ओली सरकारको महत्वपूर्ण खम्बाका रूपमा रहेको नेकपा माओवादी केन्द्रमा ओली सरकारमा रुकुमेली माओवादीको बेहाल भएको छ । सधैंजस्तै यो पटक पनि रोल्पाली माओवादी भने मालामाल भएका छन् । माओवादीको हिंसात्मक युद्धकालदेखि नै रुकुमेली माओवादी र रोल्पाली माओवादीका बीचमा ठूलो द्वन्द्व रहेको थियो । पछिल्लो समयमा रुकुमेली माओवादी नेता जर्नादन शर्मा हाबी हुँदै गएपछि भिन्नभिन्न मोर्चा खडा गरेर बसेका रोल्पाली माओवादी एकै ठाउँमा उभिएका थिए । त्यही कारणले रुकुमेली माओवादी नेता शर्माको बेहाल बनाएको चर्चा पेरिसडाँडातिर सुनिन थालेको छ ।
तर रोल्पाली माओवादी नेताहरू भने सबै मालामाल भएका छन् । रोल्पाका माओवादी नेतामध्ये दुईजना सम्माननीय भएका छन् भने एक जना केन्द्र सरकारमा माननीय मन्त्री त्यो पनि विगतमा रुकुमेली माओवादी नेताले सम्हालेको मन्त्रालय हात पारेका छन् । रोल्पाका कृष्णबहादुर महरा संघीय संसद्को सभामुख हात पार्न सफल भएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि एकपटक पनि सत्ताबाहिर नबसेका महरा यो पटक सभामुख भए । त्यसैगरी अर्को रोल्पाली माओवादी नन्दबहादुर पुन फेरि उपराष्ट्रपति बनेका छन् । अर्का रोल्पाली नेता वर्षमान पुन अघिल्लो केपी ओली सरकारका पालामा रुकुमेली नेता शर्माले सम्हालेको र अहिले मन्त्रालयहरू गाँभिएर सिँचाइसमेत गाँभिएको ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
महरा, वर्षमानमात्र होइन, बादलसँगै एकता प्रक्रियामा आएकी जयपुरी घर्तीदेखि उपराष्ट्रपति नन्दबहादुर पुनसमेत एउटा गुटमा उभिएर रोल्पालीको शक्ति सञ्चय गर्न लागेका थिए । त्यो सञ्चय गरेको शक्तिअनुसारको आर्जन गर्न रोल्पाली माओवादी सफल भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री जनार्दन शर्माले पार्टीमा खासै छलफल नै नगरी असोज १७ गते एकाएक प्रचण्डलाई प्रभावमा पारेर एमालेसँग गठबन्धन बनाएपछि सबै रोल्पाली माओवादी अत्तालिएका थिए । तर ओली सरकारलाई पूर्णता दिने बेलासम्ममा रोल्पाली माओवादीहरूले रुकुमेली माओवादी नेता शर्मालाई पल्लो भित्तो पु¥याउन सफल भएका छन् ।
चुनावमा एमालेसँगको गठबन्धन गराए पनि रोल्पाली माओवादीहरूले जनार्दनलाई भने माओवादी भन्न छोडेका थिए । वर्षमानले त पार्टीमा छलफल नै नगरी एमालेसँगको सहकार्य अगाडि बढाएपछि जनार्दन प्राविधिक कारणले मात्र माओवादीमा रहेको अन्यथा एमाले भइसकेको आरोप पार्टीको बैठकमा नै लगाएका थिए । माओवादी उच्च स्रोतका अनुसार सबै रोल्पाली माओवादीहरू अहिले एमालेसंँगको एकता प्रक्रियाको विरुद्धमा रहेको बताइएको छ । तर उनीहरू अहिले नै एकताको विरोधमा जाँदा कतै प्रचण्डले पहिले नै स्याक गर्छन् कि भन्ने डर अहिले शक्ति प्राप्त गर्ने दौडमा एकजुट भएको माओवादी उच्च स्रोतको दाबी छ ।
यस्तै माओवादीमा अर्का एकजना नेता पनि महराले प्रचण्डको काँध चढेजस्तै नारायणकाजीको काँध चढेर सदाबहार सत्ताधारी बनेका छन् । माओवादी नेता गिरिराजमणि पोखरेल पाँचौ पटक फेरि मन्त्री बनेका छन्, त्यो पनि शिक्षामन्त्री । उनी नारायणकाजीको बुर्इं चढेर लगातार शिक्षा र स्वास्थ्य मन्त्रालयका सत्ताधारी बन्दै आएका छन् । माओवादीमा महरा र गिरिराजमणिलाई सदाबहार सत्ताधारीको नाम दिने गरिएको छ ।
प्रतिक्रिया