सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। दिउँसो १ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन्।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा मतदान गर्न आग्रहसहित प्रस्वात पेश गरेका हुन् ।
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले सबै मिलेर कर्णाली प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताए। उनले सत्तापक्ष र प्रतिपक्षको रुपमा नभई समृद्ध प्रदेश बनाउने दायित्व सबैको भएकाले हातेमालाे गर्दै अघि बढ्ने भनाइ राखे।
मुख्यमन्त्री शाहीले प्रस्ताव पेश गरेसँग त्यसमा छलफल सुरु भएको छ। छलफलपछि उठेका विषयमा मुख्यमन्त्री शाहीले जवाफ दिनेछन्। उनले जवाफ दिएपछि संसदमा लिखित रूपमा मतदान हुनेछ।
मतदानमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् २१ मत प्राप्त भए उनी मुख्यमन्त्रीमा पक्का हुनेछन्। यदि पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिनेछन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्नेछैन।
कर्णाली प्रदेशमा सभामुख बाहेक ३९ जना सांसद छन्। कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सांसदको समर्थन भए मात्र बहुमत पुग्छ। प्रदेशसभामा सभामुखबाहेक एमालेका १९ जना र माओवादी केन्द्रका १३ जना सदस्य छन्। दुवै दलको कुल सिट सदस्य संख्या ३२ छ।
मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहेकाले संसदमा दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने देखिन्छ। माओवादी संसदीय दलका नेता शाही फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रतिक्रिया