देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्छः प्रधानमन्त्री ओली

देशान्तर

सुर्खेत । प्रधामन्त्री केपी शर्मा ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् । आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘हामीलाई डाक्टर, इन्जिनियर, कृषि विज्ञ, पर्यटन विज्ञ, दक्ष योजनाकार चाहिएको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘सम्भावनाहरुलाई पहिचान गरेर त्यही अनुसारको काम गर्नुपर्ने बेला आएको छ ।’ उनले अब कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको जानकारी गराए। प्रधानमन्त्री ओलीले मगुमा एक बालिकालाई आफूले भर्ना गरेर अभियानको सुरुवात गरेको बताउँदै अब कोही पनि निरक्षर नहुने दावी गरे।

प्रधानमन्त्री ओलीले अब कर्णाली प्रदेशलाई पछि पर्न नदिने बताएका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक कर्णाली प्रदेशमा आएका प्रधानमन्त्री ओलीले विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशलाई केन्द्रले प्राथमिकतामा राखेको बताए ।

उनले अब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने बताए । ‘जिन्दगी भर एउटा घर कहिलेसम्म बनाइरहने ? विकास निर्माणका कामहरु छिटो र छरितो रुपमा गर्नुपर्छ । यस कारण र उस कारणले विकास भएन भनेर भन्नुहुँदैन’ उनले भने, ‘यस प्रदेशलाई कसरी बढाउने भनेर केन्द्र र प्रदेशले सोचेको छ । यहाँको विकासको गाडीको इन्जिन ठिक छ, अब विकासको गति अघि बढ्छ । हामीले अब विकास गर्नैपर्छ ।’

उहाँले कर्णाली प्रदेशमा कृषिको सम्भावना भएको बताउँदै कृषिको आधुनिकिकरणतर्फ सरकार केन्द्रीत हुने बताए। प्रधानमन्त्री ओलीले कर्णालीका जडिबुटीको पहिचान, प्रशोधन, वितरण र प्रयोगमा ध्यान दिनुपर्ने पनि बताए । कर्णाली प्रदेशलाई अर्गानिक बनाउन पनि लाग्नुपर्ने ओलीको भनाई छ ।

अब कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि हवाई सेवा जोड्ने पनि प्रधानमन्त्री ओलीको दाबी छ । देश विकासका लागि जनप्रतिनिधीहरुले अब नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाई छ । साथै उनले कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटन, कृषिको विकासका लागि नयाँ ढंगले सोच्न पनि जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालयको भवनको पनि अनुगमन गरेका छन् ।