काठमाडौं । माओवादीभित्र मन्त्री छनोटका विषयलाई लिएर चरम असन्तुष्टि देखापरेको छ । विशेषगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्र सरकारदेखि प्रदेश सरकारसम्ममा आफ्ना हनुमानहरूलाई समावेश गरेपछि चरम असन्तुष्टि देखिन थालेको छ । त्यसैकारणले अहिलेसम्म मन्त्रीहरूको छनोट गर्न माओवादीले सकेको छैन । केन्द्र सरकारको मन्त्रिपरिषद्मा दाहालले अब वर्षमान पुन, बिना मगर, चन्द्रप्रकाश खनाल र शक्ति बस्नेतलाई समेट्ने दाउमा छन् । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएमा माओवादी केन्द्र अब चार मात्र मन्त्री पाउनेछ । अर्कोतर्फ प्रधानमन्त्री केपी ओलीले जनार्दन शर्मालाई सहभागी गराउनका लागि ऊर्जा मन्त्रालय माओवादीको भागमा दिएको बताइएको छ ।
तर अहिले गृह मन्त्रालय लिन मरिहत्ते गरेका वर्षमान पुन ऊर्जा मन्त्रालय लिने दौडमा लागिपरेका छन् । ओलीले भने ऊर्जा मन्त्रालयमा वर्षमानलाई स्वीकार नगर्ने संकेत गरिसकेका छन् । बालुवाटारबाट ऊर्जा मन्त्रालयमा स्वीकार नगर्ने सूचना पाएपछि वर्षमानले एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै हाम्रो नेता केपी शर्मा ओली भन्दै चाकडी गरेका थिए । तर दैनिक पत्रिकामा अन्तर्वार्ता दिँदै ओलीलाई नेता मान्ने भनेपछि पुनसँग प्रचण्डसमेत सशंकित भएको बताइएको छ । यता वर्षमानले मन्त्रालय नपाए फेरि श्रीमती ओनसरी घर्तीलाई सभामुख बनाएर आफू जस्तोसुकै मन्त्रालयमा पनि जान तयार रहेको बताउन थालेको माओवादीभित्र चर्चा छ ।
अर्कोतर्फ प्रचण्डले कुनै पनि हालतमा आफ्नी बुहारी बिना मगरलाई विकासे मन्त्रालयमा पठाएर स्रोतको परिचालन गर्ने तयारीमा रहेका छन् । प्रचण्डको यो जानकारी पाएपछि नारायणकाजी श्रेष्ठले फेरि छैटौं पटक गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने तयारीमा लागेको बताइएको छ । प्रचण्डले नारायणकाजी पक्षका दुई राज्यमन्त्री बनाइदिने तर पोखरेललाई फेरि मन्त्री नबनाउने भनेपछि उनले विद्रोहको धम्की दिएको बताइएको छ । पछिल्लो समयमा वर्षमानले सभामुख र मन्त्रालय मागेर रोल्पाली माओवादीबीचमा भएको सहमति उल्लंघन गरेको समेत आरोप लागेको छ । रोल्पाली माओवादीका बीचमा सभामुखमा कृष्णबहादुर महरालाई, सचेतकमा जयपुरी घर्तीलाई र वर्षमानलाई शक्तिशाली मन्त्रालय लिने सहमति भएको थियो । त्यसैगरी रोल्पाली माओवादीका बीचमा नन्दकिशोर पुनलाई फेरि उपराष्ट्रपतिमा दोहो¥याउने सहमति भएको थियो । तर वर्षमानले फेरि श्रीमती ओनसरीलाई सभामुख बनाउन खोजेपछि रोल्पाली माओवादीहरूसमेत असन्तुष्ट बनेका छन् । बालुवाटार उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओलीले गिरिराजमणि र बिना मगरलाई मन्त्री नबनाउन प्रचण्डलाई आग्रह गरेका छन् ।
यसैबीच, माओवादी अध्यक्ष प्रचण्डको दबाबमा प्रदेश नम्बर ३ मा आफ्ना पूर्व बडिगार्ड युवराज दुलाललाई मन्त्री बनाएकोमा समेत असन्तुष्टि बढेको छ । प्रदेश नम्बर ३ मा मन्त्रीका लागि धेरै सिनियर नेताहरू हुँदाहुँदै दुलालले स्रोत र पैसा संकलन गर्न सक्ने निष्कर्षसहित प्रदेश ३ का माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलको दबाबका प्रचण्डले मन्त्री बनाएको बताएको छ । दुलाल वाईसीएलको उपाध्यक्ष भएको बखत विवादित व्यक्ति हुन् । त्यतिमात्र नभएर अग्नि सापकोटा वनमन्त्री भएको बेलामा उनको स्वकीय सचिव भएर विवादमा आएका थिए । अझ स्थानीय तहको चुनावका बेलामा सूचना संकलनका लागि भन्दै करोडौंको खेल सुरु गरेको समाचार सार्वजनिक भएपछि माओवादीभित्रै भुइँचालो गएको थियो । शालिकराम जमरकट्टेल र दुलाल दुवै विवादित नेता हुन् । दुवैको चंगुलमा परेर प्रचण्डले प्रदेश ३ मा जुनियरलाई मन्त्री बनाएको बताइएको छ ।
प्रतिक्रिया