संघीय संसदमा सांसदहरूको आज शपथग्रहण हुँदैछ । संसद् सचिवालयले दिउँसो ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रियसभाको शपथग्रहण हुने जनाएको छ । प्रतिनिधिसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य महेन्द्र राय यादवले शपथ गराउने छन् भने राष्ट्रियसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ गराउने कार्यक्रम तय भएको छ ।
मातृभाषामा शपथ लिन ४० भन्दा धेरै सांसदले संघीय संसद् सचिवालयमा निवेदन दिएका छन् । सचिवालयले नेपालीबाहेक अरू भाषामा शपथ लिन चाहने निर्वाचित सदस्यलाई शुक्रबारसम्म निवेदन दिन आह्वान गरेको थियो । संघीय संसद्का सदस्यको शपथग्रहण आइतबार दिउँसो तोकिएको छ । संविधानअनुसार शपथग्रहणको तीन दिनअघि कुनै सदस्यले नेपालीबाहेक अरू भाषामा शपथ लिन चाहेमा भाषाको लिखित प्रतिसहित निवेदन दिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादवले बज्जिका भाषामा शपथ लिने भएका छन् । संसद सचिवालयका अनुसार नेपालीपछि सबैभन्दा धेरै सदस्यले मैथिली भाषामा शपथ लिने भएका छन् ।
नेपाली भाषाबाहेक प्रतिनिधिसभामा मैथिली भाषामा उपेन्द्र यादव, महन्थ ठाकुर, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरत्सिंह भण्डारी, राजकिशोर यादव, रेणुकुमारी यादव, दिलकुमारी, मातृकाप्रसाद यादव, इन्दुकुमारी शर्मा र मीनाक्षी झाले शपथ लिनेछन् ।
त्यस्तै, हिन्दी भाषामा शपथ लिन अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, अमृता अग्रहरि, रानी मण्डल र सरित गिरीले निवेदन दिएका छन् । मगर भाषामा ओनसरी घर्ती र वर्षमान पुनले शपथ लिनेछन् भने नेवारी भाषामा राजेन्द्र श्रेष्ठले शपथ लिने भएका छन् । अवधि भाषामा मोहम्मद इस्तियाक राईले शपथ लिनेछन् । भोजपुरी भाषामा प्रदीप यादव, एकवाल मियाँ, रामबाबुकुमार यादव, रामसहाय यादव र हरिनारायणप्रसाद रौनियारले शपथग्रहण गर्नेछन् । थारू भाषामा गंगा चौधरी, शान्ता चौधरी र रेशमलाल चौधरी शपथ लिनेछन् भने तामाङ भाषामा हितबहादुर तामाङले शपथ लिन निवेदन दिएका छन् । उर्दु भाषामा रुहिनाजले शपथ लिनेछन् ।
यस्तै राष्ट्रियसभाका वृशेषचन्द्र लाल, सुरेन्द्रकुमार यादव, प्रमिलाकुमारी र सूर्यनारायण यादवले मैथली भाषामा शपथ लिनेछन् । हिन्दीमा रमेश यादव र बज्जिका भाषामा रामप्रीत पासवान शपथग्रहण गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया