एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता वर्षामान पुनको बैंकक भ्रमणसँगै दरार सुुरु भएको एमाले–माओवादी केन्द्रबीचको एकतामा दुवै नेताको भ्रमणको चाँजोपाँजो मिलाउने एक जना पात्र निर्णायक हुने अवस्था देखिएको छ । चुनावलगत्तै पार्टी एकता गर्ने भन्दै चुनावमा होमिएका एमाले र माओवादीबीचको एकतामा तिनै पात्रको कारण समस्या देखा पर्न थालेको र गाँठो फुकाउने सूत्र पनि सोही पात्रको हातमा रहेको स्रोतले बतायो ।
पछिल्लो समयमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बीचमा भएका वान टु वान वार्तामा पदीय भागबन्डा पनि मिलेको समाचार सार्वजनिक भएका थिए । तर कतै माओवादीले सहयोग गर्दैन कि भन्ने आशंकामा हतारमा सांसद पदको शपथ बिना नै प्रधानमन्त्री बनेका ओलीको सरकारमा माओवादी सहभागी नभएपछि दुई पार्टीबीचको एकतामा नयाँ रहस्यहरू बाहिर आउन थालेका हुन् ।
स्रोतका अनुसार केपी ओली चुनावपछि उपचारका नाममा बैंकक पुगेर भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का प्रतिनिधिलाई भेटेलगत्तै प्रचण्डले गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई प्रयोग गरेर माओवादी नेता वर्षमान पुनलाई विदेशी शक्ति केन्द्र मिलाउनका लागि बैंकक पठाइएको थियो । ओली बैंककबाट फर्केलगत्तै बैंकक पुगेकावबर्षामानसँग पनि ओलीले नै भेटेका रअका प्रतिनिधिहरूले भेटेका थिए । हुन त ओलीको बैंकक भेटघाटको प्रबन्ध पनि महतोले नै गरेका थिए । भारतीय स्वामित्वमा रहेको युटिएल सञ्चालनको जिम्मा पाएका महतो अहिले वर्षमानलाई अर्थमन्त्री बनाउने तयारीमा लागेका छन् । तर अहिले एमाले अर्थ मन्त्रालय आफंैसँग राख्ने तयारी गरिरहेको छ ।
एमाले उच्च स्रोतका अनुसार अहिले एमाले अध्यक्ष ओलीलाई ‘रअ’ले वर्षमानमार्फत प्रचण्डलाई के सन्देश पठायो भन्नेमा खुल्दुली जागेको छ । त्यसैगरी माओवादीभित्र भने उपेन्द्र महतोले अहिलेको सरकारमा वर्षमानलाई शक्तिशाली मन्त्रालय अर्थसहित सरकारमा पठाउने र पार्टी एकता हुन नदिइकन एमाले माओवादी फुटाएर प्रचण्डलाई एउटा निश्चित समयपछि प्रधानमन्त्री बनाउने योजना बुनेको बताइएको छ । यूटीएल सञ्चालनको जिम्मा पाएपछि नेपालको राजनीतिमा प्रभाव पार्न रअले प्रयोग गरेको पात्र महतो भएको बताइन्छ ।
माओवादी नेता वर्षमान पुन र उपेन्द्र महतोका कारण अहिले पार्टी एकतामा संकट आएको एमाले नेताहरूको बुझाइ छ । केही एमाले नेताहरू त दुई पार्टीको एकताका निर्णायक शक्ति उपेन्द्र महतो बन्दै गएको निष्कर्षमा पुगिसकेका छन् ।
प्रतिक्रिया