लन्डन । दुःख र काम नगरि बांच्न नसकिने बेलायतमा ट्यारोट कार्डबाट सुन्दर भविष्य पत्ता लगाएर जीवन एकाएक चम्काइदिने भनेपछि को नलोभिने ? यस्तै आशै आशमा बेलायतका नेपाली ठगिने क्रम शुरु भएको छ । ग्राहकसँग आकर्षक पैसा लिएर ट्यारो कार्डबाट भविष्य बताइदिन्छु भन्दै लन्डन बस्ने डिभोर्सी महिला क्षमता ढकालले नेपालीलाई ठग्न थालेकी हुन् । बेलायतका केही अनलाइनलाई साथ लिएर क्षमताको ठगी धन्दा महिना दिन यता खुबै फस्टाएको छ । उनको कमाइ गज्जबको छ तर इलिगल रुपमा । न उनको कुनै कम्पनी छ, न उनी सरकारलाई कर तिर्छिन् । कमाए जति सबै पकेटमा ।
महिना दिन यता बेलायतबाट सञ्चालित वीनेपाली, लन्डन नेपाल न्यूज, सितलपाटी जस्ता वेवसाइटमा उनीबारे प्रवर्धनात्मक सामाग्री प्रकाशित भइसकेका छन् । क्षमताको एक घण्टा लामो लाइभ इन्टरभ्यू लन्डन नेपालन्यूजका प्रधान सम्पादक शिव भण्डारीले लिएका थिए । उनको यसअघि पनि भिडियो अन्तरर्वार्ता आएको थियो । बुझिए अनुसार, क्षमता पत्रकारलाई केही चारो हालेर आफूतिर आकर्षित गर्न खुब खप्पिस छिन् ।
उनले समुदायमा नाम चलेका व्यक्तिलाई एकै ठाउँमा जम्मा गरेर उनीहरुलाई आफ्नो पेशाको सकारात्मक पक्ष भनिदिन आग्रह गर्छिन् । फेसबुक लाइभ गर्न पत्रकार बोलाउँछिन् । समाचार छापिदिन सबैपत्रकारलाई फोन गर्छिन् । हेर्दा सुन्दरी देखिने उनको आग्रह कुन पुरुषले नमान्ने ? पत्रकार पनि उनले भनेकै ठाउँमा ओइरिन्छन् ५० पाउण्डकै लागि । त्यसो त लन्डनका एक जना व्यापारी पनि उनको प्रेम जालमा नराम्ररी फसेको बताइन्छ ।
उनले लन्डनको एउटा वेवसाइटमा हालै भनेकी छिन्, ‘तास जस्तै ७८ वटा रंगी बिरंगी ट्यारोट कार्डका माध्यमबाट म माया पिरती देखि फेमिली म्याटर, स्ट्रेस हटाएर खुशी तुल्याउने टिप्स दिन सक्छु । धन सम्पत्ति कमाउने तरिका मलाई थाहा छ । भाग्य रेखा र भविष्य पत्ता लगाइदिन्छु । व्यवसायमा लाभ हानी बताइदिने, शुभ अशुभ भनिदिने गर्छु । केही नयाँ काम गर्न साइत जुराइदिने र घरको वास्तु सबै भनिदिने मेरो काम हो ।’
उक्त वेवसाइटले क्षमताको प्रशंसा गर्दै भनेको छ, ‘उनी कार्डबाट ऐना जस्तै छर्लंग मानिसको भविष्य देख्छिन् । तर क्षमता माता चाहिं होइनन् किनकि टयारोट आधुनिक विज्ञानसंग सम्बन्धित छ ।’ उनले रेकी पनि गर्ने बताएकी छन् ।
ट्यारोट कार्डबाट मानिसका कमी कमजोरी पत्ता लगाएपछि त्यो व्यक्तिलाई पत्थर (स्टोन) लगाउन लगाउने वा घरमा लगेर राख्न सिफारिस गर्ने उनको अर्को धन्दा हो । उनी व्यापारीलाई बिजनेश बढाउने भन्दै एक खालको स्टोन भिडाउँछिन् भने श्रीमान श्रीमतिको सम्वन्ध गाढा बढाउन यो लगाउनु भनेर अर्कै पत्थर दिन्छिन् । एक अनलाइनका अनुसार उनीसँग निन्द्रा नलाग्नेलाई निन्द्रा जगाउने पत्थर पनि छ रे उनीसँग । उनीसँग १०८ फरक पत्थर छन् महंगो दामका ।
ट्यारोट कार्डबाट भविष्य ठयाक्कै थाहा हुने कुनै वैज्ञानिक आधार अहिलेसम्म थाहा पाइएको छैन् । तर, क्षमताले यति सम्मकी फोन नम्बर भाइबरमा पाए त्यो व्यक्तिको पनि भविष्य हेरिदिने विज्ञापन गरेर भ्रम फैलाइरहेकी छन् । रमाइलो त अर्काको भविष्य हेर्ने क्षमताको आफ्नै भविष्य अन्यौलमा छ, परिवारमा बिचलन छ । न पेशाको टुंगो छ न स्टाटस्को । उनी डिभोर्सी महिला हुन् ।
विभिन्न कार्यक्रममा जाने, आफ्नो विज्ञापन गर्ने अनि ट्यारोट कार्डबाट भाग्य हेर्छु भन्दै पाउण्ड असुल्ने काम उनले गरिरहेको उनीसँग भविष्य हेरेर फर्किएका एक असन्तुष्ट ग्राहकले बताए । ‘सबै भविष्य मिलाइदिन्छु भन्ने कुरा वाहियात होु( ति ग्राहक भन्छन्’, सामान्यतया व्यक्तिको कोही न कोहीसंग प्रेम हुन्छ, सबै श्रीमान श्रीमतिबीच सामान्य झगडा भएकै हुन्छ, विजनेशमा नाफा नोक्सान हुन्छ । बेलायतको व्यस्ततामा सबैलाई स्ट्रेस हुनु स्वभाविक हुन्छ । यस्तै सबैका समान समस्या बताएर उनी पैसा असुल्छिन् ।’
क्षमता ढकालको पारिवारिक पृष्ठभूमि चलचित्र देखिन्छ । उनका बुबा चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकाल हुन् । घरमा उनलाई माया गरेर ‘पिंकी’ नामले बोलाइने रहेछ । सन् २००७ सालमा बेलायत टेकेकी क्षमता ढकालले केयर होमबाट आफ्नो करिअर सुरु गरेपनि केयर होममा बुढाबुढीको स्याहार सुसार गर्न अप्ठेरो भएपछि उनले टयारोट कार्डलाई आम्दानीको श्रोत बनाउने निधो गरेकी थिइन् ।
नेपालका पूर्व डिएसपी बाचस्पति रेग्मीले चलाएको शितलपाटी न्यूजले हालै क्षमताबारे विज्ञापन समाचार लेखेको छ, ‘क्षमताले केयर होममा काम गर्दा बिरामीलाई छुने बित्तिकै जादु शक्तिले बिसेक भएपछि साथीकै आग्रहमा उनले यो पेशा अंगालिन् ।’ उक्त वेवसाइटले क्षमताको अहिले बेलायतमा विशेष चर्चा भएको बताउँदै एनआरएनए अध्यक्ष भवन भट्टले उनैले भविष्य हेरेपछि चुनाव जितेको लेखेको छ ।
प्रतिक्रिया