काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई संघीय संरचनामा लैजान दरबन्दी थप गरिएको छ। एक एआईजी, २ डिआईजीसहितका ५० पदहरु थपिएको छ। थपिएको एआईजी बढुवामा बढुवा समेत गरिएको छ। यादब रेग्मीलाई एआईजीमा बढुवा गरी प्रदेश समन्वय महाशाखामा पदस्थापना गरिएको छ। यसअघि गुप्तचरमा दुई एआईजीको दरबन्दी थियो।
थप भएको दुई डिआईजीको दरबन्दीमा पनि बढुवाको तयारी भइरहेको छ। दुई पद थपेर सातै प्रदेशमा डिआईजीको कमाण्डमा कार्यालय राख्न लागिएको छ। प्रदेशस्थित कार्यालयकै लागि अन्य विभिन्न पदहरु समेत थपिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।
देशका चार सुरक्षा निकायमध्ये मनेपाल प्रहरी र सेनाले सातै प्रदेशमा कार्यालय स्थापना गरिसकेका छन्। सशस्त्र प्रहरी बल र राष्टिय अनुसन्धान विभागको भने क्षेत्रीय संरचनामै छन्। प्रदेशमा एआईजी खटाउनका लागि सशस्त्र प्रहरीले ५ एआईजीको दरबन्दी थप गरी बढुवा प्रक्रिया समेत अघि बढाइसकेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेशमा बिशिष्ट श्रेणीको कर्मचारी खटाएपनि गुप्तचरले भने राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीको नेतृत्वमा कार्यालय स्थापना गर्न लागेको छ।
प्रतिक्रिया