देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेशसभाको पहिलो बैठक: सातवटै प्रदेशमा यस्तो छ तयारी

देशान्तर

काठमाडौं । देश संघियतामा गएपछि पहिलो पटक प्रदेशसभाको पहिलो बैठकको तयारी तिब्र बनाईएको छ । प्रदेह प्रमुख , मुख्यमन्त्री र मन्त्रहरु बस्ने मन्त्रालयको तयारी सातै प्रदेशमा भईरहेको छ । तर, बैठक बस्ने समय नजिकिदै जादा बैठक हलको तयारी भने पुरा नहुने सम्भावना बढ्दै गएको छ ।

प्रदेश १ 

प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको छ । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको हो ।

एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुने छ । प्रदेश १ मा एमालेका ५१, काँग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका १ र स्वतन्त्र १ गरी ९३ सांसद छन् ।

प्रदेश २ 

जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ ।

यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए । बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ ।

जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शैक्षिक तालीम केन्द्रको रुप नै परिवर्तन गरिँदैछ । भवनहरु रंगरोगन गर्ने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार र सरसफाइका कारण रुप पहिलेको भन्दा फरक देखिएको हो ।

बैठकका लागि भवन रंगाउने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार, सरसफाइको तदारुकताका साथ भइरहेको छ ।

जनकपुर चुरोट कारखाना लिमिटेड ९जचुकाली०को कभर्ड हललाई स्थायीरुपमा प्रदेश सभा भवनका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । जचुकालीको भवन जीर्ण रहेको र मर्मतसम्भार गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि शैक्षिक तालीम केन्द्रलाई उपयोगमा ल्याउन लागिएको धनुषाका प्रजिअ दिलीप चापागाईंले बताए ।

प्रदेश २ मा एमालेका २१, काँगेसका १९, माओवादीका ११, संघीय समाजवादी फोरमका २९, राजपाका २५, नेसस पार्टीका १ र स्वतन्त्र १ गरी १०७ जना प्रदेश संसद छन् ।

प्रदेश ३ 

माघ १८ गते प्रदेशसभाको बैठक बस्ने भएको छ। प्रदेश प्रमुख अनुराधा कोइरालाले मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा बस्नेगरी बैठक आह्वान गरेकी छिन् ।

दिउँसो १ बजे बस्ने बैठकको तयारी भइरहेको छ। बैठकको औपचारिक जानकारी दिन यहाँ आइतबार सार्वजनिक सूचना जारी गरिएको थियो ।

यहाँ एमालेका ५८, काँग्रेसका २१, माओवादीका २३, राप्रपाका १, विवेकशिल साँझाका ३, नयाँ शक्तिका १, नेमकिपा २ र राप्रपा प्रजातान्त्रिक १ गरी ११० जना सांसद छन् ।

प्रदेश ४ 

यहाँ माघ २२ गते प्रदेशसभाको बैठक बस्ने तय भएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्नेगरी बैठक आह्वान गरेका छन् । बैठक बिहान ११ बजे बस्नेछ। बैठकबारे आइतबार औपचारिक सूचनामार्फत जानकारी दिइएको छ।

प्रदेश ४ मा एमाले, कांगे्रस, माओवादी केन्द्र, जनमोर्चा र नयाँ शक्ति नेपाल गरी पाँच दलको प्रतिनिधित्व छ । ६० दस्यमध्ये एमालेका २७, कांगे्रसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सदस्य रहेका छन् । निर्वाचन परिणाम आएको २० दिनभित्र संसद् बस्नुपर्ने नियम भएकाले सोहीअनुसार बैठक बस्न लागेको हो ।

प्रदेश ५ 

प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालय सचिव सनतकुमार दवाडीले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्नेछ।

यो प्रदेशमा एमाले ४१, काँग्रेस १९, माओवादी २०, संघीय समाजवादी फोरम ५, राजपा १, राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् ।

प्रदेश ६ 

यहाँ पनि माघ २१ गते नै बस्नेछ । ६ नम्बरको बैठक वीरेन्द्रनगरस्थित सिचाई डिभीजनको कार्यलयमा बस्नेछ । दलहरूबीच जिल्ला समन्वय समितिको भवन वा सिँचाइ डिभिजनको कार्यालयमा पहिलो अधिवेशन बस्ने भन्ने विवाद थियो ।

प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाका अनुसार प्रदेश सभाको स्थायी भवन शैक्षिक जनशक्तिको तालिम केन्द्रमा तोकिए पनि अहिले अस्थायी भवन भने सिँचाइ डिभिजन कार्यालयबाट सञ्चालन भइरहेको छ ।

यहाँ एमालेका २०, काँग्रेस ६, माओवादी १३, राप्रपा १ गरी ४० सांसद छन् । प्रदेश ७ स् माघ २१ गते बैठक बस्ने भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदेशसभा बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ।

प्रदेश सभाकी ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछिन् । प्रदेश सभामा जम्मा ५३ सदस्य रहेका छन्, जसमा एमाले २५, काँग्रेस १२, माओवादी १४ र राजपाका २ सांसद छन् ।