एमाले र माओवादी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । पार्टी एकतासम्बन्धी दुई कार्यदलले आफ्नो प्रतिवेदन टुंग्याएपछि एकताका लागि गठित संयोजन समितिको बैठक आज बस्न लागेको हो ।
सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न दिउँसो ४ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन १० गते गठित अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले तयार पारेको प्रतिवेदनलाई संयोजन समितिको बैठकले अन्तिमरुप दिनेछ ।
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै दुई दलबीच एकता टुंग्याउने प्रयासस्वरुप बैठक बस्न लागेको नेता नेम्वाङले बताउनुभयो । कार्यदलले दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार गरिसकेका छन् । तर, दुई दलको एकताका लागि धेरै कुरा मिलाउन भने बाँकी रहेको बताइएको छ । नेता व्यवस्थापन समस्या देखिएको छ भने स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन ।
एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ । तर त्यसअनुसार केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन दुवै पार्टी अध्यक्षसामु चुनौती देखिएको छ ।
प्रतिक्रिया