काठमाडौं २७, माघ । प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले आज आफ्नो सभामुख र उपसभामुख चयन गर्दैछ ।
हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो । सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङ्गको नाम तय भएको छ । कांग्रेसले भने सभामुख र उपसभामुख दुवैजनाको विपक्षमा मतदान गर्ने तर आफ्नो उम्मेद्वार भने नउठाउने बताएको छ ।
प्रदेश नम्बर ७ को सभामुखको चयन पनि आज नै हुँदैछ । ७ नम्बर प्रदेशको सभामुखका लागि वाम गठबन्धनका तर्फबाट एमालेका अर्जुनबहादुर थापालाई सभामुखको उम्मेदवार बनाउने तय भएको छ । आज हुने सभामुख र उपसभामुखको चुनावका लागि बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने प्रदेश ३ का प्रदेशसभा सचिवालयका डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आज अपराह्न ५ बजेपछि निर्वाचित सभामुखलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथग्रहण गराउने र त्यसपछि पदभार ग्रहण हुनेछ ।
प्रतिक्रिया