काठमाडौं । नेपाल पत्रकार महासंघ तदर्थ शाखा अस्ट्रेलियाले गत बिहीबार देशान्तर मिडिया प्रालिका अध्यक्ष एवं प्रधानसम्पादक कविर राणाको सम्मानमा एक कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रधानसम्पादक राणा वानका वरिष्ठ उपाध्यक्ष कुमार भट्टराई र अनलाइन एसोसिएसनका महासचिव अमृत पन्थीलाई पनि सम्मान गरिएको थियो ।
शाखाका संयोजक नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष हेमन्त काफ्लेको सभापतित्वमा सञ्चालित कार्यक्रममा एनआरएन आईसीसी सदस्य दिनेशराज जोशी, एनआरएनका पूर्व युवा संयोजक विजय पोख्रेल, एनआएरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, पूर्वआईसीसी सदस्य, बालचन्द्र भट्टराई, पुराना पत्रकार डिल्ली ढकाल, एमडीएफका उपाध्यक्षद्वय सुरेन्द्र सापकोटा र पूर्णराज घिमिरे, पत्रकारहरू मनऋषि धिताल, माधव गैरे, कृष्ण तिवारीलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो । उहाँहरूले नेपालमा रहेर गर्दाको पत्रकारिता र विदेशमा रहँदा गर्ने पत्रकारिताको फरक अनुभव सुनाउनुभएको थियो । अन्तरक्रियाको रूपमा आयोजित सो कार्यक्रममा सहभागी सबैले पत्रकारितामा जिम्मेवारिताको प्रश्न गम्भीर रूपले उठाएका थिए । त्यसमा पनि पछिल्लो समयमा अनलाइन पत्रकारितामा देखिएको उच्छृंखलता र गैरजिम्मेवारीपनको खुलेर आलोचना गरेका थिए ।
अन्तरक्रियामा सहभागी सबैको जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि प्रधानसम्पादक कविर राणाले नेपालको पत्रकारिताको इतिहास जनआन्दोलन २०४६ पछिको पत्रकारिताको विकास र विस्तार र वर्तमान अवस्थामा देखिएको विद्युतीय पत्रकारिता र विशेषत अनलाइन पत्रकारिताको गैरजिम्मेवारीपन र उच्छृंंखलताको बारेमा सहभागी सबैलाई प्रस्ट हुने गरी जवाफ दिनुभएको थियो । राणाले २०४६ सालभन्दा पहिलेको पत्रकारिता मिसन पत्रकारिता मात्र भएको २०४६ पछिको प्रेस स्वतन्त्रता र प्रजातन्त्रको विकासले व्यावसायिक पत्रकारिता चलिरहेको यसैबीचमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा व्यावसायिक पत्रकारिता भन्नेहरूले मुख लुकाएको र फेरि मिसन पत्रकारिता सुरु भएको र अहिले प्रविधिको उच्चतम विकासका कारण अनलाइन पत्रकारिता र फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालले गैरजिम्मेवार र जवाफदेहीविहीन समाचार सम्प्रेषण गर्ने गरेको र नेपालमा यस्तो पत्रकारिता नियमन र कारबाही गर्ने निकाय कमजोर भएकोले उच्छृंखलता बढेको बताउनुभएको थियो । जसबाट अन्तरक्रियामा सहभागी सबै सन्तुष्ट रहेका थिए ।
प्रतिक्रिया