काठमाडौं । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब घोटालामा संलग्न थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बैंकका तत्कालीन ३ कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ छन्। बज्राचार्य र श्रेष्ठ कर्जा सुपरीवेक्षक तथा भट्टराई कर्जा अधिकृतका रुपमा बैंकमा कार्यरत थिए। कमसल धितो राखी कर्जा प्रवाहमा उनीहरुको समेत मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताउनुभयो । पक्राउ परेमध्ये कृबेन्द्र जनता बैंकको बनेपा शाखामा कार्यरत थिए ।
यसअघि सिआइबीले १४ जनालाई पक्राउ गरिसकेको छ । बैंकिङ कसुर मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो ।
बैंकका सञ्चालक तथा कर्मचारीहरुले मोटरबाटो नभएको, भिरालो जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए । जुन कर्जा उठ्न नसककेपछि बैंक नै समस्यामा परेको थियो। एपेक्स बैंक एनसिसी बैंकमा मर्ज भइसकेको छ । सो अनियतिताले अहिले आफूहरुलाई असर नपर्ने एनसिसी बैंकले जनाएको छ ।
प्रतिक्रिया