काठमाडौं, उपराष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि आगामि शुक्रबार हुने निर्वाचनका लागि आज उम्मेद्वारी मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचन सकिएसँगै उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
आज दर्ता भएको उम्मेद्धवारको अन्तिम नामावली भोली साँझ ६ बजे प्रकाशित गरिने प्रवक्ता ढकालले बताएका छन ।उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली यस अघि नै प्रकाशित भइसकेको छ । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८३ जनाले मतदान गर्नेछन् ।
सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित तीन जनाले पनि उपराष्ट्रपति निर्वाचनमा मत हाल्न पाउने भएका हुन् । यस अघि राष्ट्रपति निर्वाचनमा भने उनीहरुले मतदान गर्न पाएका थिएनन् । प्रदेश सभा सदस्य राजीव गुरुङले भने उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।
प्रतिक्रिया