काठमाडौं । कांग्रेसले संसदीय दलको बैठक आगामी शनिबारका लागि डाकेको छ।
कार्यसम्पादन समितिको बैठक स्थगित गर्दै कांग्रेसले शनिबार संसदीय दलको बैठक बस्ने निर्णय गरेको हो। बिहीबारका लागि बोलाइएको कार्य सम्पादन समिति बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
कांग्रेसको संसदीय दलको नेता चयन र कार्य समिति गठनका लागि विधानमा परिमार्जन गर्नुपर्ने बाध्यता छ। विधान संशोधनका लागि कार्यसम्पादन समिति बैठक बोलाइए पनि मुख्य एजेन्डा संसदीय दलको नेता चयन नै रहेको थियो।
आगामी शनिबार बस्ने कांग्रेसको संसदीय दलको बैठकले दलको नेता चयनका बिषयमा औपचारिक छलफल गर्नेछ। साथै संसदीय दलको कार्यसमिति गठनका लागि विधान संशोधनको निर्णय समेत गर्नेछ।
दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान नेतृत्वबाट पार्टी सञ्चालन हुन नसक्ने भन्दै नेता सिंहले देउवाको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्। आफू निकट नेताहरुसँग छलफल गर्दै सिंहले संसदीय दलको नेतामा देउवासंग प्रतिस्पर्धा गर्दै आफू एक्लै अगाडि बढ्न खोजेको सन्देश दिन चाहेका छन्।
कांग्रेसले आगामी १३ गते केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ठूलो पराजय बेहोरेपछि कांग्रेसभित्र संस्थागत परिवर्तनको आवाज चर्को रुपमा उठ्न थालेको छ।
केन्द्रीय समिति बैठकपछि कांग्रेसले संसदीय दलको नेताको निर्वाचनको मिति तय गर्ने तयारी गरेको छ। संसद अधिवेशन आगामी फागुन २१ गते बस्दैछ।
प्रतिक्रिया