देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माकेभित्र ओलीले भाँडभैलो मच्चाउन खोजेको प्रचण्डको निष्कर्ष

देशान्तर

काठमाडौं । चुनावलगत्तै पार्टी एकता गर्ने भन्दै चुनावमा होमिएका एमाले र माओवादीबीचको एकतामा समस्या देखा पर्न थालेका छन् । पछिल्लो समयमा दुई पार्टीका बीचमा एकता नहुने संकेत देखा पर्न थालेका छन् । पार्टी एकता प्रक्रिया अगाडि बढ्न नसकेपछि दुवै पार्टी यतिबेला प्रदेश सरकार गठनमा भागबन्डामै अगाडि बढाउनका लागि कार्यदल गठन गरेर काम गरिरहेका छन् ।

पछिल्लो समयमा दुवै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतालाई खासै चासो दिएका छैनन् । अझ एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बैंकक पुगेर फर्केपछि भने दुई पार्टी एकता अझ अलमलमा पुगेको छ । ओली बैंकक जानुअगाडि १५ दिनभित्र पार्टी एक हुने दाबी गर्दै बैंकक उडेका थिए । तर उनले बैंककबाट फर्केपछि पार्टी एकतामा आनाकानी गर्ने र मधेसी दलहरूसँग हिमचिम बढाउन थालेको माओवादी नेताहरूको बुझाइ छ ।

माओवादी नेताहरूको बुझाइमा भारतले कतै एमाले र मधेसी दलहरूलाई मिलाएको त हैन भन्ने शंका उत्पन्न भएपछि प्रचण्डले उपचारका नाममा वर्षमान पुनलाई बैंकक पठाएका छन् । पुन गएको बुधबार बैंकक गएका हुन् । उनी भोलिसम्ममा स्वदेश फर्कनेछन् । एमाले र माओवादीका बीचमा दरार देखिएको स्पष्ट संकेत सरकारले ६५ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने निर्णयको विरोध गर्न ओलीले संयुक्त पत्रकार सम्मेलनको प्रस्ताव गरेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सो पत्रकार सम्मेलनमा सहभागी भएनन् ।

अखिल नेपाल महिला संघले शनिबार राजधानीमा स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेसी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको धारणा राखे । उनले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताए । उनले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्य विभाजन हुने जनाए ।

तर शनिबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सरकार गठनभन्दा अघि नै पार्टी एकता हुनु जनभावनाअनुसार हुने धारणा राखेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा नयाँ सरकार गठनअघि नै पार्टी एकताको प्रक्रिया पूरा गर्ने तयारीका साथ गृहकार्य अगाडि बढेपछि पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । ओली र प्रचण्डकै बीचमा कुरा नमिल्दा पार्टी एकताका लागि गठन गर्ने दुईवटा कार्यदल पनि बन्न सकेको छैन । नेकपा एमालेले पार्टी र सरकारको नेतृत्व ओलीले नै गर्नुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले सरकारको नेतृत्व ओलीले गर्दा पार्टीको नेतृत्व प्रचण्डले पाउनुपर्ने अडान लिएको छ ।

एमाले राष्ट्रियसभाको अध्यक्षभन्दा बाहेक अन्य कुनै पनि पहिलो पद माओवादीलाई दिन तयार नभएपछि माओवादी पनि पार्टी एकताबाट टाढिएको धेरैको बुझाइ छ । पार्टी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री र सभामुख चारवटै पद एमालेले नछोड्ने भएपछि एकताका लागि आत्मसमर्पण गर्न नहुने दबाब माओवादीमा पनि सुरु भएको छ । यही विषयमा ओली र प्रचण्डबीचमा समझदारी हुन सकेको छैन । पटक–पटक ओली र प्रचण्डको बीचमा वान टु वान वार्ता भए पनि दुवै अध्यक्षले अडान नछोड्दा एकता प्रक्रियाको काम अगाडि बढ्न सकेको छैन । पार्टी एकता प्रक्रिया अगाडि बढ्न नसके पनि प्रदेश सरकार गठनमा भागबन्डामै अगाडि बढाउन कार्यदल गठन गरेर काम गरिरहेका छन् । अर्कोतर्फ प्रदेशको मुख्यमन्त्री पनि एमालेले सात नम्बर प्रदेशभन्दा अरू प्रदेशमा नदिने संकेत गरिसकेको छ । एकता प्रक्रिया लम्बिँदै जाँदा दुई दलमा विश्वासभन्दा पनि अविश्वास र आशंका बढ्दै गएको माओवादी केन्द्रका एक नेताले बताए ।

अर्को भनेको एमाले अध्यक्ष ओली माओवादीभित्र नै खेल्न लागेको निष्कर्षमा पुगेको बताइन्छ । विशेषगरी अग्नि सापकोटा, शक्ति बस्नेत र टोपबहादुर रायमाझीलाई प्रयोग गरेर ओलीले माओवादीभित्र खेल्न थालेको धेरै नेताहरूको बुझाइ रहेको छ । एमाले अध्यक्ष ओलीले परिआएको खण्डमा यी तीन नेतालाई प्रयोग गरेर माओवादीभित्र विद्रोह गराउने तयारीमा लागेका छन् । त्यही भएर अहिले प्रचण्डले गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई प्रयोग गरेर वर्षमानलाई विदेशी शक्ति केन्द्र मिलाउनका लागि बैंकक पठाएको बताइएको छ ।