चुनाव सकिएको दुई महिना बितिसक्दा पनि एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले ठोस आकार लिन सकेको छैन नि, किन होला ?
विचारको कुरा र संगठनका केही विषयमा अझै गम्भीर छलफल गर्नुपर्ने अनि सिद्धान्त र संगठनको विषय अलि व्यवस्थित गर्नुपर्नेछ । त्यसैगरी राष्ट्रियसभा र प्रदेश सरकारको प्रक्रिया टुंगो लगाउनुपर्ने भएकाले केही ढिला भएको हो । हामी चुकेका छैनौं । छिटोभन्दा छिटो एकता होस् भन्ने वामपन्थी जनमतको चाहना छ । हामीले पनि त्यही चाहेका छौं । तर ठूला दुईवटा वैचारिक, राजनीतिक दलहरूबीच कतिपय मतभिन्नताहरू छन् । ठूला दलबीचको संरचना एकीकृत गर्नु सानो काम होइन । त्यसैले ढिलो भन्न मिल्दैन । हाम्रो चाहना र लक्ष्य चाहिँ सरकार गठनभन्दा अघि नै एकीकृत पार्टीको घोषणा गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेका छौं । तर प्रक्रिया पूरा भएपछि आउने समयमा सरकार गठन त गरिहाल्नुपर्छ । पार्टी एकता जस्तो केही ढिला गरौँ भनेर हुँदैन । पखौं हामी पार्टी एकताको काम सक्छौं अनि सरकार बनाउँला भनेर त भएन । यस्तो स्थितिमा सरकार गठन र पार्टी एकतालाई एकैसाथ अगाडि लैजाने हो ।
पार्टी एकताको लागि भनेर दुई महिनाभन्दा बढी समय व्यतित भइसकेको छ तर पनि एकताका लागि घनिभूत छलफल नै चलाउनुभएन नि ?
हामीले सरकारभन्दा पहिले नै पार्टीं एकता गरौं भन्दै आएका छौं । सरकार गठनअगावै पार्टी एकता गर्दा धेरै शंकाहरू उठेका छन्, ती विषयहरू त्यत्तिकै हल हुन सक्छन् भन्दै आएका छौं । अहिले जसरी पाँचवर्षे स्थायी सरकारको विषयमा शंका उत्पन्न हुन थालेको छ । हिजो हामीले जनतासमक्ष जाँदा वामपन्थीको स्थायी सरकारको विषय पनि उठाएका थियौं । स्थायी सरकारका बारेमा उठेको शंका पनि सरकारभन्दा पहिले पार्टी एकता हुँदा निवारण हुन्छ । अहिले पनि संघीय सरकार गठन र पार्टी एकता प्याकेजमा गरौं भन्ने नै हो ।
वैचारिक विषय सैद्धान्तिक विषय पनि बाँकी छन् भन्नुभयो, के अझै दुई पार्टीका विषयमा सैद्धान्तिक र वैचारिक विषय पनि टुंगो नलागेको हो ?
दुईवटा पृष्ठभूमि भएका पार्टी, दुईवटा आन्दोलनको जग भएका पार्टी अनि तलसम्म नै दुईवटा फरक प्रवृत्ति भएका पार्टीहरूबीचको एकता त्यति सजिलो छैन । यो पनि ढिलाइको एउटा कारण हो । एकताको मुख्य आधार भनेको नै वैचारिक विषय हो । विगतमा हामीले लिएका विचार छोड्ने अनि अर्को पार्टीको विचार सिद्धान्त सम्पूर्ण रूपले मान्नुलाई पार्टी एकता भनिँदैन । त्यो विलय हो । त्यसैले एउटा पार्टीले लिएका विचार मान्नुपर्छ भनेर प्रेसर दिनु दबाब दिने सम्भावना रहन सक्दैन । त्यही कारणले अब भनेको नयाँ पार्टी निर्माण हो । एमाले र माओवादी बीचमा एकतामात्रै होइन । यो नयाँ पार्टी निर्माण प्रक्रिया हो । समाजवादमा पुग्ने कार्यनीति र रणनीतिसहितको नयाँ पार्टी निर्माण हो । मुलुकले माग गरेको सुशासन समृद्धिका आधारमा समाजवादमा पुग्ने मार्ग चित्रलाई आधार बनाएर पार्टी एक भयो भने त्यो नयाँ पार्टी निर्माण हुन्छ । हामीले गर्न खोजेको पनि त्यही हो । हामीले सोचेको कुरा नयाँ विचार नयाँ मार्गचित्रसहित नयाँ पार्टी निर्माणका लागि पार्टी एकता हो । यिनै विषयमा छलफल जारी छ ।
तपाईंको भनाइको मतलव नयाँ विचार र नयाँ आधारमा नयाँ कम्युनिस्ट पार्टी बनाऔं भन्ने माओवादीको धारणा हो ? यसमा एमाले नेताहरू कतिको सहमत हुनुहुन्छ त ?
अहिले कुरा भइरहेको छ । उहाँहरूले पनि एकताभन्दा दायाँबायाँ गर्ने भन्ने कुरा त गर्नुभएको छैन । एकता भाँडिने विषयका कुराहरूले एमालेका मित्रहरूले पनि गर्नु भएको छैन । एकतालाई असर पर्ने कुनै पनि प्रस्तावहरू राख्नुभएको छैन । तर पनि भावनात्मक विषय पनि महत्वपूर्ण हुन्छ । भावनात्मक विषयलाई हामीले पनि उठाएका छौं र उहाँहरूले पनि उठाउनुभएको छ । विगतको पृष्ठभूमि भावनासँग जोडिन्छ । विगतमा हामीले लिएको विचार र उहाँहरूले लिएको विचार विगतको पृष्ठभूमिका कारण भावनात्मक रूपले केही असर गर्छ कि भन्ने शंका पनि दुवै पक्षमा छ । अहिले भइरहेको छलफललाई थाती राख्ने विषयमा सोचेका छैनौं । एकता जनताबाट अनुमोदन भइसकेको छ । यसलाई कसैले पनि दायाँबायाँ गर्ने अवस्था छैन ।
सैद्धान्तिक रूपमा मध्यमार्गी धार के हुन सक्छ ?
अहिले पथप्रदर्शक सिद्धान्तको रूपमा माक्र्सवाद लेलिनवादलाई मानेर जान सकिन्छ । दुईटै दलले यसलाई साझा रूपमा मानेका छन् । अहिले माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा नराख्ने र जबजलाई पनि पथप्रदर्शक सिद्धान्तका रूपमा नराख्ने तर छलफलमा राख्ने । दुईवटै विषयमा बहस र छलफल गरेर जे निष्कर्ष निकाल्न सकिन्छ, त्यसलाई सबैले मान्ने । हामी समाजवादको रणनीतिक लक्ष्यमा सहमत छौं । कार्यनीतिक रूपले शान्तिपूर्ण रूपमा नै सरकार बनाउने । यो मूल राजनीतिक कार्यनीतिमा हामी सहमत छौं । नौलो जनवादी क्रान्ति त हामीले छोडिसकेका छौं । जनवादी क्रान्तिमा छैनौं भनेर त एमाले र हाम्रो पार्टीले निष्कर्ष निकालिसक्यो नि । त्यसकारण नयाँ जनवादी क्रान्ति वा जनवादी क्रान्तिको कुरा त सिद्धियो ।
पार्टी एकताका लागि दुई पार्टीको नेतृत्वको व्यवस्थापनको विषयमा पनि टुंगो लाग्न बाँकी होला त्यो कसरी हुन्छ ?
अहिले पार्टीको विचार र सैद्धान्तिक पाटोका बारेमा पार्टी एकता संयोजन समितिमा छलफल भइरहेको छ । दुवै पार्टी दुई शीर्ष नेतृत्व तहमा समेत छलफल भएको छ । अझै पनि दुई पार्टीका तल्लो तहसम्म दुवै पार्टीका शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरूसम्मले आत्मसाथ गर्नका लागि केही विषयहरू अझै बहस र छलफलमा लैजानुपर्ने भएकाले यस्ता विषयमा मिहिन ढंगले छलफल भएजस्तो लाग्दैन । केन्द्रीय सरकार, प्रदेश सरकार तथा राष्ट्रियसभाको चुनावले केही ढिलाइ भएको हो । अब केन्द्रीय सरकारको टुंगो लगाउने विषयलाई हामी अब घनीभूत ढंगले हामी छलफल गर्छौं ।
तपाईंले भनेजस्तै प्रदेश सरकारको विषय टुंगो लगाई सक्नुभयो, तर पार्टी एकताका विषयमा किन मिहिन ढंगले छलफल चल्न नसकेको हो नि ?
पार्टी घोषणा भइसकेको अवस्थामा एउटा विषय आउँथ्यो । तर राष्ट्रियसभाको सिट बाँडफाँड अनि मुख्यमन्त्रीको चयनको कामलाई प्राथमिकतामा राखेको हो । अनि फेरि एकता संयोजन समितिमा रहनुभएका हाम्रो पार्टीका नेता रामबहादुर थापा बादल पनि राष्ट्रियसभामा उम्मेदवार हुनुहुन्थ्यो । यसले पनि पार्टी एकताको छलफलमा केही बाधा भयो । पार्टी एकता टुंगो लगाउने गरी अब छलफल अगाडि बढ्छ । अब केन्द्रको सरकार निर्माण प्रक्रियासँगै पार्टी एकता अगाडि बढाउँछौं । किन टुंगो लागेन भन्दा बहस र छलफल जारी रहेकाले टुंगो नलागेको हो । दुई पार्टीका बीचमा कतिपय विषयमा अझै पनि अविश्वास छ । त्यो अविश्वासलाई हटाएर विश्वासको वातावरण बनाउन पनि आवश्यक छ ।
एमाले र माओवादीका बीचको एकता प्रक्रिया अलि पारदर्शी ढंगले भइरहेको छैन । यतिसम्मका आधार तयार गरियो भन्ने पनि भन्न सक्नुभएको छैन ?
छलफल सरकारको नेतृत्व राज्यको नेतृत्वको व्यवस्थापन पार्टीको नेतृत्वको व्यवस्थापनका विषयमा नै छलफल भइरहेको छ । अर्को भनेको माओवादीले लिएको २१औं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवाद दुवै सिद्धान्त एउटाले चाहिँ छोडेको होइन है भन्ने देखाउनु भएन । सिद्धान्तमा पनि दुवैको जित भएको देखाउने गरी सहमतिको खोजी भइरहेको छ ।
अहिले टुंगो लगाउन बढी समस्या भएको सैद्धान्तिक विषय हो कि नेतृत्वको व्यवस्थापन हो ?
दुवै हो । तर, पनि नेतृत्वको तत्काल व्यवस्थापन मुख्य विषय हो । दुई शीर्ष नेताहरूको व्यवस्थापन, अहिले सिनियर साथीहरूको व्यवस्थापन त्यसैगरी केन्द्रीय समितिमा रहनुभएका साथीहरूको व्यवस्थापन अहिले मुख्य विषय हो । यो विषय महत्वपूर्ण हो ।
एकता हुँदा दुई पार्टीका मुख्य गरी दुई अध्यक्षबीचमा पदीय भागबण्डा कसरी मिलाउनुहुन्छ ?
सबै माहोल हेर्दा, जनमत हेर्दा कमरेड केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो भने त्यो अनौठो हुँदैन । हामी त्यही दिशातिर गइरहेका छौँ । औपचारिक रूपमा टुंगो नलागे पनि ओलीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढी छ । किनभने संसद्को ठूलो दल एमाले भएकाले स्वाभाविक प्रधानमन्त्री केपी ओलीजी हो । स्वाभाविक रूपमा जसरी ओलीलाई वामपन्थी कार्यकर्ताले प्रधानमन्त्रीको रूपमा हेरिरहेका छन्, त्यसैगरी ओलीले प्रधानमन्त्री पद सम्हाल्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व सम्हाल्नु पनि स्वभाविक नै हो । पार्टी एकता संयोजन समितिमा व्यवस्थित रूपमा छलफल भइरहेको छ । अध्यक्षद्वय प्रचण्ड र ओलीको बीचमा पनि छलफल भइरहेको छ । हामी कुनै न कुनै सहमति गरेर समाधान खोज्छौं । पदीय भागबन्डाको विषयमा दुई पार्टीबीचको नेतृत्वले नै छिनोफानो गर्छ । एकता संयोजनक समितिले पनि यस विषयमा छलफल भइरहेको छ । यदि होइन पार्टी महत्वपूर्ण ठान्ने हो भने ओलीजीले पार्टीको नेतृत्व लिने प्रचण्डलाई सरकारको नेतृत्व दिने पनि अस्वाभाविक हुन्न । दुईमध्ये एउटा नेतृत्व नभए त पार्टी विलय भएको सन्देश जान्छ । पार्टी विलय होइन एकले अर्काको अस्तित्वबोध गरेर एकता भएको सन्देशका लागि त यो आवश्यक छ । साँच्चै एकताको सन्देश दिनका लागि यस्तो सन्देश दिनुपर्छ । एकताको औचित्य पुष्टि गर्नका लागि पनि सरकार र पार्टीको नेतृत्व बाँडफाँड हुनुपर्छ ।
चुनावमा ६०–४० प्रतिशत भागबन्डा भएको थियो, अहिले राष्ट्रियसभाको चुनाव र प्रदेश सरकारमा गठन गर्दा त्यो भागबन्डाको आधार ७०–३० बन्यो । अब पार्टी एकता हुनलाई पनि यही आधार भयो नि ?
यो प्रतिशतमा भाग लगाउने होइन । एकता गर्ने हो भने प्रतिशतको बिलो लाग्दैन । नेपालको वामपन्थी आन्दोलनलाई व्यवस्थित गर्नका लागि हो भने मात्रै एकता हुन्छ । भाग लगाउने हो भने किन एकता आवश्यक भयो ? समाजवाद स्थापनाका लागि एउटा कम्युनिस्ट पार्टी निर्माण गर्ने हो । यसरी भागबन्डा लगाउने हो भने पार्टी एकताको दिशामा जान सक्दैनौं । कस्ले कति मत पायो भनेर प्रतिशत भाग लगाउन थाले पार्टी एकतातर्फको बाटोमा जान समस्या हुन्छ । हिजो कुनै समयमा माओवादी ठूलो पार्टी थियो । आज एमाले ठूलो पार्टी छ । भोलि के हुन्छ त्यही कारणले कस्ले कति भोट पायो भनेर प्रतिशतमा भाग लगाउँदा पार्टी एकता हुन सक्दैन । पार्टी एकताको आधार यो प्रतिशत होइन । हिजो जनआन्दोलन गरेको एमाले जनयुद्ध गरेको माओवादीका बीचमा एकता हो । दुई पार्टीका बीचको आधार यी पार्टीले गरेको योगदानलाई बनाउनुपर्छ ।
केही दिनअगाडि एमाले उपाध्यक्ष वामदेव गौतमले एकता प्रक्रिया गम्भीर मोडमा पुगेको बताउनुभयो । भारतीय विदेशमन्त्रीको आगमनपछि पार्टी एकता गम्भीर मोडतर्फ जान लागेको हो ?
होइन विश्लेषण त्यसरी हुन थालेको छ । तर पार्टी एकता भनेको नेपालका दुईवटा कम्युनिस्ट पार्टीका बीचमा हुने हो । अरू कसैले गरिदिने होइन । दुई पार्टीले आन्तरिक रूपमा छलफल गरेर टुंगो लगाउने हो । यो हाम्रो आन्तरिक काम हो । हाम्रो देशभक्तिको एक थोपा रगत रहेसम्म यो हुन दिनु हुँदैन भन्ने मेरो धारणा हो ।
अहिले तपाईंले भन्नुपर्दा पहिलो पार्टी एकता कि सरकार गठन हुन्छ ?
मैले पहिले पनि भनेँ यी दुवै विषय एकैसाथ अगाडि लैजानुपर्छ । तर दुवैलाई एकैसाथ लैजान समस्या छ । तर इच्छाशक्ति भए सम्भव छ । भविष्यमा यदि एकता भएन भने पनि वामपन्थी सरकार भने अवश्य बन्छ ।
अहिलेसम्म त एकताको खाका नै देखिएन । दुवै दलमा धेरै नेताहरू छन् । पदीय भागबन्डामा हलो अड्कियो भने के हुन्छ ?
हामीले धेरै जिम्मेवारीपूर्वक सोचेर पार्टी एकताको कुरा गरेका हौं । देशलाई के दिने भन्ने कोणबाट हामीले एकता गर्ने निर्णय गरेका हौं । निश्चित रूपमा नेता कार्यकर्ता सबैको व्यवस्थापन हुनुपर्छ । एकताले सबै नेता कार्यकर्तालाई उत्साहित र ऊर्जाशील बनाउन सक्नुपर्छ । तर मुख्य कुरा देशको आवश्यकता वामपन्थी सरकार र त्यसलाई नेतृत्व गर्ने एकीकृत कम्युनिस्ट पार्टी । त्यसैले जतिसुकै जटिलता र चुनौती भए पनि हामी निष्कर्षमा पुग्छौं । छलफल गर्दैछौं । हामीसँग केही खाका नै नभएको पनि होइन । तर दुईवटै पक्षमा घनीभूत छलफल गरेर छिट्टै निष्कर्षमा पुगिन्छ भन्ने आशा छ । एमालेका केही शीर्ष नेताहरूले नै भन्दै आएका छन् नि जबजलाई मानेर मात्रै माओवादी केन्द्रसँग एकता हुन्छ । नत्र हुँदैन । मैले माथि नै भनिसकेँ । दुई पार्टीका बीचमा एकता हुँदा मेरो चाहिँ सिद्धान्त विचारमा सहमत हुनुपर्छ भनेर प्रेसर गरेर दबाब दिन मिल्दैन । यसो हुँदा पार्टी एकता कसरी हुन्छ । यो त विलय हो । माओवादी केन्द्रले अपनाएको माओवाद एमालेले मानिदिन्छ भन्ने सोचेर हामी एकता प्रक्रियामा आएका होइनौं । बहस, अध्ययन गर्दै संश्लेषणको विकास गर्दै हामी जान चाहन्छौं । त्यसैगरी एमालेले पनि जबजको बारेमा पनि त्यही होला । एउटा सकारात्मक पक्ष छ । माओवाद एमालेले मान्दैन । तर विश्वका धेरै माक्र्सवादी, लेलिनवादी पार्टीभन्दा एमाले फरक छ । माक्र्सवादी, लेलिनवादी पार्टी के भन्छ भने माओवादको योगदानलाई निषेध गर्नुपर्छ, माओलाई मान्न सकिँदैन । तर एमालेले त्यसो भन्दैन । एमालेले पथप्रदर्शक सिद्धान्तका रूपमा माओवाद मान्दैन । तर माओ कम्युनिस्ट आन्दोलनको नेता हो र माओका कतिपय शिक्षालाई आत्मसाथ गर्नुपर्छ भन्छ । त्यस्तै हामीले पनि जबजको सिद्धान्तका बारेमा पनि हाम्रो मान्यता के हो भने यसलाई नेपाली क्रान्तिको मौलिक र पथप्रदर्शक सिद्धान्तका रूपमा मान्न सकिँदैन । तर जबजका कतिपय पक्षहरूको बारेमा हाम्रा समान धारणा छन् । त्यसैले हामी एउटा सहमतिमा पुग्छौं ।
प्रतिक्रिया