देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, को बन्ला संसदीय दलको नेता ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले भोलि कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बैठक बस्नेछ।

कांग्रेस नेता प्रकाशशरण महतले विधान संशोधनका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको बताए। २९ सदस्यीय कांग्रेसको कार्यसम्पादन समितिको भोलिको बैठकमा संसदीय दलको नेता चयनबारे छलफल गर्नुका साथै संसदीय दलको कार्यसमिति गठन सम्बन्धमा विधान संशोधन गर्ने एजेण्डा तय गरिएको छ।

बैठकले संविधानसभा अनुसार रहेको संसदीय दलको विधानलाई प्रतिनिधिसभा अनुसार परिमार्जन गर्नेछ। कांग्रेस स्रोतका अनुसार, विधान संशोधनका लागि बैठक बोलाइए पनि मुख्य एजेण्डा संसदीय दलको नेता चयनबारेको छलफल नै हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक २१ गतेका लागि आह्वान गरेपछि कांग्रेस संसदीय दलको नेता चयनमा जुटेको हो।एमाले र माओवादी केन्द्रले पार्टी अध्यक्षलाई संसदीय दलको नेता चयन गरिसकेका छन्।

कांग्रेसभित्र संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले दाबी गरेका छन्। दलको नेता चयनमा सर्वसम्मति जुटाउन पहलस्वरुप देउवाले भोलि संसदीय दलको बैठक बोलाएको कांग्रेसका एक नेताले बताए।

तर, कांग्रेस सभापतिलाई सर्वसम्मत रुपमा दलको नेता चयन हुन नदिने भन्दै अर्का नेता प्रकाशमान सिंहले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। महामन्त्री शशांक कोइरालाले भने सर्वसम्मत हुने अवस्थामा मात्र आफू दलको नेता बन्ने बताएका छन्।