काठमाडौं । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया विरुद्धमा व्यावसायी अजयराज सुमार्गीले गालि बेइज्जतीको मुद्दा दायर गरेका छन् । सुमार्गीले सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइपाउनुपर्ने माग दावीसहित काठमाडौं जिल्ला अदालतमा आइतवार मुद्दा दायर गरेका हुन् ।
मुद्दा वारेसनामा मार्फत दर्ता गरिएको सुमार्गीका कानुनी सल्लाहकार मोहन पोखरेलले जनाएका छन् । यसअघि कैलाशले सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैँया नेपाल ल्याएको समाचार आफ्ना संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गराएका थिए ।
यससंगै सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए ।
आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेपछि यो मुद्धा बहशमा आएको छ ।
सुमार्गीले दिएको निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुरमा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको दाबी गरेका थिए ।
२०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले दाबी गरेका छन् ।
प्रतिक्रिया