काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले मंगलबार सहिद दिवसको अवसर पारेर काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
प्रदर्शनीमार्गमा अवस्थित विश्वभाषा क्याम्पसमा बिहान ८ वजेबाट आयोजित रक्तदान कार्यक्रममा मध्यान्ह १२ बजेसम्म ५२ जना विद्यार्थी र विद्यार्थी नेताहरुले रक्तदान गरेको महामन्त्री सरोज थापाले जानकारी दिए ।
यसअघि आन्तरिक विवादका कारण गुटगत रुपमा कार्यक्रम गर्दै आएका नेविसंघका पदाधिकारीहरुले यस पटक भने एउटै कार्यक्रममा सहभागिता जनाएका छन् । रक्तदान कार्यक्रममा नेविसंघभित्रको असन्तुष्ट पक्ष महामन्त्री कुन्दनराज काफ्ले निकट र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने उपाध्यक्ष उर्मिला थपलिया समूहका विद्यार्थी नेताहरु पनि सहभागि भएका छन् ।
यसअघि नेविसंघभित्र रहेका असन्तुष्ट समूहले पार्टीको संस्थापन पक्ष निकट रहेका अध्यक्ष नैनसिंह महरको निर्णयमा आयोजना हुने हरेक कार्यक्रमसँग जुध्ने गरी समानान्तर कार्यक्रमहरु गर्दै आएका थिए ।
प्रतिक्रिया