देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातन्त्रवादी लेखक यसो भन्न सक्छन् ?

देशान्तर

‘प्रगति’ शब्द हरेक मानव जातिका लागि प्रिय शब्द हो । मानवजीवन यसकै लागि संघर्षरत छ । जीवनका हरेक पक्षमा सकारात्मक सुधार, समृद्धि, प्राप्ति नै प्रगति हो । यी कुरा हरेक मानिसका रोजाइ हुन् ।

मानव स्वभावैले नयाँ कुरा, नयाँ चिज, नयाँ प्राप्तिको अपेक्षा गर्छ । र, ती कुराहरू उसका जीवनका लागि उपयोगी हुन् । उसको जीवनमा सकारात्मक प्रभाव पार्ने हुन् । जीवनलाई व्यवस्थित, सरल र सहज बनाउने हुन् । यस्ता कुराहरूको प्राप्तिको चाहना नै मानिसको संघर्षको मूल कारक हो । यसैका निम्ति मानिस अनेक दुःख, समस्या, पीडा भोग्न पनि तयार हुन्छ ।

तर, यही ‘प्रगति’ शब्द पछिल्लो समय बढी राजनीतिक बन्दै गएको छ । प्रगति शब्द केही राजनीतिक विचारधाराबाट प्रभावित वा ती विचारधाराका अनुयायीहरूको मात्र पेवा हो भन्ने ठानिन्छ । ती विचारधारा इतरकाहरू, मानौं कि यथास्थितिवादी हुन् वा प्रतिगामी अथवा गवाँरहरू हुन् भन्ने गलत र संकीर्ण धारणा रहेको पाइन्छ । यस्तो धारणाका कारण कुनै एक राजनीतिक विचारधाराका स्रष्टाहरू ‘महान्’ भनिइरहिएका छन्, चाहे उनीहरूले नारा वा प्रशंसा वा स्तुति मात्र किन नलेखून् साहित्यका नाममा । तर इतरका स्रष्टाहरू सधैं मारमा परेका छन्, उनीहरूले जतिसुकै स्तरीय वा प्रभावकारी सिर्जना गरे पनि ।

आखिर के छ यसका पछाडि ? प्रस्ट छ, राजनीतिक वाद वा राजनीतिक विचारको दम्भ । माथि भनिएको ‘प्रगति’ शब्दमा ‘शील’ प्रत्यय जोडेपछि बन्ने शब्द ‘प्रगतिशील’ अहिले नेपाली साहित्यमा निकै चल्तीको शब्द हो । विशेषगरी वामपन्थी वा कम्युनिस्ट विचारधारा भएकाहरूले यो शब्दमाथि एकलौटी नियन्त्रण गर्दै पेवा वा अंशका रूपमा लिँदै आएका छन् । मानौँ कि यो प्रगतिशील भन्ने शब्द कम्युनिस्ट बाहेककाले प्रयोग गरे कम्युनिस्टहरूको जात जानेछ ।

जति पनि नेपाली साहित्य लेखिँदै छ, त्यसमा अप्रगतिशील वा पश्चगामी वा प्रतिगामी भन्ने कुरा मात्र कहाँ पाइएला ? अनि प्रगतिशील हुनुको मापक वा आधार के ? के साहित्यमा कोरा नारा, भाषण, गाली वा आक्षेप प्रस्तुत गर्नु प्रगतिशीलता हो ? अथवा हँसिया हथौडाधारी बन्नु नै प्रगतिशीलता हो ? कि प्रजातन्त्रवादीहरूलाई सकेसम्म गाली गर्नुमा छ प्रगतिशीलता ?

के कम्युनिस्टइतरका स्रष्टामा हुँदैन मानवीय संवेदना ? हुँदैन उनीहरूमा समृद्धि र विकासको चाहना ? कि उनीहरूमा हुँदैन गरिब, विपन्न, असहाय, दुःखीजनप्रतिको सहानुभूति ? के उनीहरूका साहित्य यति पश्चगामी छन् ? के प्रजातन्त्रवादीहरू साँच्चै असामाजिक र अबुझ हुन् अनि कम्युनिस्टहरू मात्र विवेकी, सामाजिक र सुसभ्य हुन् ?

यी प्रश्नको जवाफ प्रजातन्त्रवादी हुँ भन्ने स्रष्टाहरूले दिन नसकुञ्जेल प्रजातन्त्रवादी भनिनेहरू सधै ‘अप्रगतिशील’ रहिरहनेछन् । यसर्थ सिर्जनाबाट र सँगसँगै उत्कृष्ट र वस्तुनिष्ठ समीक्षा, समालोचनाबाट यसको सही जवाफ प्रजातन्त्रवादी ठान्नेहरूले दिनै पर्छ अब ।

वास्तवमा नेपालको सन्दर्भमा कम्युनिस्ट भनिनेहरू दार्शनिक कार्ल माक्र्सकै अनुयायी भएको बताउँदै आएका छन् । उनीहरू आफूलाई कम्युनिस्टभन्दा पनि माक्र्सवादी भनेर चिनाउन रुचाउँछन् । विशेषगरी स्रष्टाहरू आफूलाई पार्टीसँग सोझै नजोडेर पार्टीले अनुसरण गरेको दर्शनका प्रतिपादकसँग जोड्न मन गर्छन् । यद्यपि, यथार्थमा उनीहरू साम्यवादी विचारधाराबाट प्रभावित र निर्देशित नै हुन् । यही कुरामा उनीहरू गर्व गर्छन् । आफूलाई धेरै पढ्ने, धेरै जान्ने र धेरै बुझ्ने देखाउँछन् उनीहरू । समाज विकासका क्रमका व्याख्या गर्दै अनेकथरी फूलबुट्टा र विशेषणले युक्त भाषाको प्रयोग गरेर आफ्ना तर्क पुष्टि गर्ने ‘स्कुलिङ’लाई जहाँ पनि प्रयोग गर्छन् । अनि प्रगतिशील आफूहरू मात्र भएको कुरामा ‘गर्व’ गर्छन् ।

यही कुरा प्रजातन्त्रवादी भन्नेहरूमा छैन । उनीहरू आफूलाई ‘प्रगतिशील’ भन्न आँट गर्दैनन् । यसो भनेमा आफूलाई कम्युनिस्ट भनिदेलान् भन्ने ठूलै पीर छ उनीहरूमा । तर प्रजातन्त्रवादी भन्नेहरूले पनि के बुझेका छैनन् भने उनीहरूले मान्दै आएको राजनीतिक दर्शन ‘समाजवाद’चाहिँ तिनै कार्ल माक्र्सको हो । माक्र्सकै दर्शनलाई प्रजातन्त्रसँग जोडेर बीपी कोइरालाले ‘प्रजातान्त्रिक समाजवाद’ बनाएका हुन् भन्ने उनीहरूलाई हेक्का नै छैन, जसरी माक्र्सले हेगेल र फायरबाखका दर्शनलाई जोडेर द्वन्द्वात्मक भौतिकवाद बनाए ।

हो, यही तथ्य थाहा नपाउञ्जेल हाम्रा प्रजातन्त्रवादीहरू सधैँ ‘अप्रगतिशील’, ‘प्रतिगामी’ वा ‘यथास्थितिवादी’ रहिरहनेछन् ।

अन्त्यमा,

स्तम्भकार आफू माक्र्सवादी भएको तर कम्युनिस्ट हुन नसकेको तथ्य जाहेर गर्दै आफूलाई प्रगतिशील स्रष्टा भएको दाबी गर्छ । किनभने स्तम्भकार सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, भौतिक आदि सबै पक्षमा विकास, समृद्धि र प्रगति चाहन्छ, त्यही कुरा आफ्ना सिर्जनामा लेख्छ, लेखिरहेको छ । कसले भन्न सक्छ राजनीतिक रूपमा हँसिया हथौडा नभिरेकै आधारमा स्तम्भकार प्रगतिशील होइन भनेर ?

के हरेक प्रजातन्त्रवादी लेखक अब यसो भन्न सक्छन् ?