आम चुनावपछि नेपाली कांग्रेस संसद्को बायाँतिरको बेन्चमा पुगेको छ । संसद्मा बायाँ बेन्च भनेको विपक्षीको हो । जसले नेतृत्व गरे पनि सरकार भनेको अलिअलि बल मिच्याइँ गर्ने, अलिअलि विधि मिच्ने नै हुन्छ । तर संसद्मा विधिका बारेमा विपक्षीले बहस गर्नुपर्छ । विधिका बारेमा संसद्मा विपक्षीले बोल्नुपर्छ । तर आम चुनावमा विपक्षी बनेको नेपाली कांग्रेस विधिका बारेमा बोल्न सकेको छैन । अहिले नै संसद्मा चर्काचर्की बहस हुनेबेला भएको छैन । अहिले संसद् काम सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति चयनमा व्यस्त छ । तर प्रारम्भले भविष्य निर्धारण गर्छ, त्यही कारणले कांग्रेस विधिका बारेमा बोल्ने विपक्षी हुन्छ भन्ने प्रारम्भमा देखाउनुपर्ने थियो, कांग्रेस त्यसमा चुकेको छ । आमचुनावमा पराजित हुँदै संसद्को विपक्षी बेन्चमा पुगेको कांग्रेसले प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने क्रममा प्रस्तुति देखायो । त्यो दिन बोल्ने कांग्रेसका सांसदहरूको प्रस्तुति अब्बल थियो । तर प्रस्तुति अब्बल हुँदाहुँदै पनि कांग्रेसले विधिको विषयमा बोल्न सकेन । संसद् भनेको विधिका विषयमा बोल्ने, सरकारलाई विधि पालना गर्न बाध्य बनाउने थलो हो । तर अब्बल प्रस्तुति गरेको कांग्रेसका सांसदहरूले केही विधिका विषयमा बोल्न सकेनन् ।
नेपाली कांग्रेसले उठाउनुपर्ने विधि भनेको राष्ट्रपतिको उम्मेदवार बन्नुभएकी विद्या भण्डारीले सभामुखमा निर्वाचित कृष्णबहादुर महरालाई शपथ खुवाउनुभयो । राष्ट्रपतिको उम्मेदवार नै राष्ट्रपति होइन । त्यही कारणले नेपाली कांग्रेस राष्ट्रपतिको उम्मेदवारले शपथ खुवाएको सभामुखले अध्यक्षता गरेको संसद्को बैठकका बारेमा प्रश्न उठाउन सक्नु पर्दथ्यो । प्रधानमन्त्रीले विश्वासको मत माग्दै गर्दा संसद्को अध्यक्षता राष्ट्रपतिको उम्मेदवारले शपथ खुवाएको कृष्णबहादुर महराले गर्नुभएको थियो । सभामुखको शपथको विषयमा चर्चा नभएको होइन, तर व्याख्या संविधानले राष्ट्रपति खाली हुँदैन भन्ने कल्पना गरेको छ भनेर गरियो । राष्ट्रपति खाली नहुने कल्पना संविधानले गरेको भए राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव किन एकै पटक गरिएन भन्ने प्रश्न खडा हुन्छ । संविधानले राष्ट्रपति पदमा बहाल रहेको व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्छ र त्यो बेलामा राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई दिनुपर्छ भन्ने मान्यता संविधान हो । त्यो हुँदा राष्ट्रपतिको उम्मेदवार बनिसक्नुभएकी विद्या भण्डारीले होइन, उपराष्ट्रपति नन्दबहादुर पुनले शपथ गराउँदा विधि बस्थ्यो । सरकारमा रहेकाले पनि विधि बसाउनेभन्दा विधि मिच्ने कोसिस गरे । तर विपक्षीमा बसेको कांग्रेसले पनि विधिको विषयमा बोल्न सकेन ।
अर्को नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई अघिल्लो सरकारका पालामा प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेर सरकारवादी मुद्दा नवराज सिलवाललाई लागेको थियो । नवराज सिलवालमाथिको मुद्दा ठीक बेठीक के थियो त्यो विषय भएन । त्यो अर्को बहसको पाटो होला । तर नवराज सिलवाल सांसदका रूपमा संसद् भवन पस्दै गर्दा उनी पक्राउ पुर्जी जारी भएका तर पक्राउ नपरेका व्यक्ति थिए । त्यही भएर उनी एमाले वरिष्ठ नेता माधव नेपालको गाडीमा संसद् भवन पुगेको चर्चा पनि चलेको थियो । यहाँ पनि सरकारले विधि मिचेको थियो । तर विपक्षी बोल्न सकेन । विपक्षी सांसदहरूले कम्तीमा पनि नवराज सिलवालको मुद्दाको विषय जेसुकै होस् तर उहाँका विरुद्धको पक्राउ पुर्जी फिर्ता नभएसम्म संगै शपथ नलिने अडान राखेको भए, अब विपक्षी विधिका बारेमा बोल्यो भन्ने हुन्थ्यो । संसद्मा पुगेको विपक्षी विधिबारेमा बोल्न चुक्यो ।
त्यसैगरी प्रधानमन्त्री केपी ओलीले सांसद पदको शपथ नखाइकन प्रधानमन्त्रीको शपथ खानुभयो । उहाँ स्वतन्त्र हैसियतमा प्रधानमन्त्री बन्नुभएको होइन । उहाँ सांसदको हैसियतमा प्रधानमन्त्री बन्नुभएको हो । चुनावको परिणामले उहाँ नै प्रधानमन्त्री हुने भनिसकेको थियो । तर उहाँले विधि मिच्दै प्रधानमन्त्री बन्नुभयो । नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीले विश्वासको मत माग्दै गर्दा यो विषय संसद्मा प्रवेश गराए तर ढिला भइसकेको थियो । विपक्षीको काम भनेको सरकारलाई काम गर्न बाध्य पार्ने हो । तर कांग्रेसले बाध्य पार्ने गरी प्रारम्भ देखाउन सकेको छैन । शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा गरिसकेपछि केपी ओलीले शपथ खानुभएको हो । प्रधानमन्त्रीबाट राजीनामा गरिसकेपछि शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतले संसदीय दलको नेता चयन नभइन्जेल विपक्षी दलको नेता हो । त्यो बेला विपक्षी नेता बोल्न सक्नुपर्दथ्यो, म संसदीय व्यवस्था मान्ने व्यवस्था मान्छे हो । सांसदको हैसियतमा प्रधानमन्त्री बन्ने अनि सांसद पदको शपथ नखाएको व्यक्तिले प्रधानमन्त्रीको शपथ खाने कार्यक्रममा म सहभागी हुन सक्दिनँ भन्न सक्नुपर्दथ्यो । यहाँ पनि कांग्रेस विधिका बारेमा विपक्षी बोली बोल्न सकेन ।
मुख्यगरी नेपाली कांग्रेसको स्थापना विधिको शासनका लागि भएको हो । व्यक्तिलाई बलियो बनाउनका लागि कांग्रेसको स्थापना भएको होइन । व्यक्ति होइन कांग्रेस स्थापना भएको बेलामा राणा भन्ने परिवार नै बलियो थियो । तर कांग्रेस विधि बसाउनका लागि स्थापना भएको हो । विधि बलियो बनाउनका लागि स्थापना भएको पार्टी अहिले विधिका बारेमा बोल्न नसक्नु विडम्बना हो । बाटो बलियो बनाउँदा मात्र ज्यान सुरक्षित हुन्छ, खुट्टा बलियो बनाउँदा भीरबाट लडिन्छ । त्यही कारण भीरमा बाटो बलियो बनाउने तिर कांग्रेस लाग्नुपर्छ, बाटो नभएको भीर बलियो खुट्टा लिएर हिँड्दा दुर्घटना हुने हो । बाटो भनेको विधि हो, तर बाटो होइन खुट्टा बलियो बनाउने अभियानको सहयोगी हुन कांग्रेसले छोड्नुपर्छ । विधि बसाउनका लागि जन्मेको कांग्रेस विपक्षीमा हुँदा विधिका लागि विपक्षीको बोली फुटाउनुपर्छ ।
प्रतिक्रिया