काठमाडाैं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो ।
यसअवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।
यसैबिच लोसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।
तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेका थिए । उनीहरुले फागुन ४ गते बिदा दिनुपर्ने बताएका थिए । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने आज बिदा दिने निर्णय यथावत् रहेको बताउनुभयो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सोनम ल्होछार २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया