देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्ञानेन्द्रलाई मूर्ख बनाउँदैछन् भारतीय जोगीहरू !

देशान्तर

काठमाडौं । हिन्दु धर्मप्रति प्रतिबद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अत्यन्त निकटस्थ सहयोगी एवं सरकारमा तेस्रो स्थानमा रहेकी प्रभावशाली मन्त्री सुषमा स्वराजलाई नेपाल पठाएर कम्युनिस्ट पार्टीका नेताहरूलाई भेटेर निकट भविष्यमा एमालेको नेतृत्वमा बन्ने वामपन्थी सरकारलाई भारतको तर्फबाट पूर्ण सहयोग हुने कुरामा आश्वस्त तुल्याउँदै उक्त सरकार गठनपछि नेपालमा स्थिरता र विकासको युग सुरु हुने विचार व्यक्त गरेको देख्दादेख्दै भूतपूर्व राजा ज्ञानेन्द्र शाह भने भारतले नेपाललाई ‘हिन्दु अधिराज्य’ बनाउँदै राजतन्त्र पुनस्र्थापना गरिदिने भारतका केही जोगीहरूले दिएको आश्वासनमा भर परेर भोलि (सोमबार) त्यता जाँदैछन् । नेपाली राजाहरूको महत्वाकांक्षा उचालेर दरबारबाट निरन्तर लाभ उठाइआएका शंकराचार्यलगायतका त्यस्ता जोगीहरूले ज्ञानेन्द्रलाई असम्भव सपना देखाएर यही २६–२७ गते उडिसाको पुरीमा विशेष पूजा गराउँदै छन् । जगन्नाथ पुरीका शंकाराचार्यले पद पाएको २५औं वार्षिकीको सन्दर्भमा आयोजित कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहयोगले निम्ता प्राप्त भएकाले उनी त्यता जान लागेका हुन् । हेक्का रहोस् ज्ञानेन्द्र हालै मात्र सोल्टी होटेलको उद्घाटन गर्न नेपालगन्ज गएको बेला गोरखपुर गएर योगी आदित्यनाथसँग विशेष मन्त्रणा गरेका थिए ।

भारतका योगी, शंकाराचार्य र स्वामीहरूलाई रिझाउने राजदरबारको नीति पहिलेदेखि नै रहिआएको हो । खासगरी राजा महेन्द्रले २०१७ सालमा सैन्यबल प्रयोग गरी लोकतन्त्रको हत्या गर्दै आफ्नो नेतृत्वमा निरंकुशतन्त्र स्थापना गरी नेपाललाई संसारको एक मात्र हिन्दु अधिराज्य घोषणा गरेकोलाई भारतको सरकार र राजनीतिक दलहरूले समर्थन नगरे पनि केही जोगी र महन्थहरूले स्वागत गरेपछि उनीहरूलाई दरबारले पोस्न थालेको हो ।

हिन्दु धर्मले राजालाई विष्णुको अवतार मान्ने गरेकोले राजा महेन्द्रले बडो चतुरताका साथ देशलाई हिन्दु अधिराज्य घोषित गरेका थिए । उता भारतका सन्त–महन्थहरूले भने हिन्दु धर्मप्रतिको आफ्नो आस्था र विश्वासका कारण नेपालप्रति स्नेह र सद्भाव व्यक्त गरेका थिए । तर निरंकुश राजाका लागि लोकतान्त्रिक देशबाट यति सद्भावना पाउनु मात्र पनि ठूलो सहारा बनेको थियो । त्यसैले उनले भारतका हरेक तीर्थस्थलहरूमा गई त्यहाँका महन्थ र शंकाराचार्यहरूसग सम्पर्क बढाउनुका साथै भारतबाट नेपाल आउने साना–ठूला, प्रतिष्ठित–बदनाम जुनसुकै प्रकारका गेरुवाधारीहरूलाई आफैं भेटेर पनि विशेष सम्मान प्रदान गर्ने नीति बनाएका थिए । यस्ता कतिपय साधु सन्तहरूलाई राजदरबारभित्रै राजारानीले आदरपूवर्क सम्मान व्यक्त गर्थे । सम्मानसँगसँगै उनीहरूलाई बहुमूल्य उपहारसमेत प्रदान गरिन्थ्यो । यसको पैचो तिर्न तथा यताबाट सधैंभरि सम्मान र उपहार प्राप्त गरिरहन त्यस्ता साधु, सन्त र शंकाराचार्यहरूले सम्बन्धलाई निरन्तरता दिनुका साथै केही मठमा नेपालका राजालाई विशेष सम्मान दिइने रणनीतिसमेत बनाए । यो नीति अहिले पनि कायम छ । त्यसैले महेन्द्रपछि वीरेन्द्र र ज्ञानेन्द्रले पनि मानसिक तनाव भएको एवं कुनै सहाराको आवश्यकता भएको बेला त्यस्ता मठमन्दिरमा गएर मनको इच्छा व्यक्त गर्ने, शंकराचार्यको आशीर्वाद माग्ने तथा उपहार प्रदान गर्ने क्रम जारी नै राखे । यतिखेर नेपालमा न राजतन्त्र छ, न ज्ञानेन्द्र राजा नै छन् । यो तथ्यसँग भारतीयहरू अनभिज्ञ छैनन् । त्यसैले अब राजतन्त्र फर्किने कुनै सम्भावना उनीहरूले पनि देखिरहेका छैनन् ।

राजतन्त्रलाई निलम्बन गरेर संविधानसभाको निर्वाचन गरेपश्चात् जनताले आफ्ना प्रतिनिधिमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छन् । देश संविधानसभाले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्दै पूर्ण गणतन्त्रको युगमा प्रवेश गरेको छ । जनताले दुईजना राष्ट्रपति निर्वाचित गरिसकेका छन् । गणतन्त्र स्थापना भएपश्चात् एकजना पिछडिएको जातिका सामान्य परिवारका व्यक्ति (डा. रामवरण यादव) ले राष्ट्राध्यक्ष हुने मौका पाए भने उनको कार्यकाल समाप्त भएपछि जनताले महिला (विद्या भण्डारी) लाई यो गरिमामय स्थानमा निर्वाचित गरे । ठूलो त्याग तपस्या र बलिदानपछि प्राप्त गरेको आफ्ना छोराछोरी राष्ट्राध्यक्षसम्म हुन सक्ने अधिकारलाई जनताले कदापि छोड्ने छैनन् । वर्तमान संविधानमा कतिपय त्रुटि र अस्पष्टता भए पनि लोकतान्त्रिक गणतन्त्र मामिलामा कुनै विवाद छैन । यो व्यवस्थालाई संविधानको अपरिवर्तनीय स्थानमा राखिएको छ । आफूलाई राजतन्त्रको वारेस ठान्ने कमल थापा प्रवृत्तिलाई जनताले हालैको चुनावमा संसद्भित्र टेक्नसमेत दिएनन् ।

नेपाली जनता अब २०१७ सालका जनता रहेनन् । भारत सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्दै दिने गरेका कैयौं दबाब जनताको बलमा राजनीतिक दलहरूले ठाडै अस्वीकार गर्ने गरेका छन् । मुलुक गणतन्त्रको दिशामा तीव्र वेगमा अघि बढेको बेला अहिलेभन्दा झन्डै एक दशकअघि भारतले विशेषदूत (डा.करण सिंह) पठाई राजतन्त्रलाई विस्थापित नगर्न दिएको दबाब प्रमुख राजनीतिक दलहरूले एकमतका साथ अस्वीकार गरिदिएको जगजाहेर छ । त्यसबेला भारतमा कांग्रेस आईको सरकार थियो । राजावादीहरूले भारतमा कांग्रेस आईको नभएर भारतीय जनता पार्टीको सरकार बनेको भए राजतन्त्र सुरक्षित रहने आशा गरेका थिए । त्यही आशामा उनीहरूले भाजपालाई चुनाव जिताउन आफ्नो तर्फबाट सक्दो सहयोग गरे । उक्त चुनावपश्चात् भाजपा पूर्ण बहुमतका साथ सत्तासीन भयो । भाजपाका नेताहरूले नयाँ संविधानको सन्दर्भमा विभिन्न प्रकारका सुझाव र दबाब दिए । तर राजालाई पुनस्र्थापना गरियोस् भन्ने कुरा त्यहाँका कुनै पनि दल, नेता र सरकारले भनेनन् । संविधान जारी हुनुभन्दा केही समयअघि भारतले विशेष दूत नै पठाएर तत्काल संविधान जारी नगर्न दबाब दिएको सर्वविदित छ । त्यसबेला भारतले दिएको सुझावमा पनि राजतन्त्रबारे कुनै उल्लेख थिएन । स्पष्ट छ, राजा र राजतन्त्रको चिन्ता कुनै भारतीयलाई छैन । भारतीय जनता तथा त्यहाका प्रबुद्ध वर्ग र हिन्दु धर्मावलम्बीहरूको राजा वीरेन्द्रप्रति केही स्नेह र सद्भावना थियो ।

तर वीरेन्द्रको हत्या र वंश विनाशले त्यस्ता भारतीयहरूलाई अत्यन्त दु:खी तुल्याउनुका साथै उक्त काण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूप्रति घृणा र आक्रोशसमेत देखिन्छ । ज्ञानेन्द्र परम्पराभन्दा भिन्न प्रकारले राजा बनेका तथा सत्ता प्राप्त हुनासाथ जनताको अधिकार खोस्ने, लोकतन्त्रको हत्या गर्ने तथा आफ्ना स्वार्थ र सुविधा हेर्ने गरेकाले उक्त लोकतान्त्रिक देशका कसैले पनि उनीप्रति हृदयदेखि सम्मान गर्न सकिरहेका छैनन् । अर्थात् नेपालमा राजतन्त्रको पक्षमा न त्यहाँका जनता छन्, न त राजनीतिक दल, न त सरकार नै ।

नेपालमा ज्ञानेन्द्रसँग शक्ति, सम्पत्ति र समर्थक केही छैन भन्ने कुरासँग सबै भारतीय परिचित छन् । साधु, सन्त र शंकराचार्यहरूलाई पहिलेका राजाहरूले जस्तो उपहार दिने बानी पनि यिनको छैन । आफ्नो घर भाडामा लगाएर लोकतान्त्रिक सरकारले दिएको नागार्जुनको भवनमा आश्रय लिएर बसेको तथ्यले मात्र पनि उनी आर्थिक मामिलामा कति कञ्जुस र लोभी रहेछन् भन्ने स्पष्ट गरेको छ । यस परिवेशमा पनि केही भारतीय जोगीहरू उनको भावना र महत्वाकांक्षा भड्काएर मूर्ख बनाउने चेष्टा गरिरहेका छन् । नेपालप्रति विशेष मोह र अनुराग राख्ने योगी आदित्यनाथको पुख्र्यौली जरो गोरखा भएको र उनी गोरखनाथ सम्प्रदायका अनुयायी भएकाले उनले नेपालको राजाप्रति सामान्य सद्भावना राख्नु अस्वाभाविक होइन । मुख्य मन्त्री योगीले ज्ञानेन्द्रको पीडा र मानसिक तनाव कम गर्न बेलाबेलामा सान्त्वनाको रूपमा मीठा शब्दहरू व्यक्त गर्दै सम्मान दिने गरेका छन् । नेपालको संविधानमा धर्म निरपेक्ष लेखिएको र हिन्दु राष्ट्र कायम नगरिएकोमा अधिकांश नेपाली जनता तथा हिन्दु धर्मका अनुयायी भारतीयहरूसमेत सन्तुष्ट छैनन् । तर उनीहरू यो नेपालको आन्तरिक मामिला भएकोले नेपाली जनताले नै यसलाई आवश्यक परेको बेलामा सच्याउनेछन् भन्ने धारणा राख्दछन् । तर पुरीका शंकराचार्यले पठाएको निमन्त्रणामा ज्ञानेन्द्रलाई परम्परा झैं ‘महाराजाधिराज’ भनी लेखिएको कारणले उनी आफू साँच्चै नै राजा बनेको तथा छिट्टै राजतन्त्र स्थापना हुने सपना देख्दै त्यता दौडिनु आत्मरति र मूर्खता नै सावित हुनेछ ।