देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किन बढ्यो दोहोरो अंकले नेप्से परिसूचक ?

देशान्तर

काठमाडौं- लामो समय देखि उतारचढाव भईरहेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले उकालो लागेको छ। साताको चौथों कारोबार दिन बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक २७.४५ अंकले बढेर १२२६.४५ अंकमा पुग्यो।

बढेको बजारमा १ सय ६२ कम्पनीको ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

बैंकिङ प्रणालीमा पैसा बढेको हल्ला चले पछि परिसूचक उकालो लागेको ब्रोकरहरुले बताएका छन्। बजार घट्नु बढ्नु सामान्य भए पनि एकै दिन ठुलो अंकले बजार बढ्नु पर्ने खासै कारण नभएको उनको भनाई छ।

एक ब्रोकरले भने, ‘ब्याजदर ओरालो र बजारमा नयाँ लगानीकर्ता नथपिँदा सम्म बजार बढ्न निकै गार्हो छ।’

बजार डिमाण्ड र सप्लाईले निर्धारण गर्छ, अहिले बजारमा सेयरको आपूर्ति बढेको सबैलाई थाहा नै छ, त्यसैले नयाँ लगानीकर्ता बजारमा प्रवेश नगरे  बजार बढ्न कठिन हुने एक मर्चेण्ट बैंकरको पनि भनाई रहेको छ।

आइतबार २४.०५ अंक र सोमबार ३.२८ अंकले ओरालो लागेको परिसूचक मंगलबार भने ६.०४ अंकले उकालो लागेको थियो।

दोहोरो अंकले उकालो लागेको बजारमा १ करोड ६२ लाख रुपैयाँको कारोबार गरेको नबिल बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। बुधबार १० प्रतिशतले मूल्य बढेको कालिका माइक्रोफाइनान्स धेरै रकम बढ्ने कम्पनी बन्दा १.९१ प्रतिशतले मूल्य घटेको गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स धेरै रकम घट्ने कम्पनी बन्यो।

दोहोरो अंकले बढेको बजारमा कारोबार भएका १ सय ६२ कम्पनी मध्ये ९ कम्पनीको मूल्य मात्र उकालो लागेको छ।

बुधबार ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ५.६१ प्रतिशतले उकालो लागेको छ। यस्तै बजार मापक उपसूचकहरु पनि उकालो लागेका छन्।