मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको फोरमले २ मन्त्री दाबी गर्ने
प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार हुन सकेको थिएन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्रका सांसदलाई मन्त्री बनाउनुपर्ने दबाबसमेत परेको छ । अहिले लुम्बिनी क्षेत्रबाट एकजना मात्र मन्त्री छन् । महिलाको पनि सहभागिता गराउने तयारीमा दलहरू लागेका छन् । राष्ट्रपति चुनावलगत्तै सरकार विस्तार गर्ने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए । एमाले र माओवादी दुवैका तर्फबाट सरकार विस्तारको तयारी भइरहेको उनले बताए । अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्र र महिलाको सहभागिता हुने गरी तयारी भएको चौधरीको भनाइ छ ।
लुम्बिनीमा मन्त्रीका आकांक्षी धेरै
लुम्बिनी क्षेत्रका एमाले र माओवादीका सांसद प्रदेश सरकारको मन्त्री बन्न आकांक्षी देखिएका छन् । एमालेबाट रुपन्देहीका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेलगायत आकांक्षी देखिएका छन् । त्यसैगरी, माओवादीबाट रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका सुर्दशन बराल, पाल्पाका तुलाराम घर्तीमगरलगायत आकांक्षी छन् ।
फोरमले २ मन्त्रालय माग्ने
मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम पनि सरकारमा जाने सम्भावना बढेको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले केन्द्र र प्रदेशमा पार्टी सरकारमा जाने सम्भावना रहेकाले पोखरेललाई विश्वासको मत दिएको बताए । पाण्डेले पार्टीले केन्द्रमा एमालेसँग छलफल जारी राखेको र केन्द्रसँगै प्रदेश ५ मा पनि सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताए । प्रदेश ५ मा फोरमले दुई मन्त्रालय माग गर्ने पाण्डेले बताए ।
मन्त्रालयका ढाँचा वैज्ञानिक देखिएनन् : मुख्यमन्त्री
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका मन्त्रालयको ढाँचा नै ठीक नभएको बताएका छन् । ‘६ वटा ढाँचा वैज्ञानिक देखिएका छैनन्, आवश्यकताका हिसाबले जस्टिफाई गर्न सकिएको छैन,’ उनले भने । सोमबार भएको पत्रकार सम्मेलनमा प्रदेश ५ मा सहरी विकास, पर्यटन मन्त्रालयको पनि आवश्यकता हुन सक्ने बताए । उनले प्रदेशमा कति मन्त्रालय र कति सदस्यीय मन्त्रिमण्डल बनाउनेबारे स्पष्ट पारेनन् । त्यस्तै, उनले संघीय समाजवादी फोरमको सरकारमा सहभागिताका विषयमा अझै टुंगो नलागेको बताए । उनले भने, ‘राष्ट्रियस्तरमा छलफल चलिरहेको छ, केन्द्रमा के हुन्छ, त्यहीअनुरूप प्रदेशमा पनि हुन्छ ।’
चार मन्त्री थपिने सम्भावना
अब विस्तार हुने सरकारमा चार मन्त्री थपिने सम्भावना रहेको मन्त्री बैजनाथ चौधरीले बताए । कुन पार्टीबाट कतिजना मन्त्री बनाउने भन्ने अझै पनि टुंगो लागेको छैन । माओवादीलाई थप एक मन्त्री दिएर मनाउने रणनीतिमा एमाले रहेको छ । तर, माओवादीले त्यसमा चित्त बुझाउने सम्भावना कम छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम सहभागी हुने सम्भावना रहेकाले भागबन्डा मिलाउन कठिन भएको हो । माओवादी सरकार विस्तारका लागि तयारी अवस्थामा रहेको माओवादीका संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाबी गरे । सबै क्षेत्र समेटिने गरी सरकार विस्तार गर्ने तयारी भएको उनले बताए ।नयाँ पत्रिका
प्रतिक्रिया