देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

के-के कुरा गरेर फर्के अब्बासी नेपालबाट ?

देशान्तर

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन सोमबार नेपाल आएका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विषय प्राथमिकताका साथ उठाएका छन्। प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको छुट्टाछुट्टै द्विपक्षीय भेटवार्तामा अब्बासीले सार्क शिखर सम्मेलन पाकिस्तानमा गर्न पहलकदमी लिइदिन आग्रह गरेका थिए।

अब्बासीले दुवै नेतालाई पाकिस्तान १९ औं सार्क शिखर सम्मेलन आयोजनाको तयारीमा जुटेको जानकारी दिएका थिए। भारतसँग चिसिएको सम्बन्धका कारण भारतको समझदारीबिना पाकिस्तानमा सार्क सम्मेलन गर्न सहज छैन। दुई वर्षअघि पाकिस्तानमा गर्न तय भएको शिखर सम्मेलन भारतकै कारण स्थगित भएको थियो। अब्बासीले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले भारतसँग सम्मेलनका लागि पहल गरिदिन ओली र दाहालसँग आग्रह गरेको परराष्ट्र स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले पनि पाकिस्तानमा सार्क सम्मेलन गर्नेबारे अरू राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्ने जवाफ दिएका थिए।

कांग्रेस नेता तथा पूर्वपरराष्ट्र मन्त्री डा.प्रकाशशरण महत भने नेपाल र पाकिस्तानबीचको संवादले मात्र सार्क सम्मेलनको निचोडमा पुग्न नसकिने तर्क गर्छन्। उनी भन्छन्, ‘सार्कसम्बन्धमा हामी दुई राष्ट्रबीच मात्र छलफल गर्नुको अर्थ छैन। यसमा भारतसहितका देशहरूसँग सार्थक छलफल गर्न आवश्यक छ।’ पाकिस्तानले आतंकवादलाई प्र श्रय दिइरहेको भन्दै भारतले सार्क शिखर सम्मेलन गर्न पाकिस्तानको विकल्प खोज्न जोड दिँदै आएको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति संकायका सहप्राध्यापक डा.खड्ग केसीले सार्क सक्रिय बनाउन अब्बासीको भ्रमणले सकारात्मक छलफलको सुरुवात गरेको दाबी गरे। उनले भने, ‘सार्क क्षेत्रीय विकासका लागि महत्वपूर्ण छ, यसका लागि यो भ्रमणले संवाद थालनी गरेको छ।’ यसलाई सद्भावपूर्ण कूटनीतिक भ्रमणको संज्ञा दिँदै उनले धेरै एजेन्डा र अपेक्षा नभएकाले अब्बासी भ्रमणको धेरै समीक्षा आवश्यक नरहेको बताए।

३२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दिउँसो काठमाडौं उत्रिएका अब्बासी मंगलबार दिउँसो स्वदेश फर्किए। स्वदेश फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरे। शीतल निवासमा भएको भेटवार्तामा द्विपक्षीय हितबारे छलफल भएको थियो।

बीआरआई परियोजनाबारे छलफल

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटवार्तामा चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा छलफल गरेका छन्। परियोजनाले दुई देशको आर्थिक सम्बन्ध अझ बलियो बनाउनेमा दुवै सहमत भएको भेटवार्तामा सहभागी माओवादी केन्द्रका वरिष्ठ नेता एवम्र पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘बीआरआईबाट दुवै पक्षले लाभ लिनुपर्ने कुराकानी भयो।’ बीआआईबारे पाकिस्तानी प्रधानमन्त्रीको चासोलाई भने पूर्वपरराष्ट्रमन्त्री महतले अस्वाभाविक बताए। उनले भने, ‘यो परियोजना नितान्त चीन र नेपालबीच भएको हो, यसमा दुई देशका हित समेटिएका छन्। त्यसैले यसलाई तेस्रो देशको हितसँग जोड्नु राम्रो होइन।’

देउवासँग भेटेननपाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणको अघिल्लो दिन नेपाल र पाकिस्तान दुवै देशका परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग मात्र भेटवार्ता हुने उल्लेख थियो। अब्बासी काठमाडौं आएकै दिन माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटवार्ता तय भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं चारपल्ट प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवासँग भने अब्बासीले भेटवार्ता गरेनन्।

परराष्ट्रले पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार भेटवार्ता भएको जनाएको छ। भ्रमण तालिकामा दाहालको नाम नभएकाले कतिपयले अब्बासीको भ्रमणलाई शंकाको दृष्टिले हेरेका छन्। अब्बासीको स्वागतमा प्रधानमन्त्री ओलीले दिएको रात्रिभोजमा सबै पूर्वप्रधानमन्त्रीलाई निम्तो दिइए पनि देउवा भने सहभागी भएका थिएनन्।

छात्रवृत्ति दोब्बर

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालको पर्यटन, शिक्षा, व्यापारमा पाकिस्तानको सहयोग विस्तार गर्दै लैजाने बताए। उनले नेपाललाई चिकित्साशास्त्र अध्ययनमा पाकिस्तानले दिँदै आएको छात्रवृत्ति दोब्बर गर्ने जानकारी दिए।