भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस भर्खरै गएको छ । अंग्रेजी महिनाको फेब्रुअरी १४ तारिखका दिन मनाइँदै आएको यो दिवसलाई अहिले विश्वभर नै मनाउन थालिएको छ । पछिल्लो समय नेपालीहरूले समेत यस दिवसलाई बाक्लै मनाउन थालेका छन्, विशेषगरी युवापुस्ताले । ‘प्रेम’ शब्द परिभाषामा बाँध्न सकिने शब्द हो जस्तो लाग्दैन । यस शब्दले बोकेको विशालतालाई केही शब्द वा वाक्यमा संकुचित गर्न सकिँदैन जस्तो लाग्छ । तर हामी जबर्जस्त यस शब्दलाई संकुचित बनाउँदै आफ्नो अनुकूल व्याख्या र परिभाषा गरिरहेका छौँ ।
प्रेम हरेक जीवन÷जीवात्माका लागि अपरिहार्य कुरा हो । कसैले प्रेमलाई ‘वाहियात’ भन्छ भने त्यो सर्जक हुन सक्दैन, मानव हुन सक्दैन र हृदयहीन हुन्छ । निर्जीव वस्तु मात्र हो प्रेम नहुने । जसमा चेतना छ, त्यसमा प्रेम छ ।
हो, हरेक सर्जकमा प्रेम हुन्छ । प्रेम नभई सिर्जना हुन सक्दैन । तर हामीकहाँ अचेल केही सर्जक प्रेमलाई तुच्छ वस्तु ठान्छन् । मानौँ कि प्रेमसम्वद्ध सिर्जना गर्नु सर्जकको अपराध हो झैँ ठान्छन् । उनीहरूलाई लाग्छ– दुनियाँमा प्रेमभन्दा पर धेरै कुरा छन् र ती कुरा मात्र सिर्जनामा आउनुपर्छ । यस्ता लेखनलाई उनीहरूको शब्दमा ‘प्रगतिशील’ वा ‘माक्र्सवादी’ साहित्य भनिन्छ ।
कुरो प्रेमलाई कति संकुचित बनाउने भन्ने मात्र हो । प्रेम हरेकले गरेको हुन्छ । बुबाआमाले सन्तानलाई गर्ने प्रेम, साथीले साथीलाई गर्ने प्रेम, एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने प्रेम, एउटी श्रीमतीले श्रीमान्लाई वा श्रीमान्ले श्रीमतीलाई गर्ने प्रेम, प्रेमीले प्रेमिकालाई वा प्रेमिकाले प्रेमीलाई गर्ने प्रेम वा यस्तैयस्तै अनेकले अनेकलाई गर्ने प्रेमभित्र हार्दिकता, आत्मीयता, कोमलता, सद्भाव र एक प्रकारको समर्पण अवश्य हुन्छ । श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमिकाबीच बाहेकका अन्यमा हुने प्रेममा काम वासना वा प्रणय कामना हुँदैन । यसर्थ ‘प्रेम’ शब्द सुन्नेबित्तिकै तीन हात माथि उफ्रिएर ‘क्रान्तिकारी’ वा ‘प्रगतिवादी’ हुनुको तुक हुँदैन ।
अर्को कुरा, प्रणय कामना वा कामवासनासहितको प्रेम पनि जीवनको अभिन्न पक्ष हो । सृष्टिको निरन्तरताका लागि, नयाँ जीवनको रचनाका लागि त्यो आवश्यक छ । यसर्थ हरेक व्यक्तिसँग प्रेमका अनेक रूप छन्, अथवा भनूँ काम वासनारहित र काम वासनासहित प्रेम हरेक व्यक्तिमा निहित छ । यसर्थ सर्जकले त्यसलाई लुकाउन चाहेर पनि सक्दैन, चाहे जतिसुकै आदर्शका गफ गरोस्– माया, पिरतीका कुरा कुण्ठा हुन्, वाहियात हुन् भनेर ।
अँ, सन्दर्भ टाढा जानै पर्दैन । हिजोअस्ति वा केही दशकअघि मात्र ‘क्रान्ति र परिवर्तन’का मात्र गफ गर्नेहरूका ‘सांस्कृतिक विचलन’ नामका हर्कत बाहिर आएकै हुन् । यस्तामा ती प्रेमलाई तुच्छ ठान्ने ‘सर्जक’ पनि पर्छन् । अनि कतिपयले त्यही सन्दर्भमा ‘क्रान्तिकारी विवाह’ गरेर ‘देखाइदिएका’ पनि हुन् । यसले के देखाउँछ भने आखिर ‘क्रान्तिकारी र प्रगतिवादी’मा पनि प्रेमभाव हुँदोरहेछ, प्रणय कामना र वासनाको चाहना हुँदोरहेछ ।
सर्जकको हात बन्दुक र बम बोक्नका लागि होइन, कलम बोक्न हो । कलम बोक्नेले विद्रोह बोल्छ, परिवर्तन ओकल्छ तर विनाश गर्दैन । यसर्थ हृदय भएको व्यक्ति मात्र सर्जक हो, सर्जक निर्माता हो, निर्माता प्रेमको अनुयायी हो । हामीकहाँ नयाँ जोगीको कथा जस्तो भएको छ साहित्यमा प्रेम । एकातिर सांस्कृतिक विचलनका ‘आरोप’ खेपिरहने, एकभन्दा बढीसँग ‘प्रेम सम्बन्ध’ राखेकामा ‘गर्व’ गरिरहने अनि साहित्य र सिर्जनामा प्रेम वाहियात हो भनिरहने प्रवृत्ति बाक्लै देखिन्छ । यसबाट त्यस्ता सर्जकहरूको ‘पाखण्ड’ मात्र प्रष्टिन्छ, कुनै आदर्श देखिँदैन । व्यवहारमा एकथोक र सिर्जनामा अर्कोथोक असल र इमानदार सर्जकका लागि सुहाउँदैन ।
वास्तवमा सिर्जना जीवनकै प्रतिबिम्ब हो । समाज र व्यक्तिका भोगाइ र अनुभवकै प्रतिछाया हो सिर्जना । र, समाजमा, व्यक्तिमा नै निहीत छ– प्रेम । प्रेम तुच्छ वस्तु कहिल्यै थिएन र होइन । पवित्र, आनन्ददायक, विशाल कुरा हो प्रेम । प्रेमलाई कसरी सिर्जनामा प्रस्तुत गर्ने भन्ने कुरा मात्र प्रमुख हो । प्रेमभित्रका छट्पटी, आवेग, खुसी, आशा, निराशा, अपेक्षा आदि सिर्जनामा आउने हुन् ।
यदि प्रेमलाई साहित्य नमान्ने हो भने यतिका दर्शन, उपनिषद्, कला, सिर्जना कसरी सम्भव भयो र ती कसरी लोकप्रिय भए ? आज पनि किन माया पिरतीकै गीत ÷गजल सुन्न हामी बढी लोभिन्छौं ? किन प्रेमका दुःखान्त र सुखान्त पक्षका खोजीमा हामी छौँ ? यसर्थ जीवनका सिर्जना गर्नुपर्छ भन्नेले जीवनकै महत्वपूर्ण पाटो प्रेमलाई बेवास्ता गर्नु तथाकथित आदर्श मात्र हो ।
प्रतिक्रिया