वीरगंज । गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पर्साका दुई जनालाई बितरण गर्ने निर्णय भएपछि पर्साका पत्रकारहरु बीच विवाद चर्किएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा माघ २३ गते बसेको कार्य समितीको बैठकले सो निर्णय गरेपछि विवाद सुरु भएको हो ।
सो बैठकले २०७३ को लागि सर्वराष्ट्रिय दैनिकका पत्रकार महेशचन्द्र गौतमलाई र २०७४ को लागि रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहलाई दिने निर्णय गरेपछि पर्सा जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
पुरस्कार दिने व्यक्तिको नाम छनौट गर्न नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष सत्रुधन नेपालको संयोजत्कवमा अनुप तिवारी र भुषण यादव रहेको ३ सदस्यीय पुरस्कार सिफारिस समिती नेपाल पत्रकार महासंघ पर्साले गठन गरेको थियो । सो समितीले ति दुवै पत्रकारहरुको नाम सार्वजनिक गरेपछि पर्सामा क्रियाशिल पत्रकारहरुले व्यापक असन्तुष्टि जनाएका छन् ।
हरेक वर्ष पर्सा जिल्लाका क्रियाशिल पत्रकारहरुलाई रु २५ हजार पुरस्कार दिने निर्णय नेपाल पत्रकार महासंघ पर्साको भएतापनि वर्तमान नेतृत्वको उदासिनताको कारण एकै पटक दुइटै पुरस्कारको घोषणा गरिएको थियो । तर पुरस्कृत व्यक्तिको नाम सार्वजनिक भएलगत्तै पर्सा जिल्लाका युवा पत्रकारहरुले विद्रोह गरेका छन् । उनीहरुको प्रतिक्रिया जस्तातस्तै-
राजाकुमार पटेल, प्रतिक दैनिक
यो पुरस्कार क्रियाशिल पत्रकारको नाउँमा मालिक पत्रकारहरुलाई दिइएको छ । अहिले जसलाई पुरस्कार दिइएको हो । उहाँहरु कुनै बेलामा सक्रिय भएका होलान तर अहिलेको परिवेशमा कसैले के बेचिरहेको छ त्यो सबैलाई थाहा छ । रोटाबेटर र थ्रेसर बेच्नेलाई पर्सा जिल्लाको क्रियाशिल पत्रकारिता पुरस्कार दिनु कतिको जायज हो ? यसको मुल्यांकन हुनुपर्छ ।
क्रान्ति साह, अन्नपुर्णपोष्ट राष्ट्रिय दैनिक
यो पुरस्कार दिने समितिले विवेक प्रयोग गरेको देखिएन । पुरस्कार दिने भनेको व्यक्तिको कामबाट प्रभावित भएर अझ ऊ आफनो जोश जांगर देखाएर भविष्यमा राम्रो काम गरोस् भन्ने हिसाबले पुरस्कार दिनु पर्ने हो । तर यो पुरस्कार मालिक पत्रकारहरुलाई दिइएकोले श्रमजिवी पत्रकारहरु दुःखित भएका छन् । एउटा रेडियोको मालिकलाई र एउटा पत्रिकाको प्रकाशकलाई पुरस्कार दिइएकोले पर्साका क्रियाशिल पत्रकारहरु दुःखी भएका छन् ।
जितेन्द्र साह, टि.भी. पत्रकार
साहु पत्रकारहरुलाई पुरस्कार दिनु छ भने उनीहरुको नाउँमा पुरस्कार दिएको भए हुन्थ्यो । जो पत्रकार दिनरात धुवाँधुलो खाएर पत्रकारिता गरिरहेका छन् । उनीहरुलाई क्रियाशिलको परिभाषामा नराखी मालिक पत्रकारहरुलाई क्रियाशिलको नाउँमा पुरस्कार दिनु नाजायज हो । म प्रेस चौतारीको बफादार भएतापनि सही कामको लागि बगावतमा उत्रेको छु । अरु क्रियाशिल पत्रकार साथीहरु पनि यसको विरोध गर्न जरुरी छ । नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार क्रियाशिल पत्रकारलाई नदिएर मालिक पत्रकारहरुलाई दिएकोमा युवा पत्रकारहरु विरोधमा उत्रिएका छन् । क्रियाशिल पत्रकारको नाउँमा पुरस्कार बुझ्न खोज्ने पत्रकारहरुले यो पुरस्कार फिर्ता गर्नुपर्छ ।
सफल खतिवडा, सदस्य, नेपाल पत्रकार महासंघ, पर्सा
वीरगंजमा साहु महाजनहरु नै क्रियाशिल पत्रकारिता पुरस्कार पाउने भएपछि फिल्डमा खट्ने पत्रकारहरुको काम नै भएन । यहाँ सबै कुरा पत्रकार महासंघको चुनावलाई हेरेर गर्ने प्रवृति बढेको छ । यो पुरस्कार पनि आगामी चुनावलाई मध्य नजर राखी वितरण गरिएको हो । मसँगै ध्रुव साह नेपाल पत्रकार महासंघको सदस्यता पाएका हुन । म उनीभन्दा बढी क्रियाशिल छु । तर म आफु यो पुरस्कारको दावी गर्दिन । तर धेरै युवा पत्रकारहरु पर्सामा सक्रिय छन् उनीहरुलाई बाइपास गरेर मालिक पत्रकारहरुलाई यो पुरस्कार दिइएकोमा हामी युवाहरु दुःखी भएका छौ ।
निरज पिठाकोटे मगर, युवा पत्रकार
गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार यस पटक जुन वितरण गरिएको छ । यसले स्वर्गीय गोपाल गिरीको आत्मालाई पनि दुःखाएको होला । क्रियाशिल पत्रकारलाई दिनुपर्ने पुरस्कार मालिक पत्रकारहरुलाई दिएर दुनो सोझ्याउने काम भएको छ । यो पुरस्कारको घोषणापछि पर्सामा कार्यरत पत्रकारको मनोबल खस्केको छ ।
प्रतिक्रिया