देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुलाकी राजमार्ग निर्माण तीन महिनादेखि ठप्प

देशान्तर

पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्गको कञ्चनपुर खण्ड निर्माण तीन महिनादेखि रोकिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने सडक खण्ड निर्माणमा निकुञ्जले अवरोध गरेपछि कञ्चनपुरको दैजीदेखि बेल्डाँडी–बेलौरी–डोकेबजार खण्डको काम रोकिएको हो ।

हुलाकी राजमार्ग आयोजनाका सबइन्जिनियर वीरबहादुर ओलीले दैजीदेखि बेल्डाँडीसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले काम गर्न नदिएपछि सडक निर्माणको काम रोकिएको बताए । सबइन्जिनियर ओलीका अनुसार तीन महिनादेखि सो खण्डको काम रोकिएको छ । तिहारदेखि कुनै पनि काम हुन नसकेको उनले बताए ।

शुक्लाफाँटा निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको विषयलाई लिएर काम रोकेको हो । दैजीस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी बक्स क्याम्पदेखि बेल्डाँडीको सडक निर्माण रोकिएको हो ।

सबइन्जिनियर ओलीले आयोजनाले काम अघि बढाउने विषयमा सम्बन्धित निकायसँग पहल भइरहेको बताए । तीन चरणमा हुने कालोपत्रे दुई चरणमा भए पनि दैजीदेखि बेल्डाँडीसम्मको करिब २० किलोमिटर सडकको काम रोकिएको छ । शर्मा जेभी निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउदले पनि निकुञ्जले रोकेको स्थानमा काम गर्नेबारे प्रयास भइरहेको बताए । अनुमति दिएलगत्तै काम सुचारु हुने उनको भनाइ छ ।

स्थानीय निराश
हुलाकी राजमार्गको सो खण्ड निर्माण लामो समयदेखि रोकिएपछि स्थानीय निराश भएका छन् । वर्षौंदेखि सडक अभावको मार खेपिरहेका दक्षिणी क्षेत्रका स्थानीय सडक निर्माण सुरु भएपछि हर्षित भएका थिए । बेल्डाँडीका कैलाशचन्द्र गिरीले सडकको काम रोकिनुमा सरकारको कमी–कमजोरी रहेको बताए ।

उनले सरकारी निकायबीच समन्वय अभावका कारण काम बीचमै रोकिन पुगेको बताए । बेलौरीका पदम थापाले हुलाकी राजमार्गको काम सरकारी निकायबीचकै विवादका कारण रोकिनु दुःखद भएको बताए । तीन–तीन महिनासम्म सडक निर्माण सञ्चालन गर्नेबारे राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि चुप लागेर बसेको उनको आरोप छ ।

काम हामीले रोकेको होइन : निकुञ्ज 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेले जेठमा सो हुलाकी सडक स्तरोन्नतिका लागि अनुमति दिन राष्ट्रिय निकुञ्जले विभागलाई पत्र पठाइसकेको बताए । आयोजनाले अब थप आवश्यक पहल गरेर अनुमति ल्याउनुपर्ने उनले बताए । ‘सडक निर्माणका लागि आयोजनाले आवश्यक पत्र ल्याएको भोलिपल्टैबाट हामी काम गर्न अनुमति दिन्छौँ,’ निमित्त प्रमुख घिमिरेले भने, ‘हामीले काम रोकेका होइनौँ ।’

निकुञ्ज भएर निर्माण हुने सडकको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट ल्याएर सुधारका लागि विभागबाट अनुमतिमा हुलाकी आयोजनाले नै ढिलाइ गरेको उनको भनाइ छ । सडकको काम रोकिएकोबारे दैजी–बेल्डाँडी सडक खण्ड सुधार संघर्ष समितिले समेत चिन्ता व्यक्त गरेको छ ।

दैजी–बेल्डाँडी सडक खण्ड सुधार संघर्ष समितिका सचिव ओमप्रकाश पन्तले निर्माण रोकिनु निन्दनीय भएको बताए । उनले संघर्ष समितिले सडक सुचारु गर्न हुलाकी राजमार्ग आयोजनालाई माघ दोस्रो साताभित्रै ज्ञापनपत्र बुझाउने बताए ।

स्थानीयको मागअनुसार काम नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने उनले चेतावनी दिए । गत वर्षको माघ पहिलो साता कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको दैजीदेखि बेल्डाँडी–बेलौरी–पुनर्वास–डोकेबजार हुँदै कैलाली सदरमुकाम धनगढी जोेड्ने ६२ किलोमिटर कच्ची सडक कालोपत्रेका लागि उद्घाटन गरिएको थियो ।

बाबाहंस र शर्मा जेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा सकड निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । सम्झौताअनुसार एक अर्ब १७ करोडको लागतमा सो सडक ७ मिटर चौडा गरी कालोपत्रे गरिनेछ ।