्याय सहनेहरु दोषी हो रे । मलाई तपाईको जस्तो गरेभने प्रतिकार गर्छु । त्यस्तो अन्याय सहदिन ।’
जवाफमा आमा भन्नुहुन्छ, ‘सहनु नै ठूलो हो, जवाफ फर्काएर त घरमा झनै कोलाहल मच्चिन्छ । कुनै पनि महिला घर भाँडिएको हेर्न चाहदिनन् । घरको परिवार नमिलेको देख्दा त्यसको फाइदा बाहिरी मान्छेले उठाउँछन । मैले सहेको थिए र त म आज यहाँसम्म आएँ ।
सहन सक्नुपर्छ । आफूले राम्रो ग¥दै जाने हो एकदिन अवश्य सत्यकै जीत हुन्छ ।’ आमाले फेरि थप्नु भयो, ‘ती दुःखहरु सम्झिँदा अहिले पनि झसङ्ग हुन्छु । के मात्र गरिन र मैले । अन्याय सहन नसकेर आफूलाई नै मार्नसमेत खोजेँ । तर सकिन मर्न सन्तानको मायाले । सम्झिँए म मरेर अरुलाई त के नै हुन्छ र ? तर मेरा अबोध छोराछोरीको के कसुर ? भोली तीनको आत्माले मलाई कति सराप्ला भन्ने सोचेर म त्यस्तो गर्न सकिनँ ।’
आमाका कुरा सुन्दासुन्दै मैले आफूलाई समाल्नै सकिन । थाहै नपाई मेरा आँखाबाट आशु बगिसकेछन् । मेरो आँखामा आशु देखेर होला आमाले मुस्कुराउदै भन्नुभयो, ‘तिमीहरु धेरै भाग्यमानी छौ । छोरासरह पढ्न पाएका छौ । आफ्नो खुट्टामा आफैँ उभिएर बाँच्न सक्ने क्षमता तिमीहरुसँग छ ।
त्यसैले मैले जस्तो सहेर बस्नु पर्दैन । मेरो जस्तो अरुको आशमा पनि बाच्नु पर्दैन । हाम्रो समय आजको जस्तो थिएन, । छोरीलाई पढाउने चलन थिएन । तर तिमीलाई तिम्रा दाजुहरुसरह पढाएका छौँ । तिमीले त अन्यायको विरुद्द लड्नुपर्छ र सधै सहि बाटो हिड्न सक्नुपर्छ ।’
म सम्झन्छु । मुखले बोलेजस्तो सजिलो कहाँ थियो र ? जब हामी गाँउ छोडेर शहर आयौ । शहरमा आएर पनि गाउँको भन्दा कम दुःख थिएन आमालाई । घरको सारा काम । सासु र आमाजुको कयस ,घृणा, तिखा बचनका प्रहार । गाउँमा भन्दा बढी पीडा र दुःख थियो मेरी आमालाई । हामी सानै थियौ । बोल्न सक्दैनथ्यौ । आमालाई रातदिन रुवाउन कुनै कसर छोड्दैनथे फूपु र हजुरआमा ।
सम्झन्छु जब ती दिनहरु धेरै घृणा लाग्छ मलाई यिनीहरुलाई आफन्त भन्न । जसले मेरी आमालाई मात्र हैन हाम्रो कलिलो मस्तिष्कसम्म नराम्ररी असर पु¥याएका छन् । दिनरात लगाइने झुटा आरोप, कलहले हाम्रो घरलाई मसानघाट जस्तै बनाएका थिए ।
हाम्रो पक्षमा बोल्दिने कोही थिएनन् । आफन्त भन्नेहरुलाई रमिता हेर्दै ठिक्क हुन्थ्यो । मेरै आमाका माइती पनि कहिले केही बोल्न सक्दैनथे । लाग्छ अहिले धेरै सोझो हुनुको फाइदा आफ्नैले नराम्ररी उठाउँदा रहेछन् । मेरो बुबा–आमा धेरै साझो भएका कारण आफ्नैले त्यसको फाइदा धेरै उठाए । जसले गर्दा त्यसका कैयौँ नकारात्मक असरहरु हामीले पनि भोग्नु प¥यो ।
भनाई नै छ नि, दुःख पर्दा साथ दिने कोही हुदैनन् । तर सुःखमा सबै हुन्छन । यो भनाई यथार्थमै सहि लाग्छ मलाई । एउटै कोखबाट जन्मिएका सन्तानमा आफ्नै आमा र एउटै कोखबाट जन्मिएका दिदी र भाइमा आफ्नै दिदी र आमाले एउटै छोरो र भाइलाई र त्यही छोरा र भाइका सन्तानलाई यति धेरै दुःख दिन्छन भन्ने मैले मेरै घरमा देखेँ ।
आफन्त भनेका दुःख र सुःखका साथी हुन् । एकले अर्कोलाई पर्दा मद्धत गर्छन् भन्ने केवल भनाई मात्र जस्तो लाग्छ मलाई । खानलाउनको कुनै दुःख थिएन । तर, हरदिन घरमा हुने कोलाहलले मेरो कलिलो दिमागलाई कष्टकर बनाइरहेको थियो । राम्ररी म आफ्नो पढाइमा ध्यान दिन नि सक्दैनथे ।
हरदिनको झगडा सम्झँदा कहिलेकाहीँ मर्न पाए आनन्द हुन्थ्यो जस्तो लाग्थ्यो मलाई । सानो उमेरमै मैले धेरै कुराहरु देखेँ अनि भोगेँ । मनभरी धेरै पिडा थिएँ । ती पीडा पोख्ने ठाँउ थिएनन् । कहिलेकाहीँ असह्य भएर मुटु फूट्ला जस्तो हुन्थ्यो । तीनै पीडा, आँशु बनेर आँखा वरिपरी टलपलाउँथे । कैयौ रातमा मैले निदाउन भुलेँ । कैयौ रात सिरानी रुझ्यो । म आफले यतिधेरै पीडाहरु सहेँ भने मेरी आमाले कति सहनु भयो होला ? अनि यसको बयान कसरी गर्न सकँुला र ।
कैयौ पीडाहरु यस्ता पनि हुँदा रहेछन्, जसलाई यँहा प्रस्तुत समेत गर्न नसकिदो रहेछ । तैपनि आमाको यही सहनशीलताभित्र मातृत्व महसुस गरिरहेकी छु । आमा भन्न पाइरहेकी छु ।
प्रतिक्रिया