एमालेबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई तत्काल पक्राउन गर्नका लागि केन्द्रिय प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले आज सातओटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन दिएको हो ।
अपराध अनुसन्धान विभागका इन्स्पेक्टर मदन कुँवरले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘भूपू प्रनामनी नवराज सिलवलालाई खोजतलास गरी फेला परेमा महनगरीय प्रहरी परिसर, काठमाडौंमा उपस्थितिका लागी जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’
यसअघि सिलवाललाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौंमा बुझाउन ललितपुर प्रहरीलाई गएको पुस १८ गते पत्राचार गरेको थियो ।
काठमाडौं प्रहरीमा दर्ता भएको मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्न भन्दै काठमाडौं प्रहरीले सिलवाललाई पक्राउ गरेर बुझाउन ललितपुर प्रहरीलाई गएको पुस १८ गते पत्राचार गरेको थियो ।
प्रहरीले पक्राउ गर्न लागेको सुँईको पाएसँगै सिलवाल भारतको बाटो हुँदै नेपाल बाहिरिएको बुझिएको छ।
प्रतिक्रिया