काठमाडौं महानगरपालिकाले असन क्षेत्रमा पनि चार पांग्रे सवारी प्रवेशमा रोक लगाएको छ । महानगरपालिकाले यस विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिरहेको छ ।
महानगरपालिकाका मेयर तथा उपमेयर सहित सम्बन्धित वडाका वडाध्यक्षको उपस्थितीमा आजदेखि असन र त्यस आसपासका क्षेत्रमा चार पांग्रे सवारी प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिकाले सांस्कृतिक, ऐतिहासिक, पुरातात्वीक एवम् सामाजिक जीवनसंग जीवन्त सम्बन्ध राख्ने काठमाडौ महानगरका भित्री सहरी सडकमा सवारी नियमनकालागि सरोकारवाला वडाहरुले यस्तो कदम चालिएको जनाएको छ ।
महानगरपालिकाले दिएको जानकारी अनुसार भोटाहिटीबाट असन चोकसम्म चार पांंग्रे सवारीलाई दुबै तर्फ आवत जावतको लागि रोक लगाईएको छ । त्यस्तै, नरदेवीबाट भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्रै पाउने तर सोही बाटो फर्किन नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, टेंबहालबाट बांगेमुढा हुँदै भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघः ल र बांगेमुढा भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, ईन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेँडासिंह, ज्याठाबाट त्यौडा, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन र ईन्द्रचोकबाट बटुसम्मको बाटोमा चारपांग्रे सवारी प्रवेशलाई रोक लगाउने तयारी गरिएको छ ।
प्रतिक्रिया