काठमाडौं । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वा्चित सांसदहरुलाई आज प्रशिक्षण दिइने भएको छ । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार पार्न सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् ।
संघीय सांसदहरुको शपथ भोलि हुँदैछ । त्यसकै पूर्वसन्ध्यामा शनिबार दिउँसो ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागिएको एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसद् बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुलाई आज प्रशिक्षण दिन लागिएको जानकारी दिइन् ।
सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ । समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।
प्रतिक्रिया