काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाइ निर्वाचन आयोगमा बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
समानुपातिक सूचीमा खस–आर्य (पुरुष)तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् । त्यस्तै, खस–आर्य (महिला)तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् ।
आदिवासी–जनजाति (पुरुष)तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन भएको सचिव रिजालले बताए । आदिवासी–जनजाति (महिला)तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा छन् । मधेसी (पुरुष)मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला)तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन भएका छन् ।
त्यस्तै, दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन भएका छन् भने दलित (महिला)तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् । थारू (पुरुष)तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला)तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी छन् । त्यस्तै, मुस्लिम (पुरुष)मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला)तर्फ सर्वतआरा खानम चयन भएको उनले जानकारी दिए ।
गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कुल २३ स्थानमा विजयी कांग्रेसबाट कुनैपनि महिला निर्वा्चित हुन सकेका थिएनन् । त्यस्तै, माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल १३ स्थानमा विजयी भएको कांग्रेसका ६ महिला विजयी भएका थिए । कानुनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ । त्यसैले कांग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।
पार्टीले सोमबारै सो नामावली आयोगमा बुझाएको छ । आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिकरुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेस गरिएको नामलाई समावेशिताको आधार मिलाएर सोमबारसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो । आयोगकाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६र६ स्थान प्राप्त गरेका छन् । नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा (तीनजना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ ।
प्रतिक्रिया