काठमाडौं, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको व्यवसायिक शिक्षा नीति बनाउन आफूले बिशेष पहल गर्ने बताएका छन् ।
प्रदेश ७ कै सवैभन्दा पुरानो सामुदायिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सव समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले नेपालको शिक्षा नीति व्यवसायमुखी नभएकै कारण बेरोगारीको समस्या सुल्झन नसकेको बताए ।
मुख्यमन्त्री भट्टले गरीब र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुँचमा र्पुयाउन प्रदेश सरकार प्रयासरत रहने बताए । उनले भने ‘प्रदेशको चमत्कारी विकास पाँच वर्षमै गर्न नसकिए पनि सही नीति, विधि र पद्धतिस्थापित गर्न म अहोरात्र लागि पर्नेछु ।’
यस अभियानमा प्रदेशवासीको पनि पूर्ण सहयोग रहने मुख्यमन्त्री भट्टको विश्वास छ । उक्त अवसरमा भट्टले कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने बताए ।
प्रतिक्रिया