देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 किशुनजीको आज सातौं स्मृति दिवस

देशान्तर

काठमाडौं । किशुनजी अर्थात् कृष्णप्रसाद भट्टराईले आफ्नो पूरै जीवन राजनीतिक आरोहअवरोहमा बिताए । मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत सघर्षको पर्याय नै बने । उनले आफ्नो जीवनमा घात, प्रतिघातहरू खेपे तर, कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमानदारिताको पर्याय बनेका किशुनजी सबैका लागि पथप्रदर्शक बनिरहने छन् । नेपाली राजनीतिका शिखर पुरुष एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको जन्म भारतको बनारसमा भएको हो । उनको बाल्यकाल, शिक्षा र राजनीतिसमेत बनारसबाटै सुरु भएको थियो । उनको जन्म १९८१ पुस कृष्ण एकादशीका दिन भएको हो । बाबु संकटाप्रसादका दुई श्रीमतीबाट ४ छोरा र ५ छोरीमध्ये आमा ललिताका सन्तान हुन्, कृष्णप्रसाद । ६ दशक लामो राजनीतिमा सक्रिय रहेका भट्टराईलाई कांग्रेसका नेता तथा कार्यकर्ताले बोलाउने प्यारो नाम हो– किशुनजी ।

भट्टराईका पुर्खा राजपुरोहितको काम गर्थे । गोर्खाका पुरोहित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति भट्टराई श्री ५ पृथ्वीनारायण शाहसँग काठमाडौंमै आएर दरबारमा पुरोहित भई बसेका थिए । त्यसपछि उनका सन्तान क्रमशः विष्णुहरि, कृष्णलाल, मोदिनीधर, कमलकान्त, विश्वानाथ हुँदै पछिल्लो पुस्ताका सन्तान हुन् संकटाप्रसाद । संकटाप्रसादका चार छोरा नै प्रजातान्त्रिक आन्दोलनमा होमिए । कान्छ कृष्णप्रसाद भने नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा हुन पुगे । ‘राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ’ कृष्णप्रसाद बारम्बार भन्ने गर्थे । त्याग र समर्पणलाई व्यवहारमा नै उतार्ने प्रयास गरेका भट्टराई नेपाली राजनीतिक फाँटमा विरलै रहेका निष्कलंक राजनेता हुन् । १८ वर्षको विद्यार्थी उमेरदेखि नै भट्टराई सक्रिय राजनीतिमा होमिएका थिए । विद्यार्थी कालदेखिनै उनी किशुनजीको नाममा चिनिन्थे । भट्टराईले सक्रिय राजनीतिको जीवन सन् १९४२ को भारतको स्वाधीनताको लागि भएको भारत छोड आन्दोलनमा प्रत्यक्ष भाग लिएपछि सुरु भएको हो । त्यस आन्दोलनमा भाग लिएका कारण उनलाई तत्कालीन अंग्रेज शासकले एक महिनाको जेल सजायसमेत दिएको थियो । सन् १९४७ मा जनवरी २५ मा कोलकातामा उद्घाटन भएको नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्रीमा उनी चुनिए ।

२००६ साल चैत २७ गते जनरल सुवर्णशमशेरले नेतृत्व गरेको प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको कोलकातामा एकीकरण भयो । त्यसपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो । २००६ साल भदौ २६ र २७ गते भारतको बिहार प्रान्तमा विशेष अधिवेशन गरेर प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय लिइयो । भट्टराईलाई सशस्त्र क्रान्तिको नेतृत्वको जिम्मा पार्टीले दिएको थियो । भट्टराई र रुद्र गिरीको नेतृत्वको मुक्ति सेनाले २००६ माघमा उदयपुरगढी कब्जासमेत गरेको थियो । भट्टराईकै नेतृत्वमा रहेको मुक्ति सेनाले जनकपुर, महोत्तरी क्षेत्र पनि कब्जामा लिएको थियो । २००७ सालमा प्रजातन्त्र स्थापनापछि बनारसबाट निस्केको युगवाणी साप्ताहिक र नेपाल पुकारका सम्पादकसमेत भए । उनी नेपाल पत्रकार महासंघको पहिलो सभापति रहेका थिए । भट्टराईको छवि कुशल पत्रकारको रूपमा समेत रहेको छ । उनी नेपाल पत्रकार महासंघको प्रथम सभापतिसमेत बनेका थिए । वि.स २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याई सरकार गठन गरेपछि भट्टराई प्रतिनिधिसभाको पहिलो सभामुखसमेत बने ।

भट्टराईले २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उद्घाटन गरेर विद्यार्थीलाई राजनीतिक आन्दोलनमा सक्रिय बनाएका थिए । २०३४ मा सम्पन्न भएको पटना सम्मेलनमा बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाएका थिए । बीपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास चाक्सीबारी क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुनः कार्यवाहक सभापति चुनिए । कार्यवाहक सभापतिकै रूपमा भट्टराईले डेढ दशक पार्टी नेतृत्व गरे । पार्टीको आठौं महाधिवेशन २०४८ को कलबलबुढी झापाले सर्वसम्मतबाट भट्टराईलाई सभापतिमा निर्वाचित गरेको हो । भट्टराईले २०५३ सम्म सभापतिको पद सम्हालेका थिए । भट्टराईकै सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह र २०४६ को जनआन्दोलनको घोषणा भएको थियो । प्रजातन्त्र पुनस्र्थापना भएपछि उनी पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बन्न पुगे । भट्टराईले त्यतिबेला सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री हुन प्रस्ताव गरेका थिए । तर, गणेशमानले प्रधानमन्त्री अस्वीकार गरेपछि भट्टराई प्रधानमन्त्री बन्न पुगेका थिए । त्यसबेला अन्तरिम संक्रमणकालीन विकट परिस्थितिलाई भट्टराईले सफलताका साथ सम्हालेका थिए ।

भट्टराईले एक वर्षभत्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका सम्पन्न गरेका थिए । उनले आफू पराजित भएर पनि निर्वाचन निष्पक्ष बनाउने भूमिका खेलेका थिए । २०१५ मा गोरखाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचनमा पराजित भएका थिए । उनले २०५६ को आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट पहिलोपटक चुनाव जितेका हुन् । चुनावमा सफलता हासिल गरेको जीवनमा त्यही थियो । त्यतिबेला भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर पार्टी निर्वाचनमा होमिएको थियो । पार्टीले बहुमत ल्याएपछि उनी दोस्रोपटक प्रधानमन्त्री बने । तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्वन्द्व र कलहका कारण एक वर्ष नपुग्दै भट्टराईलाई पदत्याग गर्न बाध्य पारियो ।

स्थापनाकालदेखि नै बीपी, सुवर्णशमशेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गरेका भट्टराई अहिंसात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका थिए । पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएपछि भट्टराई सबैभन्दा दुःखित भएका थिए । पार्टी विभाजनपछि नै उनले सक्रिय राजनीतिबाट विस्तारै विश्राम लिएका हुन् । २०५० उपनिर्वाचनमा पार्टीकै अन्तघातबाट भट्टराईलाई हराएपछि उनलाई त्यतिबेलै पार्टी फुटाउने, उक्साउने नेताहरू धेरै थिए । त्यसका लागि केन्द्रीय समितिमा दुई तिहाइ र संसदीय दलमा ४५ प्रतिशतभन्दा बढी सदस्यको हस्ताक्षरसमेत तयार गरिएको थियो । तर उनले त्यतिबेला भनेका थिए– ‘बरु म मेटिन तयार छु, तर पार्टी फुटाउँदिनँ ।’

राजा ज्ञानेन्द्रले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएपछि पार्टीले गणतन्त्रको लाइन पास ग¥यो । त्यस निर्णय उनलाई मन नपरेपछि उनी पार्टीका गतिविधिमा समेत सामेल हुन छाडे । प्रजातान्त्रिक आन्दोलनका लागि राजाहरूबाटै कठोर यातना पाएका भट्टराई मृत्युपर्यन्त संवैधानिक राजतन्त्रको आफ्नो विचार त्यागेनन् । मुलुक गणतन्त्रमा गइसकेपछि पनि भट्टराईले संवैधानिक राजतन्त्रकै वकालत गरे । जुन विचारका कारण उनी पार्टीको मूलप्रवाहबाट एक्लिन पुगे । आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनको कठिन यात्रामा संघर्ष गरेका भट्टराई । उनलाई २०५४ सालमा मानवअधिकारवादी संस्थाहरूले मानवअधिकार योद्धा शताब्दी पुरस्कार र सम्मान प्रदान गरेका छन् ।