नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज ३ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो ।
बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्नेछ । संयोजन समिति बैठक अघि एमालेको हिजो स्थायी समिति बैठक बसेको थियो ।
बैठकले पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाले पनि पार्टीका नेताहरुसँग हिजो छलफल गर्नुभएको थियो ।
दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ पार्टी एकता संयोजन समिति बैठक बस्ने विषयमा छलफल भएको थियो । संयोजन समितिमा एमालेका ४ जना र माओवादीका ३ जना नेता रहेका छन् ।
एमाले सचिव प्रदिप ज्ञवालीले पार्टी एकताको विषयमा बैठकमा छलफल हुने बताउनुभयो । एमाले अध्यक्ष ओली भोली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदै हुनुहुन्छ ।
प्रतिक्रिया