काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ ।
बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ ।
अहिले पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै गर्दा तेस्रो विचार समूह दाबी गर्दै सिटौला पक्ष आफ्नो धार बलियो बनाउने अभियानमा लागेको छ । दुई पक्षको विवादमा घुसेर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा सिटौला पक्ष देखिन्छ । बैठकमा सभापतिले सबैलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् ।
संस्थापनको तयारी
बैठकमा सभापतिले सबै सदस्यलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् । निर्वाचन हार्नुका कारण, अब प्रतिपक्षीका रूपमा पार्टीले खेल्नुपर्ने भूमिका र पार्टी सञ्चालनको योजना बनाउने विषयमा बैठक केन्द्रित गर्ने संस्थापनको तयारी छ ।
पार्टी संगठनलाई संघीय संरचनामा ढाल्न र पार्टी नेताहरूलाई जिम्मेवारी दिन गर्नुपर्ने बाँकी कामबारे संस्थापनले कुरा राख्नेछ । क्षेत्रीय समितिको नेतृत्व मिलाउनेदेखि पार्टीको प्रादेशिक इकाइ बनाउनेसहित नीतिगत धेरै विषयमा कांग्रेस अन्योलमै छ । यसका लागि केन्द्रीय समितिबाट महासमिति बैठक तोक्ने तयारी छ । नीतिगत व्यवस्था परिवर्तन गर्न महासमिति बैठक बस्नुपर्ने हुन्छ ।
लिखित रूपमा प्रस्ताव राख्न दिइने
बाहिर बोल्ने र हल्ला गर्नेभन्दा पार्टीको औपचारिक बैठकमा लिखित वा मौखिक रूपमा गुनासा वा धारणा राख्न दिने तयारी छ । ‘अहिले रामचन्द्र पौडेल र सिटौला पक्षले जसरी छलफल गरिरहेका छन् । यो पार्टीभित्र छलफल गर्नुपर्छ भन्नेमा सभापति हुनुहुन्छ,’ देउवानिकट स्रोतले भन्यो, ‘सभापतिले अन्यथा लिनुभएको छैन । तर, स्वच्छ हिसाबले पार्टीको औपचारिक बैठकमा आउने धारणाप्रति उहाँ सकारात्मक हुनुहुन्छ ।’
प्रवक्ता विश्वप्रकाश शर्माले जिल्लाबाट आएका प्रतिवेदनलाई समेटेर केन्द्रीय कार्यालयले संक्षिप्त प्रतिवेदन तयार गर्ने जानकारी दिए । ‘जिल्लाबाट प्रतिवेदन आइरहेका छन् । केन्द्रीय कार्यालयले यसको सार निकाल्नेछ,’ शर्माले नयाँ पत्रिकासित भने, ‘यही सारलाई महामन्त्रीले बैठकमा प्रस्तुत गर्नुहुन्छ ।’
देउवाले डाटामा रिजल्ट खोज्ने
सभापति देउवाले यसअघि नै जिल्ला जिल्लाबाट चुनावको प्रतिवेदन मगाउन निर्देशन दिइसकेका छन् । प्रतिवेदनकै आधारमा कुन नेताले कस्तो भूमिका खेले भन्ने विषयमा समीक्षा गराउने उनको तयारी छ । ‘पार्टीमा हारेकाले गाली गर्न सक्छ, तर उसले आफ्नो ठाउँमा गएर कति भोट ल्यायो, बढायो भनेर पनि खोजी गरिनेछ,’ सभापतिनिकट स्रोतले भन्यो, ‘निर्वाचन हार्नुका पछाडि अहिले जसरी नेतृत्वमाथि खनिने काम भएको छ । अब नेताहरू कहाँ गएर कति मत बढाए भनेर डाटामा रिजल्ट हेरिन्छ ।’
पौडेल पक्षले सकेजति आलोचना गर्ने
१३ फागुनमा संसदीय दलको विधान पारितका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नेता रामचन्द्र पौडेलले चार पाने विचारपत्र प्रस्तुत गरे । तर, सन्दर्भ नै नभएको बैठकमा सभापतिमाथि ठाडो आरोप लगाउँदै प्रस्तुत भएको भन्दै उनको आलोचना भयो । समीक्षा बैठकमा प्रस्तुत गर्नुपर्ने भए पनि गुट मात्रै मजबुत बनाएको, सरकारमा बस्दा असफल भएको, नैतिकता नदेखाएको, असफल नीतिका कारण सात प्रदेशमा कांग्रेसलाई खुट्टा टेक्ने ठाउँ नभएको, गलत काम गरी गिनिज बुकमा नाम लेखाउन खोजेको आरोप लगाएका थिए । तर, पौडेल फेरि पनि यसअघिकै प्रस्तावलाई केही सुधार गरी बैठकमा लिखित प्रस्ताव ल्याउने तयारीमा छन् ।
पौडेल पक्षका प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसीलगायत नेताले नेतृत्वको कमजोरीकै कारण पार्टीले अनपेक्षित पराजय व्यहोरेको विषय कडाइसाथ उठाउने तयारी गरेका छन् । नेता महतले पार्टी र सरकारको नेतृत्वमा रहँदा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै आएका छन् । उनले यस्तै अवस्थामा पार्टी अघि बढ्न नसक्ने विषयलाई प्राथमिकतामा राखेर आवाज उठाउने बताए । आजको नयां पत्रिकामा खबर छ ।
प्रतिक्रिया