काठमाडौं । नेकपा एमालेभित्र मन्त्री बन्नका लागि यतिबेलासम्म लिगलिगे दौड जारी रहेको छ । एमालेले पाउने ४ वा ५ वटा मन्त्रालयमा कस्को भाग्य चम्किने हो प्रतिक्षाको विषय बनेको छ । मन्त्रीका आकांक्षी धेरै भएपछि कस्लाई छान्ने भन्नेमा प्रधानमन्त्री ओली यतिबेला दुविधामा देखिन्छन् ।
मन्त्री बन्नका लागि एमालेबाट उपमहासचिव विष्णु पौडेल, सचिव योगेश भट्टराईदेखि नारद मुनी रानासम्म पार्टीभित्रको शक्ति केन्द्र धाइरहेका छन् । अहिलेपनि एमालेका करिब एक दर्जन आकांक्षी नेताको घरदैलो गर्न व्यस्त छन् ।
एमाले स्थायी समितिले शीर्ष नेताहरूसँगको परामर्शमा मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको छ । त्यसअनुसार प्रधानमन्त्री ओलीले एकसरो परामर्श गरिसके पनि प्रादेशिक, लैंगिक, जातीय सन्तुलनसमेत मिलाएर कसरी छनोट गर्ने भन्ने गृहकार्य जारी राखेका छन् ।
जानकार सूत्रका अनुसार प्रधानमन्त्री ओली प्रत्येक प्रदेशबाट मन्त्रीपरिषद्मा प्रतिनिधित्व होस भन्ने पक्षमा छन् । मन्त्रिपरिषद्बाट एमालेबाट अहिलेसम्म प्रदेश नं. १, ३ र ४ को प्रतिनिधित्व भइसकेको छ ।
प्रदेश नं. १ बाट प्रधानमनत्री ओली स्वयं, वातावरण मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन् भने रक्षा मन्त्री ईश्वर पोखरेल प्रदेश नं. ३ का हुन् । यसैगरी महिला, बालबालिका मन्त्री थममाया थापा प्रदेश नं. ४ की हुन् ।
प्रदेश नं. १ बाट धेरैजसो मन्त्री बनिसकेकाले बाँकी मन्त्री अन्य प्रदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको एक एमाले नेताले देशान्तरलाई बताए ।
यसअनुसार अब बाँकी रहेका मन्त्रालयहरुलाई प्रदेश नं २, ५, ६ र ७ बाट कम्तीमा एक एक जना प्रतिनिधित्व गराउन आवश्यक हुन्छ । यसरी प्रतिनिधित्व गराउँदा मधेसी, जनजाति र लैङ्गिक प्रतिनिधित्वको पनि ख्याल गर्नुपर्ने बाध्यता रहेको छ ।
जानकार सूत्रका अनुसार अबको मन्त्रीपरिषद्मा प्रदेश नं. २ बाट रघुविर महासेठ, प्रदेश नं। ५ बाट प्रदीप ज्ञवाली, प्रदेश नं. ६ बाट धनबहादुर बुढा, नवराज रावत र प्रदेश सात बाट प्रेमआले मगरको मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । प्रदेश नं. २ बाट महासेठ मन्त्री बन्दा प्रदेशसँगै मधेसीको पनि प्रतिनिधित्व हुने र मधेसमा संगठन बलियो बन्ने ओलीको बुझाई छ ।
यसैगरी ज्ञवाली यतिबेला ओलीका खास रणनीतिकार एवं सल्लाहकारको भूमिकामा छन् । उनलाई कुनै पनि हालतमा मन्त्री बनाउने पक्षमा ओली छन् । ज्ञवाली मन्त्री बनेमा प्रदेश नं. ५ को प्रतिनिधित्व हुनेछ । प्रदेश नं. ६ बाट भन धनवहादुर बुढा र नवराज रावत मध्ये एकले मन्त्री बन्ने अवसर पाउने स्रोतको दाबी छ ।
यसैगरी प्रदेश नं. ७ बाट भने प्रेम आले मगर र नारदमुनी राना मन्त्री बन्ने दौडमा छन् । स्रोतका अनुसार एमालेभित्र शक्ति सन्तुलनका दृष्टिले प्रेम आले मगरकै सम्भावना बलियो रहेको छ । आले बरिष्ठ नेता माधव नेपाल र अध्यक्ष ओली दुबैको रोजाईमा परेका छन् ।
आले डोटीमा बीरवहादुर बलायर जस्ता कांग्रेसका प्रभावशाली नेतालाई हराएर प्रतिनिधिसभामा पुगेका सांसद् हुन् । कांग्रेस सभापति शेरवहादुर देउवाका दाहिने हात मानिने बलायरलाई आलेले १६३२ मतान्तरले हराएका थिए । त्यतिमात्रै होइन जनजातिको जनसंख्या जम्मा २ प्रतिशत मात्र रहेको डोटीबाट निर्वाचित आले एक्ला जनजाति सांसद् हुन् । उनलाई मन्त्री बनाउँदा सुदुरपश्चिमको एमाले राजनीतिमा सकारात्मक प्रभाव पर्ने बुझाई एमाले नेतृत्वको रहेको छ ।
आलेको प्रतिष्पर्धी मानिएका अर्का सांसद् नारदमुनी राना भने रातो पार्सपोर्ट बेचेको आरोपमा पक्राउ परेका विवादित व्यक्ति हुन् । पहिलो संविधानसभामा एमाले कोटाबाट समानुपातिक सभासद् बनेका रानालाई रातो पासपोर्ट विक्री गरेको आरोपमा २०६८ साल असार २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो । म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले नौ हजार ५ सय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा भए लगत्तै प्रहरीलाई झुक्याउँदै राना फरार भएका थिए ।
वर्तमान मन्त्रीपरिषद् विवादीत, भ्रष्ट र अपराधी मनोवृत्ति बोकेकाहरुलाई ल्याउने पक्षमा ओली नरहेकाले पनि आलेले प्रदेश सातबाट मन्त्रीपरिषद्मा प्रतिनिधित्व गर्ने सम्भावना बलियो बनेको स्रोतले बतयो ।
प्रतिक्रिया