नेपाली कांग्रेसलाई पुनर्जीवन दिने भन्दै तपाईंसहित सात जना युवा नेताहरूले पहल थाल्नु भएको थियो । यसैबीच तपाईं पार्टीको प्रवक्तामा नियुक्त हुनुभयो । अब त्यस अभियानको भविष्य के हुन्छ ?
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसेर पार्टीको एउटै धारणा बाहिर नआउँदासम्म यस्ता किसिमका छलफल, बहस तथा अभियानहरू भइरहन्छन् । निर्वाचनको समीक्षाका क्रममा केन्द्रीय समितिले साझा धारणा नबनाएसम्म कांग्रेसका बुद्धिजीवीहरू, कांग्रेसका युवाहरू, कांग्रेसका शुभेच्छुकहरू, कांग्रेसका पाकाहरूले छलफल गर्ने कुरालाई अन्यथा लिन मिल्दैन । यस्ता छलफलले केन्द्रीय समितिमा हुने छलफललाई बल पु¥याउँछ । यिनै छलफलबाट प्राप्त गरेको ऊर्जालाई ग्रहण गरेर पार्टीको केन्द्रीय समितिले धारणा बनाउने हो । केन्द्रीय समितिले यस्तै छलफलहरूबाट ऊर्जा प्राप्त गरेर एउटा धारणा बनाएपछि पार्टी अगाडि जाने हो । म आफैंसमेत सामेल रहेर पछिल्लो पुस्ताका नेपाल विद्यार्थी संघका अध्यक्ष, महामन्त्री भइसकेका साथीहरू बसेर पार्टीलाई सुव्यवस्थित ढंगले अगाडि लैजानका लागि केन्द्रीय समितिको बैठक अनि महासमितिको बैठकमा छलफल गरेर अगाडि जानुपर्छ भनेका थियौं । यस्ता सबै खाले छलफल र बहसबाट प्राप्त हुने ऊर्जालाई ग्रहण गर्दै नेपाली कांग्रेस अगाडि जाने हो ।
कांग्रेस पछिल्लो समयमा भुत्ते बन्दै गएकोले युवाहरूले अभियान थाले कांग्रेस बन्छ भन्ने धेरैले आशा गरेका थिए । तर तपाईं प्रवक्ता नियुक्त हुनुभयो । अब पनि त्यही आशा गर्न सकिएला ?
पहिलो कुरा, नेपाली कांग्रेस भुत्ते होइन धारिलो नै छ । म २००७, २०४६ सालको कुरा गर्न चाहन्न । तर, पछिल्लो समयमा मुलुकमा चलेको हिंसालाई अन्त्य गर्दै शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले नै सक्यो । संविधान विहीनताको अवस्थाबाट मुलुकलाई संविधान दिलाउने काममा कांग्रेसले संयोजन गर्न सक्यो । म कांग्रेस एक्लैले संविधान ल्याउन सक्यो भनेर त भन्दिनँ । एकातिर एमाले, अर्कोतर्फ माओवादी भएको अवस्थामा संविधान जारी ग¥यो । संविधान जारी गर्ने मात्र होइन, संविधान संशोधनको पहल गर्दै कांग्रेसले चुनावमा सहभागी हुनका लागि मधेसी दलहरूलाई राजी गरायो । संक्रमणकालको अन्त्य गर्दै शान्तिपूर्ण तवरबाट चुनाव सम्पन्न गराएर मुलुकलाई नेतृत्व दियो । कांग्रेस यसकारण भुत्ते भएको छैन । अब कांग्रेसलाई परिमार्जन गरेर अगाडि लैजाने विषयमा भइरहेका बहस तथा छलफललाई एकीकृत गरेर नै अगाडि बढ्नु पर्छ ।
तपाईंसहित सात युवा नेताले निर्वाचन पराजयको समीक्षा गर्न केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने माग गर्नुभएको थियो । अब तपाईं प्रवक्ता भएपछि पनि त्यो मागमा अडिग नै हुनुहुन्छ त ?
७० कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केही साथीहरूलाई लाग्यो । मैले त्यसैबेला राजनीतिलाई एज (उमेर) ले होइन एजेन्डाले ड्राइभ गर्छ भनेको थिएँ । त्यसैले सत्तरी कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एउटा सिस्टम बसाउँ न । प्रचण्डभन्दा वृद्ध गिरिजाबाबुले प्रचण्डलाई डोहो¥याएको होइन ? अनि ५५ वर्षको उमेरमा बाराक ओबामा घर फर्किए त, त्यो कुनै उमेरको कारण होइन त्यहाँको सिस्टमका कारण हो नि । हामी त्यस्तो पद्धतिको खोजी गर्नेभन्दा आवेगमा ७० कटेकालाई निकाल्दिउँ भन्नेतिर गयौं । कसैको कपाल फुलेको छ ऊ अयोग्य, कसैको कपाल कालो छ ऊ योग्य भन्ने हुँदैन भनेर मैले त्यसैबेला पनि भनेको थिएँ । सत्तरी काटेकालाई हटाउँ भन्ने विषय हामी सात जनाको विज्ञप्तिमा छैन । हामीमध्ये कतिपय साथीहरूले विशेष महाधिवेशनबाट समाधानमा पुगौं भन्नुभयो, सात जनाको विज्ञप्तिमा त्यो पनि छैन । सात जनाको विज्ञप्तिमा जे छ, त्यसको स्पिरिटप्रति म अहिले पनि प्रतिबद्ध छु । त्यो भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ, गम्भीर आत्मसमीक्षा गर्नुपर्छ, महासमितिको बैठकमार्फत त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा जानुपर्छ ।
अब सबै युवाहरूलाई साथ लिएर जाने अवस्था छ कि छैन । अनि अब ती युवाहरू सबै सँगै हुन सक्ने अवस्था छ कि छैन ?
कांग्रेस पार्टी वा अन्य कुनै पार्टीभित्र कुनै फरक घटनालाई लिएर आएका विचारका कारण सँगै जान सकिँदैन भन्ने होइन । लोकतन्त्रको सामान्य विद्यार्थीले पनि एउटा निर्वाचनको परिणामबाट पराजित भएको पार्टीमा फरक–फरक विचार आउनु अस्वाभाविक होइन । तर यी फरक–फरक विचारलाई पार्टीको वैधानिक निकायमा छलफल गरेर एउटै विचार बनाएर जाने हो । हिजो हामीले केन्द्रीय कार्यसमितिको बैठक बोलाइनुपर्छ, महासमितिको बोलाउनुपर्छ भनेका हौं । अहिले प्रवक्ता भएपछि पार्टीको बैठक छिट्टै बोलाउनुपर्छ भन्ने मान्यताबाटै निर्देशित भएर त्यसतर्फ अग्रसर भएको छु । पार्टीलाई परिमार्जन गर्ने विषयमा आज पनि हिजोभन्दा फरक ठाउँमा म छैन ।
नेतृत्व परिवर्तनको विषयमा प्रवक्ता हुनुअघि जुन ठाउँमा हुनुहुन्थ्यो, अहिले पनि तपाईंंको धारणा त्यही हो त ?
प्रवक्ता हुनु अगाडि म जुन ठाउँमा उभिएको थिएँ, प्रवक्ता भइसकेपछि पनि म त्यहीँ छु । पहिला केन्द्रीय कार्यसमितिको बैठक बोलाइयोस् भन्ने ठाउँमा थिएँ अहिले केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्छ भन्ने ठाउँमा आइपुगेँ । केन्द्रीय कार्यसमितिको बैठक हुने कि नहुने भन्ने ठाउँमा गएको छैन । त्यसबेला विशेष महाधिवेशन हुनुहुन्न भनेँ अहिले मैले त्यसो भन्दिनँ । प्रवक्ताका रूपमा मैले पार्टीको विधानलाई पनि हेर्नुपर्छ र पार्टीको विधानले केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन सक्छ भन्छ । निश्चित महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा तीन महिनाभित्रमा विशेष महाधिवेशन केन्द्रले बोलाउनुपर्छ । प्रवक्ता भइसकेपछि त्यो प्रक्रियामा गएको छैन भने मैले हुँदैन भनेर बोल्न मिल्दैन । पार्टीको विधानमा व्यवस्था भएको चीज प्रवक्ताले हुँदैन भन्न पाइँदैन । मुद्दागत हिसाबले म धेरै फरक ठाउँमा छैन ।
प्रवक्ता भएपछि पार्टी सभापतिसँग छलफल भयो होला, त्यसो भए अब पार्टीको केन्द्रीय समितिको बैठक कहिल्य बस्छ त ?
केन्द्रीय कार्यसमितिको बैठक कांग्रेसले गर्नुपर्ने केही राष्ट्रिय जिम्मेवारी छन् । हाम्रो पार्टी सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ । राष्ट्रियसभाको निर्वाचन गराउने, प्रदेशको अस्थायी कार्यस्थल तोक्ने, प्रदेश प्रमुख नियुक्त गर्ने अनि सरकार हस्तान्तरण गर्ने यी अहिलेका राष्ट्रिय कार्यभार हुन् । नयाँ सरकार गठनको दिशामा मुलुक गएपछि, नयाँ जनादेशपछि सत्ता जिम्मा लगाउनेतर्फ मुलुक उन्मुख भएसँगै हामी निर्वाचनको समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने हो ।
भनेपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्नका लागि अझै डेढ महिना जति लाग्छ होइन ?
त्यसो पनि नहोला । यति लामो समय लाग्दैन । चाँडै यो विषय टुंगो लाग्छ ।
प्रवक्ता बनेसँगै पार्टी अब एजले होइन एजेन्डाले चल्नुपर्छ भन्नुभयो । यसको मतलव अब कांग्रेसको नेतृत्वमा रहनुभएको पहिलो पुस्ताका नेताहरू रिटायर्ड हुनुहुँदैन भन्ने हो ?
अब नेपाली कांग्रेस एजेन्डाले चल्नुपर्छ भन्नुको अर्थ चाहिँ को कुन पुस्ताको हुनुहुन्छ, को कुन उमेरको हुनुहुन्छ भन्ने होइन । कस्को कति कपाल फुलेको छ, कस्ले कपालमा कालो लगाएको छ भन्ने होइन । कतिपयलाई लाग्न सक्ला, अहिले कांग्रेस पछि पर्नुमा केन्द्र, गाउँमा ठाउँमा पाकाहरूले नेतृत्व गरेर हो । तर कतिपय जिल्लामा पार्टी सभापति युवा हुनुहुन्थ्यो । उहाँको प्रतिस्पर्धी पनि युवा हुनुहुन्थ्यो । प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार युवा हुनुहुन्थ्यो । तर पनि परिणाम आएन । त्यसैले मैले भनेको के हो भने, पार्टी एजले चल्दैन एजेन्डाले चल्छ । कुनै अमुक युवालाई दिँदा भइहाल्छ भन्ने हो भने एजेन्डा के हो त ? पार्टीमा यो पाको भयो अब बिदा लिनुपर्छ भन्ने हो भने उसको लगानी अनि उसको ऊर्जालाई कसरी लैजाने त ? एउटा उमेरले युवा छ तर एजेन्डा छैनन् भने मुलुक पनि चल्दैन, कांग्रेस पनि चल्दैन । दक्षिण अफ्रिकामा एक जना पाको व्यक्ति नेल्सन मण्डेलाले स्वतन्त्र भइसकेपछि नेतृत्व लिनुभयो । उहाँसँग मुलुक अगाडि बढाउने एजेन्डा थिए । दुई पटक राष्ट्रपति बन्नुभयो । नेपालमा २०४६ सालमा ७६ वर्षको गणेशमान सिंहले नेतृत्व दिनुभयो । राजनीतिमा कुनै बेला ५६ वर्षको प्रचण्डलाई ८६ वर्षको गिरिजाप्रसादले पछि लगाउनुभयो । ४७ वर्षको बराक ओबामाले ६५ वर्षको जोन मक्केनलाई चुनाव हराउन सक्छ । अब विषय भनेको के हो भने, अहिले पाका र युवाहरूको समायोजन गरेर कांग्रेसलाई साँच्चै तन्नेरी बनाउने हो । पाका युवा भन्ने भन्दा पनि अब नेपाली कांग्रेसलाई नै युवा बनाउने हो, कांग्रेसलाई नै तन्नेरी बनाउने हो, एजेन्डाका हिसाबले ।
पार्टीको प्रवक्तामा मनोनीत भइसकेपछि पार्टीलाई लिएर तपाईंंका योजनाहरू के के छन् ?
यत्रो लामो संक्रमणकाल अन्त्य गर्न नेतृत्व गरेको कांग्रेसले निर्वाचनमा जुन ढंगको पराजय बेहोरेको छ, त्यसका आन्तरिक र बाह्य दुईवटै कारण छन् । कांग्रेसका घरेलु कारण पनि छन् । एमाले र माओवादी केन्द्र एकताबद्ध भएका कारण पनि छन् । यो वा त्यो जेसुकै कारण होस्, आगामी दिनमा कांग्रेस सुदृढ बन्ने दिशामा जाने विषय व्यक्तिगतभन्दा पनि समूहगत कुरा हो । यो सिंगो कांग्रेसको कुरा हो । युवाको वा पाकाको भन्ने होइन । नेपाली कांग्रेसलाई आज ठूलो क्षति भएको छ भन्नेमा सबै सहमत छन् । पार्टीमा रूपान्तरण जरुरी छ भन्नेमा सबै सहमत छन् । रूपान्तरण कसरी गर्ने भन्नेमा फरक धारणाहरू हुन सक्छन् । ती धारणाहरूलाई एकताबद्ध बनाएर कांग्रेसलाई आधुनिक राजनीतिक दलका रूपमा रूपान्तरण गर्ने कुरामा केन्द्रीय सदस्यका रूपमा पनि म प्रतिबद्ध थिएँ । प्रवक्ताका रूपमा पार्टीका नीति, कार्यक्रम र सन्देशलाई सम्प्रेषण गर्ने कुरामा पनि म अझ गम्भीर भएर लाग्छु ।
धेरैले भन्ने गरेका छन्, कांग्रेससँग उसको विगत छ तर वर्तमान र भविष्यका लागि कुनै सपना छैन, त्यस्तै हो ?
कांग्रेसलाई सपनाविहीन पार्टी भनेर कसैले भन्छ भने त्यो बिल्कुलै गलत कुरा हो । लोकतान्त्रिक प्रक्रियामा नेपाली समाजको सबै शक्तिलाई गाँस्नेभन्दा ठूलो सपना एउटा देशको समृद्धिका लागि अर्को के हुन सक्छ ? बाटो बनाउने, बिजुली निकाल्ने, उद्योग स्थापना गर्ने भन्ने सपनाहरू निश्चय नै जरुरी छन् । तर त्यो गर्नका लागि देशलाई चाहिने कुरा के त ? त्यसका लागि पहिलो कुरा स्वाधीनता चाहियो, स्वाधीनताको सपना कांग्रेसले प्रस्तुत गरेको थियो । सबैलाई सँगै लिएर जाने समावेशिता चाहियो, त्यो सपना २०१५ सालबाट कांग्रेसले सुरु गरेको थियो । हिंसाबाट मुक्ति दिलाउन कम्युनिस्ट आन्दोलनको जडसूत्रीय चिन्तनलाई रूपान्तरण गर्न र उनीहरूको पनि लोकतान्त्रीकरण गर्ने सपना कांग्रेसकै सपना थियो । आजको दिनसम्म आइपुग्दा आफ्नामात्र होइन अरूका पनि सपनालाई व्यावहारिक मार्गमा रूपान्तरण गर्ने कर्ममा कांग्रेसले साथ दिँदै आएको छ । त्यसैले सपना नभएको पार्टी भनेर कांग्रेसलाई विश्लेषण गरियो भने मेरो बुझाइमा त्यो वस्तुगत हुँदैन ।
तपाईंहरूले न कांग्रेसको इतिहास बेच्न सक्नुभयो, न त वर्तमान र भविष्य नै देखाउन सक्नुभयो त्यसैले कांग्रेस अल्मलमा प¥यो भन्नेहरू पनि त छन् नि ?
एउटा राम्रो सामान उत्पादन गर्नु र त्यो सामानलाई बजारमा ब्रान्डिङ गर्नुका बीचमा फरक हुन्छ । बजारमा चलेका यस्ता धेरै सामान छन् जसले विज्ञापन गर्न बन्द गरेका छैनन् । नेपाली कांग्रेसले आफ्ना डिपार्टमेन्टल स्टोरमा धेरै राम्रा सामानहरू उत्पादन ग¥यो तर त्यसलाई ब्रान्डिङ गरेर बजारमा बेच्ने सन्दर्भमा निश्चय नै कमजोरी भएको छ । यो देशको गाउँमा रहेकी एउटी आमालाई दसैंको बेला छोरो सिपाहीबाट फर्केर टीका लगाउन सही सलामत आइपुग्छ, छोरो मारिएर बोरामा भरिएर आइपुग्दैन भन्ने कुराको नायकत्व कांग्रेसले गरेको थियो भनेर बुझाउन सकिएन । नेपालको शान्ति प्रक्रियाको नेतृत्व कांग्रेसले गरेको भन्ने हामीले बुझाउन सकेनौं । दैलेखका डेकेन्द्र थापाजस्तो पत्रकारिता गर्न गएको कुनै युवाले खाल्डोमुनि कहँी गाडिनुपर्ने दिन थिए, त्यो दिनको अन्त्य भयो भनेर बुझाउने सन्दर्भमा कमजोरी भयो । अथवा, किराना पसलेलाई तपाईंं चन्दा आतंकबाट मुक्त हुनुभयो भनेर बुझाउने कुरामा खोइ हामी सफल भयौं ? शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाले गरेको नायकत्व हामीले बेच्न सकेनौं । चारचार जना प्रधानमन्त्री हुँदा निर्माण हुन नसकेको संविधान कांग्रेसको पालामा निर्माण भयो, हामीले नेतृत्व गरेका हौं भनेर आत्मविश्वासका साथ जनतालाई भन्न सकेनौं । कांग्रेस एक्लैले लेखेन, अरूले पनि मसी हाल्नुभयो तर कलम त सुशील कोइरालाले समात्नुभयो होला नि । संविधान निर्माण भइसकेपछि कसैले मैनबत्ती बालेर स्वागत गरे, कसैले टायर बालेर जलाए, सिंगो मधेसमा दर्जनौं मान्छे मरे । केपी ओलीले सभामा गएर बोल्ने अवस्था थिएन । तर त्यही मधेसमा कसले ग¥यो जादु ? कांग्रेसले नै हो नि मधेस केन्द्रित दललाई निर्वाचन सारेर, फकाएर, संशोधन प्रस्ताव पास भए पनि चुनावमा जाने फेल भए पनि जाने भनेर सहमत गराएको । त्यत्रो मान्छे मरेको मधेसमा कांग्रेसले एउटा पनि गोली खर्च नगरी स्थानीय निर्वाचन गरायो । त्यसलाई हामीले सेल गर्न सकेनौं । प्रतिनिधिसभा निर्वाचनमा हामीले मधेसमै भोट कम पायौ ं। नेपाली कांग्रेसले कर्म नगरेका कारण हारेको होइन, नीति गलत भएका कारण हारेको होइन । गरेका कामलाई सम्प्रेषण गर्न नसकेका कारण हामी हारेका हौं ।
आफ्ना कुरा स्पष्ट ढंगले राख्ने, लागेको कुरा बोल्ने तपाईंको स्वभाव देखिन्छ । पार्टीको प्रवक्ता भएपछि बन्धनमा परेजस्तो लागेको छैन ?
झापाको धुलाबारीमा १० कक्षामा पढ्दै गर्दा, नेपाल विद्यार्थी संघको सभापति हुँदै गर्दा मैले सोचेको सपना कुनै दिन पार्टी नेतृत्व गर्ने भन्ने हो । त्यस्तो आंकाक्षा पाल्ने, कुनै दिन मुलुकको नेतृत्व लिने इच्छा देखाउने तर जिम्मेवारी पाउँदा बन्धनमा परे भन्ने हुँदैन । जीवन कसरी बाँच्ने भन्ने सन्दर्भमा मसँग जीवन दर्शनको आफ्नै डायरी छ । जसमा मैले के लेखेर राखेको छु भने, जबसम्म विश्वप्रकाश शर्मा युवा उमेर बाँच्नेछ तबसम्म पाकोले जस्तो सोच्ने प्रयत्न गर्छ । पाका उमेरकै मान्छेले जस्तो बोल्ने प्रयत्न गर्छ । जब विश्वप्रकाश शर्मा पाको उमेरमा पुग्नेछ तब युवा जोशका साथ बाँच्न प्रयत्न गर्नेछ । जीवन दर्शन नै मैले त्यस्तो लेखेर राखेको छु भने मैले आवेगका साथ, युवा उमेरजन्य उत्तेजनाका साथ विगतमा पनि बोल्दिनथेँ, अहिले पनि बोल्दिनँ । त्यसैले जीवन बाँच्ने सन्दर्भमा आफ्नै दर्शनअनुसार म अगाडि बढ्नेछु ।
तपाईंको विचारमा कांग्रेसको सुधार कहाँबाट हुनुपर्छ ?
हामीले केही गर्नैपर्ने काम पनि गर्न सकेनौं । अब हामीले पार्टीको विधानमा केही परिमार्जन गर्न जरुरी छ । संगठनमा केही परिमार्जन गर्न जरुरी छ । मुलुक संघीय ढाँचामा गयो । हाम्रो विधान त्योअनुसार भएन । निर्वाचन क्षेत्र २४० बाट १६५ भए, हामीले संगठनको ढाँचा त्यस अनुरूप बनाउन सकेनौं । अब सबैभन्दा पहिला हामीले यी काम गर्दैछांै । पार्टीको संगठनलाई पूर्णता दिन लाग्नेछौं । प्रचारको संयन्त्रलाई बलियो बनाउने छौं । भ्रातृ संगठनलाई जीवन्त बनाउनुपर्छ । संसद्मा विपक्षी दलका हैसियतमा कसरी प्रस्तुत हुने भन्ने मुद्दालाई जीवन्त बनाउनेछौं । प्रदेशको संसद्मा लोकतन्त्र र प्रदेशलाई समृद्ध बनाउनेमा जानेछौं । कांग्रेसले इतिहासमा आरोहअवरोह बेहोरेको छ । कहिले सत्ता पाएको छ, कहिले शहादत पाएको छ । यो एउटा हारले विचलित हुने होइन यसलाई समीक्षा गरेर अगाडि जान्छ ।
फेरि सभापति शक्तिशाली बन्नुपर्छ भन्नेमा बहस छ, यसको पनि तयारी हो ?
पार्टीलाई सृढृढ तथा जीवन्त बनाउनका लागि सबै विषयमा छलफल हुन्छ । जे आवश्यक ठान्छ त्यही निर्णय गरेर अगाडि जान्छ ।
प्रतिक्रिया