काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले अवहेलना मुद्दामा डा गोविन्द केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेका छन्।
प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा प्रश्न उठाइरहेका डा केसीविरुद्ध परेको अवहेलना मुद्दाको आफ्नै इजलाशमा सुनुवाई गर्दै प्रधानन्यायाधीश पराजुलीले डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेका हुन्।
आफू संलग्न भएको विवाद सम्बन्धी मुद्दाको सुनुवाई नगर्ने चलन भए पनि प्रधानन्यायाधीश पराजुलीले केसीको मुद्दामा आदेश जारी गरेका हु्न्। पराजुलीले यसअघि कान्तिपुर दैनिकमाथि परेको अवहेलनाको मुद्दामा पनि आफ्नै इजलाशमा पेशी राखेर आदेश गरेका थिए।
पराजुलीको चार नागरिकताका विषयमा लेखिएको कान्तिपुरको समाचार विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा पनि उनले आफैंले आफैंलाई पेशी तोक्दै आदेश गरेका थिए। आफू झगडिया भएको विषयमा मुद्दा नहेर्ने न्यायिक परम्परा भए पनि पराजुली आफैंले आफ्नो विषयमा परेको दोस्रो मुद्दाको सुनुवाइ गरेका छन्।
डा केसीले अदालतलाई होच्याउने र प्रधानन्यायाधीशलाई अपराधी, माफिया र डनजस्ता शव्द प्रयोग गरी अदालतको अवहेलना गरेको दाबी गर्दै गोविन्द बोहोराले फागुन १६ मा अवहेलना मुद्दा दर्ता गराएका थिए।
प्रधानन्यायाधीश र न्यायलयविरुद्ध अवहेलना ठहर हुनेगरी अभिव्यक्ति दिएको आरोपमा डा केसी विरुद्ध परेको यो चौथो अवहेलना मुद्दा हो। उक्त मुद्दा आइतबार न्यायाधीश शारदाप्रसाद घिमिरेको इजलाशमा पेशी तोकिएको थियो।
अदालतको यो आदेशपछि केसी चौथो पटक अवहेलनामा अदालत उपस्थित हुनुपर्ने भएको छ।
प्रतिक्रिया