देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गिरोहबाट पार्टी सञ्चालनको प्रवृत्ति अन्त्य हुनुपर्छ’

देशान्तर

चुनावपछि पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिनसम्म चल्यो, तर ठोस निर्णय केही गर्न सकेन नि ?

यो दुःखद् हो । हामीले जुन ढंगबाट वस्तुगत परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्ष निकाल्नु पथ्र्यो, त्यो हुन नसक्दा दुःखित र चिन्तित छु । हुन त सभापतिले सुरुमा नै यो बैठक समीक्षा बैठक होइन भन्नुभएको थियो । अहिले राष्ट्रियसभाको चुनाव नजिकिएको भनेर त्यस विषयमा छलफल गर्ने भन्नुभएको थियो । तर बैठकमा समीक्षाको विषय पनि उठ्यो । राष्ट्रियसभाको विषयमा पनि धेरै साथीहरूले धेरै खालका विचारहरू प्रस्तुत गर्नुभयो । एउटा मापदण्ड बनाउने विषय उठ्यो । मैले आफैंले पनि मापदण्डको विषयमा भनेको थिए“, पहिलो प्राथमिकता कांग्रेसको प्रतिनिधित्व नै शून्य भएका जिल्लालाई दिऔं भनेर । अनि अर्को भनेको जो साथीहरूलाई प्रतिनिधिसभा र प्रदेशसभामा हामीले टिकट दिएर गठबन्धन गर्दा उम्मेदवारी फिर्ता गरायौं ती साथीहरूलाई दोस्रो प्राथमिकतामा राखौं भनेको थिएँ, त्यसैगरी कहिल्यै अवसर नपाएका क्षमतावान् युवा, महिला आदिवासी जनजातिहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाऔं भन्ने धारणा थियो । पार्टीको निम्ति योगदान दिएर अहिलेको अवस्थामा मुकाबिला गर्न सक्ने, यसमा मेरो तेरो नगरी उम्मेदवार बनाऔं भन्ने धेरैको धारणा थियो । तर, अन्त्यमा कस्तोसम्म भयो भने, सभापतिजीले बोलेर अब बैठक टुंगियो भन्नुभयो । निर्णय के भयो, के हुन्छ भन्ने विषय बैठकमा जानकारी नै गराइएन । अनि म आफंैले असहमति जनाएँ । केन्द्रीय समितिमा छलफल भएका विषयमा भएका निर्णयका बारेमा केन्द्रीय सदस्यलाई जानकारी दिन नखोज्नु जस्तो दुःखदायी विषय अरू के हुन सक्छ ? अहिलेको परिस्थितिको जटिलतालाई हेरेर आमजनता, आम कार्यकर्ताहरूलाई भरोसा दिनेभन्दा पनि लटरपटरमा नै बढी केन्द्रित भएको पाइयो । अहिले कांग्रेसको आन्तरिक विषय मात्र होइन कांग्रेसले छलफल गर्नुपर्ने राष्ट्रिय विषयहरू पनि धेरै थिए । कांग्रेसले बोल्नै पर्ने विषयहरू पनि थिए । महँगीको कुरा, सुशासनको कुरा, यस्ता विषयमा पनि छलफल हुन सकेन । भूकम्पपीडितका म्याद नथपिएका विषयमा हामी प्रवेश गर्न नै सकेनौं । अर्कोतर्फ सभापतिजीले नै भनेको राष्ट्रियसभाको चुनावमा उम्मेदवार तय गर्ने विषयमा समेत न्यूनतम मापदण्डसमेत तयार नगरिकन कांग्रेसको बैठक सकिनु दुःखदायी हो । मतदातालाई धन्यवाद दियौं । यो काम एक साताभित्रमा गर्नुपथ्र्याे । सरकारलाई धन्यवाद दियौंं । हामी चनाखो भएर अब विधि विधान, प्रक्रियालाई पालना गर्दछौं भन्ने देखिएन । यसमा मलाई अत्यन्तै दुःख लागेको छ ।

भनेपछि तपार्इंको विचारमा, दुई दिनको केन्द्रीय समितिको बैठक औचित्यहीन जस्तै देखियो ?
केन्द्रीय कार्यसमितिका झन्डै ५० जना साथीहरूले आफ्ना दृष्टिकोण, चिन्तन र चिन्ता प्रस्तुत भयो । तर त्यसलाई निर्णयमा सुनाउन आनाकानी गरेपछि कराउनु प¥यो । मैले आफैंले कराएपछि बल्लबल्ल राष्ट्रियसभामा उम्मेदवार बनाउँदा अवसर नपाएकालाई बनाउने भन्ने भयो । राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा केन्द्रीय समितिमा उठेका भावनाको प्रतिनिधित्व गर्ने भन्नेछ । त्यो भावना भनेको के हो ? बैठकमा आफ्नो धारणा राख्ने ५० जनामध्ये ४० जनाले बोलेको भावनाको हो कि १० जनाले बोलेको भावनाको प्रतिनिधित्व हो ? अर्कोतिर, समानुपातिकमा केन्द्रीय कार्यसमितिले एकपटक भएकालाई नदोहो¥याउने भनिएको छ । तर समानुपातिकको लिस्ट बुझाउँदा छलफल होइन, हेर्नसमेत दिइएन । यो खालका गतिविधिहरू यो बेलासम्म जे गरियो त्यसलाई छोडेर अब चाहिँ त्यस्तो काम नगरौं भन्नेमा आशा जगाउन सकिएको भए पनि हुन्थ्यो । केन्द्रीय समितिले यसो गर्न नसकेकोमा म दुःखी छु ।

तपाईंको यो जानकारीबाट त अझ कांग्रेसजन निराश पो हुने भए त ?
मेरो दृष्टिकोणमा एउटाले अर्कोलाई दोषारोपण गर्ने भन्दा पनि समग्रमा हामीले कहाँकहाँ खराबी ग¥र्याैं, यो खोजेर, अब त्यस्ता गल्ती नगर्ने प्रतिबद्धता जनाउनुपर्छ । अब लोकतान्त्रिक पद्धति, प्रक्रिया र पारदर्शी ढंगबाट अगाडि जाऔं । हिजो जे भयो भयो । हिजोका गल्तीलाई आत्माआलोचना गरेर अब नयाँ बाटोमा जाने प्रतिबद्धता गरौं भन्ने मेरो दृष्टिकोण हो । तर मैले त्यस्तो संकेत पाएको छैन । म पनि आशावादी थिएँ, मैले पनि भोट हालेर बनाएको सभापति पार्टीको सुधारका लागि केही गर्नुहुन्छ भन्ने लागेको थियो । तर मैले त्यो संकेत पाउन सकेको छैन ।

नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनमा तपाईं जुन समूहमा हुनुहुन्थ्यो, अहिले त्यो समूहमा छैन भन्नका लागि सभापतिसँग अलि बढी एग्रेसिभ पो हुनुभएको हो कि ?

हैन हैन, मैले केन्द्रीय कार्यसमितिमा नै भनेको छु, पार्टीमा सुधारको आवश्यकता छ । हाम्रा कमी कमजोरीलाई सुधार गर्छाैं, लोकतान्त्रिक विधि र प्रक्रियाबाट चलाउँछौ, विधि विधानको पालना गर्छांै भन्नुपथ्र्यो । नयाँ ऊर्जा र विश्वास दिलाउन जरुरी छ । पार्टीलाई जीवन्त बनाउँछौ भन्ने सन्देश आम कार्यकर्ताहरूमा दिलाउनुपर्ने आवश्यकता छ । यो कुरा सभापतिजीले गर्नुहुन्छ भन्नेमा छु । सभापतिजीले यो विश्वास आमकांग्रेसलाई दिन सक्नु भएन भने रामचन्द्रजी अगाडि आउनुस्, होइन उहाँभन्दा अरू कोही आउँछ भने पनि आउनुस्, युवाहरूले त्यो आशा जगाउन सक्नुहुन्छ भने पनि आउनुस् । अहिले अभियान थालेका युवाहरूले पनि पार्टीको संवैधानिक दायराभित्र रहेर, लोकतान्त्रिक प्रवृत्ति देखाएर अगाडि आउँदा हुन्छ । एक अर्कोलाई तीतो पोख्ने, खुइल्याउने भन्दा पनि सबैलाई समेट्ने, सबैको कांग्रेस बनाउन अगाडि सबै आउनुपर्छ भन्ने दृष्टिकोण मेरो हो । म अहिले एउटा पक्षमा वा अर्को कुनै पक्ष गएको वा छोडेको भन्ने होइन ।

भनेपछि तपार्इंले पक्ष विपक्षमा भन्दा पनि कांग्रेस सुधारको पक्षमा आफूलाई उभ्याउनुभएको छ ?

म आफू यसैका लागि लागिरहेका छु । म जति सक्छु आफैं लाग्छु । कोही अगाडि लाग्न आए म पछि पनि लाग्छु । होइन भने म आफैं जति सक्छु त्यति गर्छु ।

तर बैठकमा केन्द्रीय सदस्यहरू एकले अर्कोलाई आक्षेप लगाउनेमा बढी केन्द्रित भएको देखियो नि ?

हो, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । आरोप प्रत्यारोपभन्दा माथि उठ्न जरुरी छ । पार्टी संस्थागत होइन गुटबाट चल्यो, गुटबाट पनि होइन गिरोहबाट चल्यो । संस्थागत पद्धतिबाट कहिल्यै चलेन । अहिले पनि साथीहरू बीपी कोइरालाका पालामा, किशुनजीका पालामा, गणेशमानजीका पालामा भन्ने गर्नुहुन्छ । बीपीका पालामा जस्तो भनेर हुँदैन । बीपीका पालामा त कति काम विधान नहुँदा पनि विवेकले भएका थिए । त्यो बेलामा पार्टी संस्थागत भएको थिएन । हिजो पार्टी भूमिगत थियो । सबै विषयहरू सम्भव थिएनन् होला । लोकतन्त्र भनेको गल्ती कमजोरी सच्याउँदै लैजाने व्यवस्था हो । हिजो भएको थियो हैन, हिजो गल्ती भएको हो भने सच्याएर जानुपर्छ । हिजो मैले गरेको गल्तीलाई पनि सुधारेर जानुपर्छ । जहाँ गल्ती भयो, अब गल्ती नगरौं, हिजो के भयो भन्नेमा नजाऔं । दुई–दुई दिन केन्द्रीय समितिमा गम्भीर छलफल हुन्छ तर निर्णय नसुनाई गुपचुप राख्ने मनोवृत्तिको पनि अन्त्य गरौं ।

जति केन्द्रीय सदस्यहरूले बोल्नुभयो, उहाँहरूले पनि कांग्रेसको सुधारको बाटो अब यो हो भन्नेमा भन्दा आफू चाहिँ पानीमाथिको ओभानो बन्ने ढंगले बोल्नुभयो जस्तो लाग्दैन ?

हैन यो बैठकमा सभापतिजीले नै चुनावको समीक्षा पछि गर्ने भनेपछि विशेष रूपमा केन्द्रित भएर भन्दा पनि साथीहरूले प्रसंगवश भनांै वा राष्ट्रियसभा निर्वाचनको चर्चा गर्ने क्रममा धारणा राख्नुभएको हो । तर यहाँ पनि सभापतिको आलोचना गर्नुभयो भन्ने होइन, सुझाव दिनुभयो भन्ने ढंगले बुझ्दा पनि त भयो नि । छलफल एकथोक भयो तर निर्णय अर्कै सुनाइयो । यसको के अर्थ भो ? जे जे विषयमा साथीहरूले धारणा राख्नुभएको थियो, निर्णय आउँदा त त्यो विषयहरूले प्रवेश नै पाएनन् । सुधारका लागि पनि त केही कमजोरी त भन्नुपर्ला नि ?

यति बेलासम्म पार्टी नेतृत्वबाट चाहिँ के के कमजोरी भए त ?

लोकतन्त्र विधि, मूल्य, पद्धति र संस्थाहरूबाट परिचालित हुन्छ । यसलाई एकातिर थन्क्याएर नेतृत्व नै नीति, पद्धति, प्रक्रिया र सबैथोक हो भन्ने मनोवृत्ति अत्यन्त धेरै हावी भयो । पार्टीका विभागहरू, जहाँ हजारौं साथी सम्मिलित र सक्रिय हुन सक्थे, तिनको गठन नै गरिएन । भ्रातृ संस्थाहरू केवल नाममा सीमित र मञ्चका शृंगार बने । त्यसबाहेक अत्तोपत्तो रहेन । स्थानीय तहको निर्वाचनका लागि पहिलो र दोस्रो चरणमा एक प्रकारको मापदण्ड तर तेस्रो चरणमा आफूखुसी निर्णय गरियो । ६८ जिल्लाका सभापतिहरू यो प्रक्रियामा पूर्णतः बहिस्कृत रहे भने कतिपय स्थानमा सोझै र अन्तिम घडीमा हस्तक्षेप गरी उम्मेदवार तोकियो । पार्टीभित्रको आन्तरिक प्रतिपक्ष मानिने साथीहरू विधि पालनामा जोड दिने वा प्रतिरोध गर्नुको साटो आन्तरिक भागबन्डामा आफ्ना केही कुरा थपेर चुपचापसँग सौदाबाजी र सम्झौता गर्ने र विधि तथा प्रक्रिया लत्याउनमा संलग्न हुनु र शुभेच्छुक तथा भ्रातृ संस्थाहरूको भागबन्डाका नाममा दर्खास्त परेर म्याद गुज्रेपछि फिर्ता लिने कसरत पनि नगरी सर्वसम्मतिको घोषणाजस्तो अप्रजातान्त्रिक गतिविधिसमेत भयो । राज्य सञ्चालन प्रक्रियामा भएका काण्ड, स्वतन्त्र न्यायपालिका र सुरक्षा अंगसँग जोडिएका कतिपय संवेदनशील कुरा न संस्थागत निर्णयबाट गरियो, न यसका पक्षमा जनतामा वास्तविकता पु¥याउन सकियो । केही व्यक्तिको संकीर्ण घेरालाई नै पार्टी ठान्ने मनोवृत्ति, अपारदर्शी निर्णय प्रक्रिया, विधिविहीनता र संस्थालाई पन्छाउने र यसलाई पूर्णतासमेत नदिएर तदर्थवादी सोचले पार्टीलाई चलाउने, यस्ले विनाशको दिशामा धकेलिदिएको छ ।

अब साँच्चै कांग्रेसको सुधारका लागि के गर्नुपर्छ ? कहाँबाट सुरुवात गर्नुपर्छ ?

कांग्रेसको सुधारका लागि सबैभन्दा पहिला अठोट चाहिन्छ । अनि कसैको डरभरको अन्त्य हुनुपर्छ । दृढता चाहिन्छ । आशा छोड्नुपर्छ । केन्द्रीय सदस्य, आम कार्यकर्ताहरूले आशा र स्वार्थ छोड्नुभयो भने कांग्रेसमा सुधार हुन्छ । अझै पनि साथीहरूसँग राष्ट्रियसभा बाँकी भएकाले केही स्वार्थ बाँकी छन्, केही आशा बाँकी छन् । तर यसरी चल्दैन । सबैजना पार्टी र लोकतन्त्रका लागि त लाग्नुप¥यो । कुनै एउटा समिति कुनै एउटा विभागको लोभ हो । अब त सिंगो शासन सत्ताको लोभ त बाँकी रहेन । कांग्रेस सुधार गर्ने बाटोमा सभापतिले के सोच बनाउनुभएको छ ? बाँकी नेताहरूले के सोच बनाउनुभएको छ ? केन्द्रीय सदस्यहरूले के सोच बनाउनुभएको छ ? मेरो आफ्नो सोचसँग कति मिल्छ ? त्यसैअनुसार आफ्नो रणनीति बनाउँछु । सबैभन्दा पहिला त पार्टी गुटबाट होइन अझ गिरोहबाट त हँुदैन होइन पार्टी विधानबाट पद्धतिबाट चल्नुप¥यो । हामीले अहिलेसम्म नेपाली कांग्रेसले तीनवटा ऐतिहासिक परिवर्तनको नेतृत्व ग¥यो । तीनवटा युग परिवर्तनको दस्तावेज अर्थात् संविधान लेख्यो । अब हामीले लोकतन्त्रका निम्ति लडियो । लोकतन्त्र भनेको विधिअनुसार चल्ने भन्ने हो । विधि भनेको परादर्शी ढंगबाट अगाडि बढ्नुप¥यो । व्यक्तिको होइन विधिको शासनले पार्टी चल्नुप¥यो । विधि पनि छैन, संस्था पनि छैन, अनि कहाँबाट हुन्छ ? विधिको शासन चलाउने हो भनेको विधानमा समस्या भयो । विधानलाई संशोधन गर्नुप¥यो । विधान सहमतिका लागि तोडिनु हुँदैन । सहमतिमा विधान परिवर्तन गर्न सकिएला तर तोड्न सकिँदैन । विधान तोडेर हुकुमी शैलीमा पार्टी चलाउनु नै गलत हो ।

कांग्रेसको अबको भूमिका के हुनुपर्छ ?
यो ऐतिहासिक योगदानका बाबजुद हालै भएको निर्वाचन परिणामले समस्त लोकतन्त्रवादी, नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुक स्तब्ध बनाएको छ । यो निर्वाचनले कांग्रेसलाई पराजय साथ प्रतिपक्षको भूमिकामा पु¥याएको छ । यत्रो ऐतिहासिक योगदान र आर्थिक क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धि पुँजीकृत हुन सकेन । हाम्रा प्रचारप्रसार संयन्त्रहरू किन बोधो र निष्प्रभावी भए, यसबारे हामी प्रायः मौन भएर प्रचारप्रसार हुन सकेन । यसका प्रमुख कारण र कारक तत्वहरू, आग्रह–पूर्वाग्रहभन्दा अलग रहेर कसैको मुख नहेरी निर्मम समीक्षा र आत्मालोचनासाथ नग्न सत्यलाई खुलाउनु आज सबैको साझा जिम्मेवारी भएको छ । एकले अर्कालाई दोष थोपरेर आफू चोखो हुन खोज्ने प्रवृत्तिबाट कसैले मुक्ति पाउँदैन । यथार्थपरक सिंहावलोकन, समीक्षा, विश्लेषण र ठोस निष्कर्ष आजको आवश्यकता हो । वैचारिक पुनर्जागरण र पार्टीको पुनर्संरचना आजको माग हो । हामीले यो चुनाव हारेका छौं, तर लोकतन्त्रले जितेको छ । हिजो विभिन्न, दर्शन र उद्गमस्थलबाट यात्रा सुरु गर्ने राजनीतिक दल वा पक्ष आज कांग्रेसको अविरल यात्रालाई मूलप्रवाह मानेर लोकतन्त्रको महासागरमा सम्मिलित भएका छन् । इतिहासले लोकतन्त्र र नेपाली कांग्रेसलाई एकअर्कासँग जोडेको छ । यो सुखद पक्ष हो । त्यसैले एउटा आवधिक चुनावको परिणाम आफ्नो प्रतिकूल भयो भन्दैमा कुनै लोकतन्त्रवादी निराश हुनु हुँदैन । हारलाई स्वीकार्न नसक्ने लोकतन्त्रवादी हुन सक्दैन भन्ने हेक्का कांग्रेसका प्रत्येक साथीले राख्नुपर्छ । यो पराजयलाई पुनः जितमा परिणत गर्ने संकल्प र दृढता नै हाम्रो अबको नयाँ यात्राको प्रारम्भ–बिन्दु हो । कांग्रेसको जनाधारमा कुनै विचलन आएको छैन, यसलाई समानुपातिक मतपरिणाम र प्रत्यक्ष निर्वाचनको मतान्तरले प्रमाणित गर्छ । तर समयसापेक्ष, नीति, नेतृत्व र संस्थागत प्रक्रिया र अपारदर्शिताबाट नै हामी यो परिस्थितिमा पुगेको यथार्थलाई अब दोहोरिन नदिने संकल्प र शपथ जरुरी छ ।

नेतृत्वको पुस्तान्तरण आवश्यक छ कि छैन ? पहिलो पुस्ताले चलाउँदै गर्दा त सफलता देखिएन ?

पुस्तान्तरणको कुरा महत्वपूर्ण होइन, नयाँ पुस्तामा उत्साह हुन्छ । युवाहरूको अहिलेको अभियानमा मेरो कुनै टिप्पणी आपत्ति छैन । युवाहरूको अभियान आग्रह पूर्वाग्रहभन्दा एउटा वैचारिक अभियानका रूपमा अगाडि बढ्नुपर्छ । हामीलाई पनि अहिलेको अभियानले घच्घच्याउने काम गरेको छ राम्रो हो । तर पुस्ता भनेको उमेरले मात्र होइन विचारले हुने हो । सक्रियताले हुने हो । कर्म विचार सन्तुलनले हुने हो युवा । सबैले सवैसँग सहकार्य गर्दै अगाडि बढ्ने व्यवस्था हो लोकतन्त्र भनेको । स्वतः आउने नेतृत्व त युवाहरूको नै हो नि, त्यसकारण युवाहरूले हतारिनुु हुँदैन । अनि क्षणिक तुष्टिका लागि हतार पनि गर्नु हुँदैन । मेरो राजनीति यात्रमा ठूलो सहयोग गर्नुभएका मेरो पितातुल्य गिरिजाप्रसाद कोइराला सहमहामन्त्री र प्रवक्ता हुँदा मैले पार्टीको निर्णय होइन यो सभापतिको निजी विचार हो भनेको छु । यसरी अगाडि बढ्न सक्नुपर्छ ।

कांग्रेसले कुनै सन्देश दिन सकेन । अब निराश कार्यकर्ताहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ ?

नेपाली कांग्रेस इतिहासमा युग परिवर्तनको नेतृत्व सधंै गरेको छ । २०७२ को संविधान बनाउन नेतृत्व दियो । अहिले पनि मुलुकलाई सबै निर्वाचन गरेर नेतृत्व दियो । असन्तुष्ट मधेसी नेतृत्वलाई समेत सँगै लिएर गयांै । हामी २०५१ मा पनि चुनाव हारेका थियौं । २०६४ मा पनि चुनाव हारेका थियौं । चुनावमा हारजित हुन्छ । तर लोकतन्त्रवादी न जितमा मातिन्छन् न हारमा आत्तिन्छन् । त्यसकारण कांग्रेस सुधारका लागि आफ्नो विवेक प्रयोग गर्नुस् नआत्तिनुस् । हरेक तहबाट कांग्रेस सुधारमा लागि संयम भएर आन्तरिक आवाज निकाल्यौ । भोलि सरकारको नेतृत्वमा आउनेहरूले राष्ट्रवादी नारादेखि चीनपक्षीय नारा पनि दिनु भएको छ । अब फेरि जनताले दिएको अभिमत स्वीकार गरेर जाऔं । यो वामपन्थी सरकार बनाउनु दिऔं । सकारात्मक प्रतिपक्षका रूपमा काम गर्छौं । एउटा हारबाट कांग्रेस विचलित हुँदैन । संसारबाट लोप भएको कम्युनिस्ट शासनबाट हामी आत्तिनु पर्दैन ।