अस्थायी मुकाम तोक्दा मन्त्रिपरिषद्मै भएको विवादले राजनीतिक दलका नेता र सर्वसाधारणसमेत प्रभावित
लामो समयको प्रयासपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभामा राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने पाँच दल, कानुन र संविधानका ज्ञातालगायतसँग छलफल गरेका थिए । संविधानमा भएको व्यवस्थाअनुरूप सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नैपर्ने थियो ।
सहमति नदिई ‘प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सरकारको भएकाले आफ्नो जिम्मेवारी पूरा गरोस्’ भन्ने सुझाब दिएर प्रतिपक्षी एमाले र माओवादी विवादमा आउन चाहेनन् । त्यसपछि पनि प्रधानमन्त्री देउवाले अनौपचारिक रूपमा भागबन्डा मिलाएर भए पनि सहमतिमा प्रदेश प्रमुख तोक्नका लागि प्रयास जारी राखिरहे । तर, प्रतिपक्षीलाई मनाउने प्रयास सफल हुन सकेन ।
एकातर्फ प्रतिपक्षी पन्छियो, अर्कोतर्फ सत्तासाझेदार दलहरूबीचमै प्रदेशको मुकाम तोक्ने र प्रदेश प्रमुखमा भागबन्डा मिलाउन गाह्रो थियो । त्यसपछि देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशका सांसदहरूलाई काठमाडौंमा नै शपथ खुवाउने गरी अघि बढ्ने तयारी गरे । त्यो पनि उपयुक्त नभएपछि कार्यालय सञ्चालनका लागि मात्र अस्थायी मुकाम तोक्ने तयारी गरिएको हो । त्यो पनि व्यावहारिक नहुने देखेर चौतर्फी विरोधका बाबजुद बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेका छन् ।
भागबन्डामा प्रदेश प्रमुख
विपक्षीसँग सहमति भएको भए मुख्य तीन दल कांग्रेस र एमालेलाई २–२, माओवादी, राजपा र संघीय फोरमलाई १–१ भागबन्डा लगाएर प्रदेश प्रमुख तोक्ने तयारी प्रधानमन्त्री देउवाको थियो । एमाले र माओवादीका नेताहरूसँग यस विषयमा उनले पटकपटक अनौपचारिक छलफल पनि गरे । माओवादी नेता वर्षमान पुन र जनार्दन शर्मा तथा एमालेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग प्रधानमन्त्री र उनका प्रतिनिधिले पटक–पटक गरेको प्रयास असफल भयो । त्यसपछि देउवाले राजपा र संघीय समाजवादी फोरमलाई साथमा लिने प्रयास गरे । फोरम अध्यक्ष उपेन्द्र यादवसँग बुधबार बिहान र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग मंगलबार साँझ भएको छलफलपछि अन्तिममा सत्ताको नेतृत्व गरेको कांग्रेसलाई पाँच, संघीय समाजवादी फोरम र राजपालाई १–१ प्रदेश प्रमुखको भागबन्डा लगाइएको छ । कांग्रेसको प्रस्तावमा प्रदेश १, ३, ४, ६ र ७ तथा फोरमको प्रस्तावमा प्रदेश २ र राजपाको प्रस्तावमा प्रदेश ५ को प्रदेश प्रमुख बनाइएको छ ।
प्रदेशको अस्थायी मुकाम
प्रदेशको अस्थायी मुकाम कुन प्रदेशको कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दल र कांग्रेसका नेताहरू तथा प्रतिपक्ष दल एमाले र माओवादीका नेताले प्रतिष्ठाको विषय बनाएका थिए । विशेषगरी प्रदेश १, ३, ५ र ७ को अस्थायी मुकामको विषयमा विवाद थियो । प्रदेशको अस्थायी मुकाम माग्दै आन्दोलनसमेत भएका थिए । प्रदेश १ को राजधानी विराटनगर, इटहरी र धनकुटा बनाउन नेताहरू आ–आफ्नो तरिकाले लबिङमा लागेका थिए । जब अस्थायी मुकाम तोक्नका लागि बुधबार बिहान मन्त्रिपरिषद् बैठक बस्यो, त्यसमा प्रधानमन्त्री देउवाले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को काठमाडौं उपत्यका, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोक्ने प्रस्ताव पेस गरे । त्यसपछि मन्त्रीहरूबीच बाझाबाझ भएपछि बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भयो ।
देउवाको प्रस्तावपछि प्रदेश १ को राजधानी धनकुटालाई नबनाए कडा संघर्षमा उत्रिने चेतावनी उद्योगमन्त्री सुनीलबहादुर थापाले दिए । तर, उनीभन्दा चर्को स्वरमा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विराटनगर नै सबै हिसाबले ठीक भएको भन्दै चर्किए । अन्ततः थापाले हारे, गच्छदार र कार्कीले जिते, अस्थायी मुकाम विराटनगर तोकियो ।
प्रदेश २ मा त्यति विवाद थिएन, प्रधानमन्त्रीको प्रस्तावअनुरूप नै भयो । प्रदेश ३ को अस्थायी मुकाम कुनै पनि हालतमा हैटौँडा हुनुपर्ने अड्डी उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले लिए, अन्त्यमा उनको अडानका सामु प्रधानमन्त्री देउवा झुके र अस्थायी मुकाम हेटौँडा तोकियो । हेटौँडालाई प्रदेशको अस्थायी मुकाम बनाउन कांग्रेस नेता इन्द्रबहादुर बानियाँ र एमाले नेता विरोध खतिवडासमेत लागेका थिए ।
प्रदेश ४ मा सबै हिसाबले पोखरा पायक पर्ने सहर भएकाले दलहरूबीच सहमति थियो । सबैभन्दा विवाद रहेको प्रदेश ५ थियो । त्यहाँ रुपन्देही र दाङ बनाउनका लागि दुवै जिल्लामा आन्दोलन भएको थियो । रुपन्देहीमा अस्थायी मुकाम बनाउन प्रधानमन्त्री देउवाका विश्वासपत्र कांग्रेस नेता बालकृष्ण खाण, एमालेका दुई उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, माओवादी नेता टोपबहादुर रायमाझी लागेका थिए भने दाङलाई अस्थायी मुकाम बनाउन माओवादी नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन कांग्रेस नेतात्रय खुमबहादुर खड्का, दीपक गिरी र डिल्ली चौधरी तथा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेता शंकर पोखरेल लागेका थिए । अन्ततः सरकारले रुपन्देहीलाई अस्थायी मुकाम तोक्यो ।
प्रदेश ६ को अस्थायी मुकाम सुर्खेत बनाउनेमा विवाद थिएन । प्रदेश ७ मा पनि दिपायल र धनगढी बनाउने विषयमा विवाद थियो । दिपायलका लागि भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर, एमाले नेता प्रेमबहादुर आलेलगायत लागेका थिए भने प्रधानमन्त्री देउवा स्वयं धनगढी हुनुपर्ने पक्षमा थिए । देउवासँगै एमाले उपाध्यक्ष भीम रावल पनि लागेपछि अस्थायी मुकाम धनगढी नै तोकियो ।
मन्त्रिपरिषद् बैठक विवादको विवरण
बिहान ९ बजे बोलाइएको बैठक साढे १० बजे सुरु भयो । प्रदेश ७ को अस्थायी राजधानी धनगढी कि दिपायल भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरबीच सहमति नहुँदा बैठक बस्न ढिलाइ भएको थियो । असहमतिकै बीच प्रधानमन्त्रीले बैठक सुरु गरे । उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने बाध्यता रहेको जानकारी गराए । त्यसलगत्तै उनले प्रदेश १ का लागि विराटनगर, २ का लागि जनकपुर, ३ का लागि काठमाडौं उपत्यका वा बनेपा, ४ का लागि पोखरा, ५ का लागि बुटवल, ६ का लागि सुर्खेत र ७ का लागि धनगढी अस्थायी राजधानी बनाउने मौखिक प्रस्ताव गरे ।
कुन प्रदेशमा क–कसको लडाइँ
प्रदेश १ : बैठकमा प्रदेश १ बाट छलफल सुरु भएको थियो । मन्त्री मीन विश्वकर्मा, राजन केसीलगायतले सुनसरीको धरानलाई अस्थायी मुकाम तोक्नुपर्ने सुझाब दिए । उद्योगमन्त्री सुनीलबहादुर थापाले धनकुटा क्षेत्रीय प्रशासन कार्यालय भएको र भौतिक पूर्वाधार पनि भएकाले धनकुटालाई नै अस्थायी मुकाम तोक्नुपर्ने अडान राखे । विवाद चर्कन थालेपछि प्रधानमन्त्री देउवाले अन्य दलहरुको समेत सहमतिमा मुकाम तोक्न खोजीएको भन्दै विराटनगरलाई नै मुकाम तोक्नुपर्ने बाध्यता रहेको जानकारी गराएका थिए । उनले विराटनगर तोक्दा सबै दलको सहमति रहने बताएका थिए ।
प्रदेश २ : प्रदेश २ का बारेमा कुनै विवाद भएन । जनकपुरलाई अस्थायी मुकाम तोक्न सबै मन्त्रीहरु सहमत भए ।
प्रदेश ३ : छलफल शूरु हुने वित्तिकै उपप्रधानमन्त्री कमल थापाले क्षेत्रीय प्रशासन कार्यालय भएको, प्रदेश राजधानीका लागि पूर्वाधार भएकोले हेटौडालाई अस्थायी मुकाम तोक्नुपर्ने अडान लिए । काठमाडौ संघीय राजधानी भएको र कोलाहल बढेकाले हेटौडालाई प्रदेशको राजधानी बनाउनु पर्ने अडान राखे । मन्त्रीहरु मीन विश्वकर्मा, राजन के.सी., भीमसेन दास प्रधान, मोहन बस्नेत लगायतका मन्त्रीहरु भने काठमाडौ वा वनेपाको पक्षमा उभिए ।
प्रधानमन्त्री देउवा समेत काठमाडौलाई नै अस्थायी मुकाम तोक्ने तयार भएका थिए । तर कमल थापाको अडानमा विहान बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्णय लिन सकेनन् । प्रदेश ४
प्रदेश ४ : प्रदेश ४ को अस्थायी मुकाम पोखरा राख्ने विषय सर्वसहमतिमा टुंगीयो ।
प्रदेश ५ : त्यसपछि ५ नं प्रदेशको अस्थायी मुकामबारे छलफल शूरु भयो । छलफलमा प्रधानमन्त्री देउवाले नै रुपन्देहीलाई अस्थायी मुकाम तोक्ने प्रस्ताव गरे । उक्त प्रस्तावमा अधिकाशं मन्त्रीहरुले असहमति जनाए । मन्त्री गोपाल दहितले भौतिक पूर्वाधार, कार्यदलको सिफारिस र भौगोलिक सुगमताका आधारमा पनि दाङलाई मुकाम तोक्नुपर्ने अडान राखेका थिए । उनलाई मन्त्री मीन विश्वकर्मा, राजन के.सी., जितेन्द्र नारायण देव, संजयकुमार गौतमले समर्थन गरे । बहुसंख्यक मन्त्री दाङको पक्षमा देखिएपछि पहिलो बैठकले ५ नं प्रदेशको मुकामबारे निर्णय गर्न सकेन ।
दोस्रो चरणमा दिउँसो चार बजे बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले वुटवल बढी सम्भावना रहेको र अन्य दलहरु पनि त्यसैतर्फ सहमत हुने स्थिती रहेकोले वुटवललाई अस्थायी मुकाम तोक्ने बताए ।
प्रदेश ६ : प्रदेश ६ को अस्थायी मुकाम सुर्खेत राख्नेबारे भने मन्त्रिपरिषदमा कुनै असहमति भएन ।
प्रदेश ७ : यस्तै प्रदेश ७ को अस्थायी मुकाम धनगढी की दिपायल भन्नेबारे भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र प्रधानमन्त्रीवीच चर्काचर्की भयो । मन्त्री बलायरले भौगोलिक सुगमता, पहिलोको क्षेत्रीय प्रशासन कार्यालय रहेको र भौतिक पूर्वाधार सबै रहेको आधारमा दिपायल नै अस्थायी मुकाम हुनुपर्नेमा जोड गरेका थिए ।
उनले भौतिक पूर्वाधार, क्षेत्रीय प्रशासन कार्यालय र भौगोलीक सुगमताका आधारमा पनि डोटीको दिपायललाई नै अस्थायी राजधानी घोषणा गर्नुपर्ने अडान राखेका थिए । उनको असहमतिप्रति आक्रोशित हुँदै प्रधानमन्त्री देउवाले ‘म अब धेरै थेग्न सक्दिन, अहिलेलाई धनगढी भयो’ भन्दै निर्णय टुंग्याएका थिए ।
त्यसपछि दिउँसो बसेको मन्त्रिपरिषद बैठक अघि मन्त्री बलायर र प्रधानमन्त्री देउवावीच सहमति भएर धनगढीलाई प्रधानमन्त्रीले अस्थायी मुकाम तोक्ने निर्णय गरेका थिए ।
अस्थायी मुकामको विरोधमा शंकर पोखरेलको ट्विट, कृष्णबहादुर महराको विज्ञप्ति
सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै धनगढीलाई अस्थायी मुकाम घोषणा गरिएपछि डोटीको दियापल पनि बुधबार दिनभर तनावग्रस्त बन्यो । दिपायललाई प्रदेश ७ को अस्थायी मुकाम घोषणाको माग गर्दै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा भएको छ । त्यस्तै, प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोकिएको विरोधमा धनकुटामा विरोध सुरु भएको छ । प्रदेश २ को अस्थायी मुकाम जनकपुरबाट वीरगन्ज हुनुपर्ने भन्दै प्रदर्शन सुरु भएको छ । नयाँ पत्रिका
प्रतिक्रिया