काठमाडौं : खानेपानी तथा ढल सरसफाई विभागका महानिर्देशक तेजराज भट्टले बजेट र योजनाको दुरूपयोग गरी दलका नेता र चुनावमा कार्यकर्तालाई पोसेको रहस्य खुलेको छ । कैलालीमा प्रदेश सभाका नेपाली कांग्रेसका उम्मेदवार हिराचन भट्टका भाई तेजराजले काज सरूवा गरी विभागको बजेट उक्त क्षेत्रमा खर्च गराएको स्रोतले दाबी गरेको छ । त्यस्तै आफू कांग्रेस सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र भएको भन्दै विभिन्न जिल्लाका लागि आएको बजेटको पनि दुरूपयोग गरेको तथ्यहरू फेला परेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको निर्देशक रहँदा अलिकति पनि काम अघि नबढाएपछि उनलाई सरूवा गरी खानेपानी विभागमा तानिएको थियो । तर, उनले उक्त विभागलाई पनि देउवाको आडमा दाजु र कांग्रेस कार्यकर्ता पोस्नेभन्दा अन्य काममा उपयोग नगरेको स्रोतले जनाएको छ ।
खानेपानी विभागको ७५ जिल्लामा रहेका कार्यालयमा आयोजनाका कुनैपनि रकम निकासा नगरी उनी तत्कालिन चुनावमा नेताको चाकरी गर्दै मनलाग्दी खर्च गरी अघि बढेका थिए । तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग रकम निकासा माग गरी आफ्ना दाजु र देउवाको निर्वाचन क्षेत्रमा राम्रोसँग योजना पारेका उनले अन्य जिल्लाका आयोजनाका सवै फाइल समेत रोकेर राखेका छन् ।
सहसचिव भन्दा पनि दलको कार्यकर्ता र नेताको चाकरीमा अभ्यस्त रहने भट्टले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माथाहतमा रहेको कार्यालयबाट १८ करोड निकासा गरी गृहजिल्ला डडेल्धुरामा खर्च गरेका थिए । नेपालका ९० प्रतिशत भन्दा बढि घरधुरीमा शौचालय पुगेको दाबी गर्ने भट्टले सामान्य खानेपानीको व्यवस्था गर्नुपर्ने दायित्वलाई कांग्रेसको चुनावसँग साटेको स्रोतहरूको दाबी छ । सरकार परिवर्तन हुनासाथ खानेपानीमा जारी रहेको रजगजलाई जोगाउन शक्तिकेन्द्रको ढोका चहार्न थालेका भट्टसँग ७० जिल्लाका कार्यालयका प्रमुखहरू रूष्ट रहेका छन् । ‘रकम निकाशा नभएपछि जिल्लामा काम गर्ने वातावरण बनेको छैन । मन लागेको जिल्लामा काम गराइएको छ, अन्यको अवस्था लथालिङ्ग बनाइयो ।’, स्रोतले भन्यो ।
भट्टको कार्यशैलीका कारण सन् २०३० सम्ममा नेपालका सवै जनताको घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य पनि असम्भव बनिसकेको छ । खानेपानीका लागि उनले कुनै पनि कामलाई दात्री निकायले दिएको सहयोगअनुसार अघि बढाएका छैनन् । कार्यालयको काम भन्दा पनि शक्तिकेन्द्रको चाकरीमा बढि ध्यान दिने गरेका भट्टलाई सरकारी योजनामा सरोकार नै नरहेका कारणले माथाहतका विभिन्न जिल्लाका कार्यक्रम र योजनालाई सदर नगरेको गुनासो बढेको छ । अहिले योजनालाई तिव्रताका साथ अघि नबढाए सरकारको लक्ष्य तुहिने अवस्थामा पुग्छ ।
मेलम्ची खानेपानी आयोजना पनि ५ वर्षभित्र काठमाडौं आउनुपर्ने भएपनि उनी निर्देशक रहेको कार्यकालमा नै रोकिएर अझै एक वर्ष पछाडी धकेलिएको हो । भट्टको त्यहाँबाट सरूवा हुनासाथ मेलम्चीको कामले तिव्रता पाएको थियो । विभिन्न बाहनामा फाइल रोक्ने र रकम नभए कामै नगरिदिने शैलीका कारणले अत्यावश्यक खानेपानी आयोजनाका कामहरू प्रभावित हुने गरेको गुनासो जनस्तरमा बढेको छ । कतिपय सेवाग्राहीले समस्या लिएर जाँदा कार्यालयमा समय नदिने र समस्या पनि नसुनिदिने भट्ट भने कांग्रेस र त्यसमा पनि देउवाको सिफारिसमा आएका काम भने फटाफट गर्ने गरेका छन् ।
प्रतिक्रिया