देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ६ घण्टा बन्द

देशान्तर

चितवन । रातको समयमा सवारी साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि शनिबारदेखि दिउँसोदेखि सवारीसाधन रोकेर काम गरिने भएको छ।

रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन्। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो। शुक्रबार राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले बताए।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो। त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए। यसअघि परीक्षणको रुपमा राति सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो।

रातिको समयमा सवारी रोकिँदा उक्त सडकखण्डमा दिउँसो सवारी चापका कारण काम पनि प्रभावित हुने गरेको छ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले राति सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउँदै भने, रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो।

सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी छ। घुमाउनेमा २ सय मिटर, चेपाङ डाँडा र १६ किलोमा ३ सय मिटर भित्ता काट्ने काम बाँकी छ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भइसकेको र १४ दशमलब ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसो सवारी रोक्ने ठाउँ तय गरेको छ। कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिनेछ।

यस्तै, काठमाडौंबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिनेछ। पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने पन्तले बताए।