काठमाडौं । राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई सोमबारसम्म समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूको सूची बुझाउनका लागि दलहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगको पत्रचारसँगै राजनीतिक दलहरूले आयोगले तोकेको क्लस्टरअनुसार सांसदहरूको सूची तयार पार्नका लागि जुटेका छन् । यो सँगै नेपाली कांग्रेस पनि आफूले समानुपातिकतर्फ पाएको सिटमा सांसदको सूची तयार पार्न जुटेको छ ।
कांग्रेसका भागमा समानुपातिकतर्फ ४० सिट प्राप्त भएको छ । जसमा २० जना अनिवार्य रूपमा महिला पठाउनुपर्नेछ । निर्वाचन आयोगले यसपटक गरेको व्यवस्थाअनुसार क्रमसंख्याअनुसार सांसदहरूको सूची आयोगमा पठाउँदा कांग्रेस केन्द्रीय समितिको निर्णय भने उल्लंघन हुने भएको छ । नेपाली कांग्रेसले निर्वाचन अगाडि एक पटक समानुपातिक तर्फबाट सांसद भएकामध्ये सुजाता कोइरालाबाहेक अरू कसैलाई समानुपातिकबाट सांसद नबनाउने निर्णय गरेको थियो । तर क्रमसंख्याअनुसार नाम पठाउँदा अवसर नपाएका भन्दा पटकपटक अवसरको उपयोग गरेका समानुपातिकतर्फ सांसद हुने भएका छन् ।
कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकमा दोहोरिने मात्र होइन तेहरिने अवसर समेत केही भाग्यमानीले पाउने भएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद् बनेका मोरङका कविताकुमारी सरदार र धनुषाकी मीनाक्षी झाले तेस्रो पटक सांसद् बन्ने अवसर प्राप्त गर्दैछन् । सरदार र झा २०७० को संविधानसभा निर्वाचनमा समेत समानुपतिक सभासद् बनेका थिए ।
यसैगरी दोहोरिएर समानुपातिकको सुविधा उपयोग गर्न पाउनेमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा, कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, दीपशिखा शर्मा ढकाल, लक्ष्मी परियार र सुजाता परियार रहेका छन् ।
बन्द सूचीअुनसार खसआर्य महिलामा सुजाता कोइराला, पुष्पा भुसाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा सांसद बन्नेछन् । आदिवासी जनजाति क्लस्टरबाट बन्दसूचीमा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनोट हुनेछन् ।
यस्तै, दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नेछन् । त्यस्तै, मधेसी कल्स्टरबाट सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा सांसद बन्नेछन् । थारू कोटाबाट पार्वती डीसी चौधरी वा सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पिछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्नेछन् ।
कांग्रेसले पठाउने पुरुषतर्फका १९ बालकृष्ण खाँड, दीलेन्द्रप्रसाद बडू, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहनप्रसाद पाण्डे र अनन्तराम भट्ट, आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ जिपछिरिङ लामा, दलित क्लस्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् ।
त्यस्तै, मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् । थारू कोटाबाट पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पिछडिएको क्षेत्रबाट अछामका रामबहादुर विष्ट सांसद बन्नेछन् ।
प्रतिक्रिया