देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाको गुनासो: सरकारले जनहितमा काम गर्न पाएन

देशान्तर

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् ।

आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने गरेको उनको भनाइ थियो । उनले कतिपय जनमैत्री निर्णय हुँदा पनि अनावश्यक टिप्पणी हुनु दुःखद भएको बताए ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन सकिनासाथ आफूले सरकार छाड्ने भन्दै निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको बताए ।

उनले सहकारीका माध्यमबाट अस्पताल सञ्चालन गरेर जनमैत्री काम हुनु प्रशंसनीय भएको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सहकारीमार्फत जनताको सेवामा लाग्नु राम्रो भएको बताए ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले सहकारीको माध्यमबाट सातै प्रदेशमा शाखा बिस्तार गर्ने गरी काम गर्न वीपी अस्पताल व्यवस्थापनलाई आग्रह गरे ।

अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले शेयर सदस्यबाट उठाएको सानो रकमबाट अस्पतालले जनताको सेवा गरिरहेको भन्दै गरिब जनताको उपचारका लागि पनि छुट्टै कोष बनाएर काम गर्ने बताए ।

अस्पताल आजैदेखि काठमाडौंको बसुन्धरामा आफ्नै भवनमा सरेको छ ।