देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

देशान्तर

पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ ।

सो फाउन्डेशनद्वारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताउनुभयो ।

तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो ।

यस्तै शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

सप्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म आठ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।