काठमाडाैं। संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो । यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवादीसँग सहकार्यको सम्भावना अब सकिएको उनले घोषणा गरे ।
असोज १७ गते एकीकृत वाम पार्टी बनाउने लक्ष्यसहित ६ बुँदे सहमतिमा केपी ओली र पुष्पकमल दाहालसँगै हस्ताक्षर गरेका यी नेता तत्कालै कित्ता बदलेर कांग्रेससँग चुनावी गठबन्धन गर्न गएका थिए । उनले एमाले-माओवादी केन्द्रबीच एकता प्रयासको कुनै वैचारिक जग नभएको आरोप लगाएका छन् । अनि वस्तुतः उनीहरू पुरानै शक्ति रहेको भन्दै गठबन्धनबाट मुलुकका समस्या नसुल्झिने ठोकुवा गरेका छन् ।
‘खासमा हामीले उपेन्द्र यादवको फोरम, प्रचण्डको माओवादी र नयाँ शक्तिबीच भित्री कुराकानी गरेर नयाँ ढंगले तालमेल प्रयास गरिसकेका थियौं तर त्यसैबेला एमाले र माओवादीबीच अलग्गै वार्ता प्रक्रिया अघि बढिरहेको रहेछ,’ शनिबार दिउँसो विशालनगर निवासमा अन्नपूर्णसँग विशेष वार्ता गर्दै भट्टराईले खुलासा गरे, ‘हामीले बुझ्यौं- एमाले पनि त्यसमा सहभागी हुने रहेछ । वास्तवमा हामी अलिकति भ्रमित हुन पुगेछौं । नयाँ शक्तिलाई घोडा बनाएर छिट्टै सत्ताको भर्याङ चढ्ने उहाँहरूको मनसाय रहेछ ।’ उनले यी ‘पुराना शक्ति’ हरूसँग तालमेल गर्ने आफ्नो तत्कालीन सोचलाई त्रुटिपूर्ण भनी आत्मालोचना गरे ।
आफूले संविधानसभाबाट संविधान, अनि त्यसपछि आर्थिक समृद्धिको एजेन्डा वकालत गर्दै आए पनि ठूला पार्टीहरूले त्यसको अपव्याख्या गरेको उनले आरोप लगाए । समृद्धीकरणको शब्द सबैले ग्रहण गरे पनि नेपाल समृद्ध हुन नसक्नुका कारणबारे छलफल अभाव रहेको उनको भनाइ थियो । नयाँ शक्ति अभियानमार्फत यसैबारे बहस गर्न खोजे पनि विभिन्न कारणले प्रस्ट पार्न नसकेको उनको भनाइ थियो । उनले फागुन दोस्रो साता लुम्बिनीमा हुने नयाँ शक्ति विस्तारित बैठकमार्फत यसलाई अझै प्रभावकारी ढंगले लैजाने बताए ।
छिमेकी चीन र भारत द्वन्द्वतिर जाने संकेत देखिइरहेकाले नेपाल अझै संवेदनशील बन्नुपर्ने भट्टराईले बताए । ‘यहाँ दुईवटा पुराना शक्तिमध्ये एउटा दक्षिण, अर्को उत्तर फर्केको अवस्थामा प्रस्तुत हुन खोजिरहेका छन् । शक्तिहरूले पनि यस्तो बेला स्वतः आफ्नो पपेट (कठपुतली) बनाउन खोज्छन्,’ उनले भने, ‘एउटा उत्तरको कठपुतली, अर्को दक्षिणको कठपुतली भयो भने देश द्वन्द्वतिर जान्छ ।’ भट्टराईले चीन र भारत दुवै एसिया, अफ्रिका क्षेत्र हुँदै संसारभरि वर्चस्व बढाउने दाउमा लागिरहेका बेला नेपालले दुई वटै देशको पुँजीलाई ठीक ढंगले उपयोग गर्नुपर्ने बताए ।
उत्तर र दक्षिण दुवै बजारबाट लाभ लिनुपर्ने तर्क गर्दै उनले विवादहरूको सैन्य समाधान खोज्नुको साटो वार्तामा जोड दिनुपर्ने बताए । ‘भारतले आर्थिक रूपमा नेपाललाई आफ्नो बजार मान्ने, रणनीतिक रूपमा हिमाललाई सुरक्षा घेरा मान्ने जुन सोच बनाउँदै आयो, त्यसलाई नेपालका शासक वर्गले ठीकसँग चिर्न सकेनन्,’ उनले भने, ‘भारतसँग सिमानाको कुरा उठ्दा हामी तुरुन्तै संवेदनशील भइहाल्छौं तर व्यापार घाटा १५ गुणाभन्दा बढी भइसक्यो । आर्थिक परनिर्भरताबारे गम्भीर छैनौं । नेतृत्वमै अल्पज्ञान भएपछि जनताले यस्तो कुरा बुझ्दैनन् ।’
प्रतिक्रिया